चैत्र १८, २०७३- अमेरिकाको न्यु मेक्सिकोस्थित अल्बुकर्क विमानस्थलमा अवतरणको तयारी गरिरहेका बेला एक विमानका सहचालकको मृत्यु भएको छ । अमेरिकन एयरलाइन्सको बोइङ ७३७ विमान विमानस्थलबाट २
माइल टाढा आइपुगेपछि सहचालक विलियम माइक ग्रब्स ककपिटमै ढलेका थिए । उक्त विमान डलासबाट अल्बुकर्क जाँदै थियो । ग्रब्स ढलेलगत्तै चालकले विमानको आन्तरिक सञ्चार प्रणालीमार्फत मेडिकल इमर्जेन्सी घोषणा गरेका थिए । विमान सुरक्षित अवतरण हुनेबित्तिकै आपतकालीन उद्धारकर्मीहरू विमानभित्र छिरेर सहचालकलाई होसमा ल्याउने प्रयास ४० मिनेटसम्म गरेका थिए । तर उनी होसमा नआएपछि मृत घोषणा गरिएको थियो ।