• Breaking News

    7.04.2016

    २१ नक्कली डाक्टर धरौटीमा रिहा, तीन अख्तियारमा, चार जेलमा

    काठमाडौं, २१ असार । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन् । तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन् ।

    मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। कुनै जिल्लामा प्रहरीको माग दाबी अनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा सामान्य मात्र धरौटी माग भएको छ ।

    कसलाई कति धरौटी ?

    काठमाडौंमा पक्राउ परेका चारजना नक्कली प्रमाणपत्र भएका चिकित्सक पनि सामान्य धरौटीमै छुटेका छन् । अरुण गुप्ता र गणेश साह एक–एक लाख तथा बुद्धि श्रेष्ठ र विनिता मण्डल ५०–५० हजार रुपैयाा धरौटीमा छुटेका छन् । उनीहरूमध्ये गुप्ताविरुद्ध ८१ लाखको बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो ।

    उनीविरुद्ध तीन बिरामीले उजुरी दिएका छन् । काठमाडौंमा पक्राउ परेकामध्ये थप दुईजनाविरुद्ध सोमबार मुद्दा दायर भएको छ। अन्य ६ जनाविरुद्ध मंगलबार सिआइबीले मुद्दा दायर गर्ने तयारी गरेको छ। पोखरामा पक्राउ परेका महेश्वर राय यादव र सुनसरीका मनीष अर्याल धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । यादवलाई सात लाख र अर्याललाई ३२ लाख २५ हजार धरौटी माग भएको थियो ।

    त्यस्तै, जिल्ला अदालत पर्साले वीरगन्जमा पक्राउ परेका आठजना चिकित्सकसँग धरौटी माग गरेको छ । जसमध्ये ६ जना धरौटी तिरेर छुटेका छन् भने दुईजना थुनामै छन् । वीरगन्जका पन्नालाल पटेल र मोहम्मद रुहुल्ला धरौटी बुझाउन नसक्दा थुनामै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी राजुबाबु श्रेष्ठले बताए । धरौटी तिर्न नसकेका पटेल र रुहुल्ला जेल जानुपर्ने भएपछि बिरामी भएको नाटक गरेर अस्पतालको आइसियूमा भर्ना भएका छन् ।

    क–कसलाई बुझाइयो अख्तियार ?

    पक्राउ परेकामध्ये तीन नक्कली डाक्टरलाई प्रहरीले अख्तियारमा बुझाएको छ। सुनील आचार्य, रजनी अग्रवाल र रामजी यादवलाई अख्तियारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए । आचार्य प्रसूति अस्पताल थापाथली,अग्रवाल बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र यादव जनकपुर अञ्चल अस्पतालमा काम गर्थे । नयाँ पत्रिका दैनिकमा खबर छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र