आश्विन २५, २०७२- मधेसको माग पूरा नहुँदै सरकारमा सहभागी भएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा र बाराका पार्टी अध्यक्ष सहित सम्पूर्ण कार्य समितिले राजीनामा गरेका छन् ।
माग पुरा नहुन्जेल नाकाबन्दी जारी राख्ने बताएका छन् । सोमबार साँझ वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा अध्यक्ष शशीकपुर मियाँले सीमांकन र संविधान संशोधन नहुँदै पार्टी सरकारमा सहभागी भएकाले परित्याग गरी आन्दोलन जारी राख्ने बताए । पार्टीका केन्द्रीय कोषाध्यक्ष बीरेन्द्रलाल नेपाली, पूर्व मन्त्रीद्धय कलावती पासवान, दुर्गादेवी महतो, मुस्लिम फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष मन्जरुल हक समानी, शिक्ष्ाक फोरमका केन्द्रीय कोषाध्यक्ष सरोज यादव, युवा फोरमका अध्यक्ष इश्वरचन्द यादव, बुद्धिजीवि फोरमका बिपी यादव लगायतले पार्टी परित्याग गरेको उनले बताए । वाराका पनि सम्पूर्ण पार्टी कार्यसमिति र भातृ संगठनले राजीनामा गरेको जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले बताए । पार्टीमा बस्ने नैतिकता नरहेकाले परित्याग गरेको उनीहरुले बताएका छन् । अन्य मधेसी दलले पनि मधेस आन्दोलनको भावना विपरित कार्य गरेकाले सबैलाई राजिनामा गर्न आग्रह समेत गरेका छन् ।
नयाँ संविधान प्रति विमति राख्दै जारी आन्दोलनको बीचमै मधेसवादी दलले प्रधानमन्त्री निर्वाचनमा सहभागि भएर मधेस विरोधी काम गरेको मियाँले बताए । आन्दोलनरता मधेसवादी दल दुई कित्तामा बाँडिएर प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला र केपी शर्मा ओलीको पक्ष्ामा मतदान गरेर मधेस आन्दोलनको भावना विपरित कार्य गरेको उनीहरुको दाबी छ । 'यो मधेसवादी दलको दुर्भाग्य हो,' पर्सा अध्यक्ष मियाँले भने, 'दुबै मोर्चा त्यत्तिकै दोषी छन् । कोइरालालाई मतदान गर्ने कम दोषी र ओलीलाई मतदान गर्ने बढी दोषी भन्ने हुँदैन् ।'
एक मधेसवादी दलले संविधानसभामा राजीनामा दिएर आन्दोलनमा व्यापक प्रचारबाजी गरेपनि प्रधानमन्त्री निर्वाचनमा भाग लिएर उसको चरित्र उदांगीएको उनको भनाई छ । 'मधेस विरोधी भनेर जुन संविधान जलाइयो, त्यही संविधान अन्तर्गत भएको प्रम चुनावमा सहभागिता जनाएर सबै मधेसवादी दलले जनतासँग धोखा गरेका छन्,' उनले भने, 'मधेसीका माग पुरा नहोउन्जेलसम्म आन्दोलन जारी रहन्छ ।' वीरगन्जमा आन्दोलन चर्काउने देखि नाकाबन्दी सुरु गर्नेमा हाम्रै कार्यकर्ता अगाडि रहेको उनले दाबी गरे । जारी आन्दोलनमा कुनै पार्टीको झन्डा मुनि नबसि संघर्ष गर्ने निर्णय भएको नेताले जनाएका छन् ।
No comments:
Post a Comment