काठमाडौं, २८ पुस । प्रहरीले ६ लाख रुपैयाँको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिले करोडौंको लुटपाट गरेको तथ्य फेला परेको छ ।
भक्तपुरको कौशलटारमा रहेको एनआईसी एसिया बैंकबाट मन्दिरा अधिकारीले झिकेको ६ लाख रुपैयाँ लुटपाट गरी भागेको अभियोगमा पक्राउ परेका व्यक्तिले पटकपटक गरी करोडभन्दा माथि लुटपाट गरिसकेको प्रहरी अनुसन्धानले देखाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
अधिकारीले केही दिनअघि मात्रै बैंकबाट झिकेको रकम झोलामा राखेर स्कुटरमा जाँदै गर्दा मोटरसाइकलमा आएका दुईजनाले झोला लुटेका थिए । लुटपाटपछि उनीहरू फरार भएका थिए । त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको थियो ।
अनुसन्धानका क्रममा रामेछाप दोरम्बा घर भएका काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सागर भनिने टीकाबहादुर मगर पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनले १० पटक चोरी गरेको र त्यसबाट करिब १ करोड रुपैयाँ संकलन भइसकेको खुलेको छ । साथै, उनी ६ पटक प्रहरी हिरासतमै परेको र एकपटक २६ लाख रुपैयाँ धरौटीमा छुटेको पनि पाइएको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
मगरको बयानअनुसार उनले मन्दिराको मात्र होइन, ६ असोजमा काभ्रेको बनेपामा रहेको तरकारी बजारअगाडि कन्ट्री विकास बैंकमा पैसा जम्मा गर्न लाँदै गरेको ३७ लाख रुपैयाँ पनि त्यसरी नै लुटपाट गरेका थिए । यसैगरी, १४ असोजमा भक्तपुरको राधेराधे मन्दिरनजिकैबाट उनले मायादेवी उप्रेतीको ९३ हजार रुपैयाँ लुटेका थिए । यी सबै प्रकृतिको घटनालाई एक ठाउँमा राखेर महाशाखाले अनुसन्धान गर्दा मगर पक्राउ परेका थिए ।
‘एकै प्रकृतिका लुटपाटका घटना भएपछि खोजी गर्दै जाँदा फेला परेका मगरले पैसा भएको झोला मात्र नभएर मोटरसाइकल, मोटर र सुन पनि लुट्दै आएका रहेछन्,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनालले भने । एसएसपी खनालले भने, ‘हामीले एउटा लुटपाटको घटनालाई आधार बनाएर अनुसन्धान सुरु गरेका थियौं, उनी त शृंखलाबद्ध रूपमा लागेका व्यावसायिक लुटेरा रहेछन्, जेलबाट छुट्दै लुटपाट गर्दा रहेछन् ।’
महाशाखाका अनुसार उनले ५ मंसिरमा भक्तपुरको कटुन्जेमा रहेको इस्ट इन्टरनेसनल मनी ट्रान्सफरबाट सुस्मिता सुवेदीको ७३ हजार, १९ मंसिरमा पवित्रनगरबाट यमकला भण्डारीबाट सहकारीबाट निकालेको ३ लाख ६० हजार रुपैयाँ पनि लुटपाट गरेका थिए । मगरले गत १ जेठमा शिक्षण अस्पतालमा पार्किङ गरिराखेको बा७४प ३६३२ नम्बरको नीलो रङको मोटरसाइकल, पुरानो बानेश्वरबाट जीवन शर्माको बा६८प ९०१८ नम्बरको मोटरसाइकल, ओम अस्पताल चाबहिलबाट बा६७प ८४६८ नम्बरको मोटरसाइकल, भाटभटेनीबाट रामकाजी श्रेष्ठको मोटरसाइकल चोरी गरेका थिए ।
३२ जेठ २०७२ मा बौद्धको भाटभटेनीमा पार्क गरेर राखिएको विष्णुबहादुर गुरुङको बा६च ७६९८ नम्बरको रातो रङको बोलेरो गाडी पनि उनैले चोरी गरेका थिए । बोलेरो गाडी मकवानपुरको पदमपोखरीमा लुकाएर राखिएको अवस्थामा फेला परेको महाशाखाका डीएसपी रमेश थापाले जानकारी दिए ।‘चोरीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर उनले रकम र सुन चोरी गर्ने गरेका रहेछन्,’ डीएसपी थापाले भने, ‘जसले गर्दा फरकफरक मोटरसाइकल भएका कारण पनि फरकफरक मान्छे भन्ने भ्रम पारिएको थियो ।’
महाशाखाले गरेको अनुसन्धान विवरणअनुसार २१ माघ २०७१ मा कलंकीकी सरस्वती आचार्यले नयाँ बानेश्वरको ग्लोबल आईएमई बैंकबाट १८ लाख ८४ हजार रुपैयाँ झिकेर जान लाग्दा उनी झोला लुटेर फरार भएका थिए । त्यस्तै, उनले कपन तेन्जिङ चोकबाट प्रेरणा राईको १ लाख ५५ हजार, जोरपाटीमा सुमित्रा अधिकारीको ६९ हजार रुपैयाँ लुटपाट गरेका थिए । मगरले बाफलबाट सीता श्रेष्ठको दुई तोला सुनको सिक्री, बुद्धनगरमा उर्मिला कँडेलको तीन तोला सिक्री पनि लुटेको अनुसन्धानमा खुलेको डीएसपी थापाले जानकारी दिए । यसैगरी, मगर यसअघि पटकपटक जेल परेर छुटेको पनि खुलेको छ ।
उनी ६ वैशाख २०६४ मा डाँका मुद्दामा, ५ जेठ २०६५ मा चोरी मुद्दामा, २४ असार २०६८ मा मोटरसाइकल चोरीमा, ३ साउन २०६९ मा चोरी घटनामा र ७ असार २०७२ मा चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए । उनी पछिल्लोपटक २६ लाख रुपैयाँ धरौटी बुझाई जेलबाट छुटेको एसएसपी खनालले जानकारी दिए । ‘अहिले उनलाई जबर्जस्ती चोरी मुद्दामा कारबाही अघि बढाइएको छ,’ एसएसपी खनालले भने, ‘२६ लाख रुपैयाँसम्म धरौटी राख्न सक्ने भनेपछि लुटेको रकम करोडौं हुन सक्ने हाम्रो अनुमान छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले मगरलाई पक्राउ गरेपछि उनको कोठाबाट ३ लाख रुपैयाँ नगद, मन्दिरा अधिकारी नामको लाइसेन्स, लुटपाटमा प्रयोग गर्ने मोटरसाइकल, यमकला भण्डारीको नाममा रहेको बैंक चेक बुक र नागरिकता, चारवटा मोबाइल, लुटपाटमा प्रयोग गर्ने ज्याकेट र जुत्ताहरू बरामद गरेको छ । उनको पक्राउपछि प्रहरीले चोरीका ठूला घटना नहुने दाबी गरेको छ ।
दैनिक नेपाल