दोलखा, २७ वैशाख । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेताहरूसहितको टोलीले दोलखामा एमाले उम्मेदवारका छोराको हत्या गरेका छन् ।
मंगलबार राति ९ बजे गौरीशंकर गाउँपालिका वडा नं. २ जुगुमा निलकण्ठेश्वर माविको प्रांगणमा गोरेबहादुर तामाङका छोरा कुलबहादुर तामाङको हत्या भएको पत्रकार गणेश बस्नेतले जानकारी दिए । तामाङ वडा नं. दुईमा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार हुन् ।
माओवादी नेतृ देवी खड्का, नेता विशाल खड्काको नेतृत्वमा रहेको टोलीले कुलबहादुर तामाङको हत्या गरेको प्रत्यक्षदर्शी पत्रकार बस्नेतले बताए ।
एमालेका सांसद पार्वत गुरुङका अनुसार माओवादी नेतृ देवी खड्काले १७ राउण्ड गोली चलाएर एमाले कार्यकर्ता बसेको सेल्टरमा आक्रमण गरेकी थिइन ।
एमालेका सांसद गुरुङले भने, ‘चुनावी प्रचार–प्रचार सकाएर आराम गरिरहेका हाम्रा कार्यकर्ता बसेको सेल्टरमा चारैतिरबाट घेरा हालेर माओवादीले आक्रमण गरे, कुलबहादुर तामाङलाई घिसार्दै विद्यालयको आँगनमा लगेर कुटपिट गरे त्यसपछि स्कुल मुनी फालिदिए ।’
एमालेका सांसद गुरुङले घट्ना भएका विषयमा सशस्त्रद्वन्द्वको जस्तो जंगली व्यवहार देखाएर माओवादीले एमाले कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने कार्य जारी राखेको भन्दै आपत्ति जनाए । उनले दोषीलाई कारबाहीको माग गरेका छन् ।
घटनामा देवी खड्का र विशाल खड्काका साथै ढालबहादुर खड्का, बसन्त कार्की, विर्खबहादुर खड्का, दलबहादुर कार्की, बलराम खड्का, रोशन कार्की समेत प्रत्यक्ष संलग्न रहेको आरोप एमालेका सांसद गुरुङले लगाएका छन् । उनले आज प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको बताए ।
एमालेका सांसद गुरुङले घटनामा गम्भीर घाइते दिलबहादुर बुढाथोकीलाई थप उपचारका लागि काठमाडौं पठाएको बताए । घटना मंगलबार राति ९ बजे भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।
via > दैनिक नेपाल
No comments:
Post a Comment