• Breaking News

    6.27.2016

    प्रधानमन्त्री ओलीले दिए महत्वपूर्ण निर्देशन, मंसिरमा निर्वाचन हुनेनै भयो !


    काठमाण्डु, १३ असार-सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्ने जानकारी गराएको छ ।
    संविधानमा रहेका बाध्यकारी प्रावधान अनुरुप आगामी डेढ वर्षभित्र स्थानीय, सङ्घरप्रदेश र संसद्का निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ ।प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्निप्रसाद खरेल तथा मुख्य सचिव डा सोमलाल सुवेदी सोमबार आयोगको कार्यालय कान्तिपथ जानुभई आयोगका गतिविधिबारेमा जानकारी लिने क्रममा सरकारका तर्फबाट आयोगलाई सो जानकारी गराएको हो ।
    सरकारले आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ तर, मिति घोषणा भएको छैन ।
    सरकारले निर्वाचन आयोगसहित राजनीतिक दलको आवश्यक परामर्शमा स्थानीय निकायको निर्वाचनको तिथिमिति छिट्टै घोषणा गर्ने तयारी गरिरहेकाले आयोगलाई पूर्व जानकारी गराएको हो ।
    निर्वाचनका लागि तयारी अवस्थामा रहनू : प्रम
    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने भएकाले निर्वाचनका लागि तयारी रहन आयोगलाई निर्देशन दिनुभएको कानुनमन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए ।

    आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओली निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।
    सरकारले निर्वाचनका लागि गर्नुपर्ने आवश्यक तयारी तीव्रताका साथ अगाडि बढाइरहेको जानकारी दिँदै कानुनमन्त्री खरेलले मङ्सिर महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
    प्रधानमन्त्री पद सम्हालेपछि प्रम ओली पहिलो पटक आयोगको कार्यालयमा पुग्नुभएको हो । सो अवसरमा उहाँले विनाशकारी भूकम्पले क्षति पुगेको आयोग भवनको अवस्था बारेमा पनि जानकारी लिनुभएको थियो ।
    अहिले आयोगका पदाधिकारीमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा यादव र निर्वाचन आयुक्त शर्मा मात्र रहेका छन्। सरकारले कावा प्रमुख निर्वाचन आयुक्त डा यादवलाई नै प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने सिफारिस गरे पनि उहाँका बारेमा संसदीय सुनुवाइ सम्पन्न हुन सकेको छैन ।
    निर्वाचनका लागि तयारी अवस्थामा छौँ : प्रमुख आयुक्त
    बैठकपछि कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले संविधानका प्रावधानअनुसार निर्वाचन गराउन आयोग तयारी अवस्थामा नै रहेको बताए ।
    ‘जुनसुकै निर्वाचनका लागि आयोगलाई तयारीका लागि एक सय २० दिन आवश्यक पर्ने हुन्छ, आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्न आयोग तयारी अवस्थामा छ’ – उनले भने ।
    डा यादवले स्थानीय निकाय निर्वाचनका लागि स्थानीय निकाय कार्यविधि ऐन संशोधन आवश्यक हुने जानकारी दिए ।
    प्रधानमन्त्री ओलीले सो अवसरमा आयोगका रिक्त पदाधिकारीहरु छिट्टै नियुक्त गरिने जानकारी दिनुभएको डा यादवले सञ्चारकर्मीलाई बताए ।
    सरकारका उच्च नेतृत्व र आयोगका पदाधिकारीहरुबीच करिब एक घन्टा छलफल भएको थियो । छलफलमा आयोगका सचिव त्रिताल, सहसचिव वीरबहादुर राई तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, पूर्व सभामुख सुवास नेम्वाङको पनि सहभागिता रहेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र