काठमाडौं, माघ २ ।
चलचित्र ‘छक्का पन्जा’का निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारबाहीको माग गर्दै आइतबार विभिन्न कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको उनीहरूले आरोप लगाएका हुन् ।
प्रदर्शनमा नोवेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थी सहभागी थिए । उनीहरूले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदीले आत्महत्या गरेको दाबी गरेका छन् ।
चलचित्र ‘छक्का पन्जा’को पाइरेसीको आरोप लागेका सुवेदीले पुस २८ गते आत्महत्या गरेका थिए । उनैको स्मृतिमा विद्यार्थीले आइतबार ¥याली निकालेका हुन् ।
नोवेल विद्यार्थी परिषद्का अध्यक्ष प्रशान्तजंग कुँवरको नेतृत्वमा सिनामंगलबाट सुरु भएको ¥याली पुरानो बानेश्वर, नयाँ बानेश्वर र बिजुलीबजार हुँदै माइतीघर मण्डला पुगेर कोणसभामा परिणत भएको थियो ।
विद्यार्थीले कलाकार गिरीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र चलचित्र पाइरेसी भएको विषयमा छानबिन गर्नुपर्नेसहितको मागपत्र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुझाएका छन् ।
यसैबीच, नेपाल विद्यार्थी संघ, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती र नेविसंघ मध्यविन्दु बहुमुखी क्यामपस इकाइले समेत कलाकार गिरीलाई कारबाहीको माग गरेको छ । दुवै संगठनले कृष्ण सुवेदीको मृत्युका कारण कलाकार गिरी भएको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।