मेरो तलब गरिब, वृद्ध र अशक्तको लागि खर्च गर्छु
११ जेष्ठ २०७४
एमालेले आफ्नो गढ दाबी गरेको र करिब ३ हजारदेखि ३५ सय मत अन्तरले विजयी हुने अपेक्षा गरेको पाँचखालमा नेपाली कांग्रेसका युवा उमेदवार महेश खरेल विजयी भए ।
काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये ४ नगरपालिका छन् । ५ नगरपालिका मध्ये ४ मा एमाले विजयी भए पनि पाँचखालमा खरेल विजयी भए । २३ हजार १७८ मतदाता भएको पाँचखालमा १९ हजार मत खसेको थियो । त्यसमध्ये ७ हजार ३०० मत प्राप्त गर्दै उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र बानियाँलाई ५५६ मतले पराजित गरे ।
एमालेका विदुर सापकोटा निर्वाचित भएको काभ्रेको क्षेत्र नं ४ को खरेल कांग्रेसका क्षेत्रीय सभापति समेत हुन् । उनी क्षेत्रिय सभापतिको हैसियतले पनि एमालेले आफ्नो पकेट एरिया मानेको ठाउँमा विजयी हुन चाहन्थे र बने पनि ।
उक्त नगरपालिका रहेको संसदीय क्षेत्रमा २०५६ सालमा महेशका बुबा राजेन्द्र खरेल पनि जित हासिल गरेका थिए । २०५४ को स्थानीय चुनावमा त अहिले पाँचखाल नगरपालिका अन्तर्गत रहेका सबै ७ वटै गाविसमा एमालेले विजयी भएको थियो ।
२०४७ सालमा खरेल १० वर्षको उमेरमै बाल कांग्रेसमा लागेका थिए । त्यसैगरी २०५३ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) मा काठमाडौं क्षेत्र नं १ को उनी सभापति भए ।
त्यसपछि अध्यययनको शिलसिलामा अमेरिका पुगेका खरेल २०६७ नेपाल फर्केका हुन् । अमेरिकामा छँदा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको सदस्यसचिव थिए खरेल ।
नेपाल फर्केपछि फेरि कांग्रेसको राजनीतिमा सक्रिय उनी २०६९मा तरुण दलको केन्द्रीय सदस्य भए । त्यसपछि २०७२ सालदेखि नेपाली कांग्रेस काभ्रे क्षेत्र नं ४ का उनी क्षेत्रिय सभापति छन् ।
पाँचखालबाट हालै मेयरमा निर्वाचित भएका खरेलसँग बाह्रखरीका लागि उनको जितको कारण, भावी योजनाबारे गरिएको संक्षिप्त कुराकानीः
एमालेले आफ्नो गढ मानेको पाँचखालमा कसरी चुनाव जित्न सफल हुनुभयो ?
पाँचखाल २०५४ सालको चुनावमा एमालेले जितेका सात गाविस मिलेर बनेको नगरपालिका हो । त्यो भन्दा अघिको चुनाव पनि एमालेले जितेको हो । मैले उमेदवारी दिइरहँदा एमालेले ३ हजारदेखि ३५ सयले चुनाव जित्ने आकलन गरेको थियो ।
तर, उमेदवारी दिएपछि म हरेक मतदाताको घर घरमा गएँ । मतदाताले एउटा युवा र राजनीतिक इतिहास बोकेको तथा स्वच्छ छबी भएको परिवारबाट आएको उमेदवार भन्दै मलाई विश्वास गर्नुभयो । त्यसैगरी भूकम्पको समयमा जनतालाई मैले गरेको सहयोगलाई उहाँहरुले सम्झनुभयो । साथै चुनावी अभियानको समयमा हाम्रो क्षेत्रमा करिब १५ सय युवा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुले पनि मेरो जित सुनिश्चित गरेको हो । साथै, अन्य पार्टीमा आस्था राख्ने मतदाताले पनि मेरो सम्भावना र योजनालाई मन पराउँदै मतदान गर्नुभयो । विकास निमार्णको काममा पनि मेरो पहलमा काम भएको थियो । त्यसले पनि मलाई जितका लागि सहज भयो ।
कांग्रेसभित्रै पनि उमेदवार बन्ने आकांक्षी धेरै थिए होला । कसरी तपाईंँ उमेदवार बन्नुभयो । पार्टी कार्यकर्ताबाट कत्तिको सहयोग भयो ?
कांग्रेस पार्टी सबैभन्दा धेरै नेता भएको पार्टी हो । पाँचखालमा पनि उमेदवार बन्न आकांक्षा राख्ने धेरै नै साथीहरु हुनुहुन्थ्यो । तर, अन्तिममा मेरो नाम सर्वसम्मत सिफारिस भयो । पार्टी पंक्तिको पूर्ण सहयोगमा नै चुनाव जितेको हुँ ।
चुनावको बेला तपाईँले गर्नुभएका प्रतिवद्धता कसरी पूरा गर्नुहुन्छ ?
मैले चुनवाको दैरानमा म तलब खानका लागि होइन सेवाका लागि आएको हो भनेको भनेको थिएँ । मेरो तलब असहाय, अशक्त, वृद्धवृद्धाको सेवामा र गरिब बालबालिकाको शिक्षामा खर्च गर्छु भनेको थिएँ ।
त्यो पुरा गर्छु । मैले पाउने तलब म एक रुपैयाँ पनि लिने छैन । सपथ ग्रहणपछि पनि मैले त्यो प्रतिवद्धता पूरा गर्छु भनेको छु । म पाँच वर्षकै तलब गरिबको रेखा मुनी रहेका, अशक्त र असहायका लागि खर्च गर्नेछु ।
त्यसबाहेक राजधानी काठमाडौंदेखि एकदम नजिक र सम्भावना नै सम्भावना भएको ठाउँमा विकास समृद्धिका लागि लाग्नेछु । पाँचखाललाई एउटा औद्योगिक नगरिका रुपमा देश विदेशको लगानी भित्र्याउन मेरो पहल हुनेछ । मैले पाँच वर्षभित्र ३ हजारका लागि रोजगारी सृजना गर्नेछु ।
पाँचखालमा २ ओटा रिङ रोडको विकास गर्न लाग्नेछु । त्यहाँ सडक छेउमा पूर्वाधारको विकास गरी बस्ती बसाल्ने र बाँकी उर्बर भूमिलाई आधुनिक खेती गर्न प्रोत्साहित गर्नेछौ । हामीले पाँच वर्षभित्र क्षेत्रीय स्तरको रंगशाला, राष्ट्रिय स्तरको अस्पताल, एउटा कृषि क्याम्पस र बसपार्क बनाउनेछौं ।
पाँचखालमा पनि अव्यवस्थित बजारिकरण हुँदा उर्बर भूमि मासिने समस्या छ । त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले मानिसहरु सबै आवश्यक सुविधा भएको ठाउँमा बस्न चाहन्छ । अनकन्टार ठाउँमा त कोही बस्दैन । त्यसैले खेतीयोग्य जमिनमा घर बनाउन नपाउने सबैसँग छलफल गरेर नियम बनाउने सोच छ ।
सबैलाई यसरी नै बस्ती बस्दै जाने हो भने २० वर्षमा सबै उर्बर जमिन मासिँदै जान्छ भनेर बुझाउँछु । हामीले वर्तमानमा काम गरेर आगामी पुस्ताको लागि पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले योजनाअनुसार काम गर्ने मेरो सोच छ ।
तपाईँ कांग्रेसको तर्फबाट उमेदवार बन्नुभयो र जित्नुभयो । अब कांग्रेसका कार्यकर्ताका लागि मात्रै काम गर्नुहुन्छ कि अरुले पनि तपाईँबाट केही अपेक्षा गर्न सक्छन् ?
मैले विजयी हुने वित्तिकै मैले सबैलाई भनेको छु कि एमाले तथा माओवादी वा अन्य मतदातालाई गाली गर्ने भनेको महेशलाई गाली गर्नु हो । हामीमा विपक्षीलाई गाली गर्ने, आन्दोलन ढुंगा मुँढा गरियो भने नेता बनिन्छ भन्ने भ्रम छ । त्यसलाई चिर्न जरुरी छ । म अब कांग्रेसको कार्यकर्ता नभई पाँचखालको मेयरको रुपमा खुला हृदयले सबै जनतको हितमा काम गर्नेछु ।
तपाईँ जिल्ला र केन्द्रिय तहमा कसरी समन्वय गर्दै पाँचखाललाई चिनाउनुहुन्छ ?
पाँचखालको हितको लागि जिल्ला र केन्द्रसँग जस्तोसुकै छलफल र योजनाका लागि पनि लाग्नेछौं ।
नवनिर्वाचित जनप्रतिनिधिले कसरी काम गर्नुपर्छ भन्ने यहाँको सुझाव छ ?
पाँचखालमा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइनेछ, म चाहन्छु देशभर नै यो हुनुपर्छ । कुनै किसिमको आर्थिक चलखेल हुन हामीले दिँदैनौं । अहिले जनताबाट निर्वाचित साथीहरुलाई म कुनै पनि प्रलोभनमा नपरी नगर तथा गाउँको हितमा काम गनुपर्छ । हामीले अर्को पुस्तालाई कस्तो बनाउने भन्नेमा हामी गम्भीर हुनुपर्छ र सबै मिलेर नेपाल आमाको सेवा गरौं भन्न चाहन्छु ।
साभार – बाह्रखरी
No comments:
Post a Comment