• Breaking News

    9.18.2015

    संबिधान बनेको राती खाए २ पेग : प्रचण्ड

    श्रीमतीसंग ५ रुपैया लिएर फिल्म, किचेनमा पस्यो कि फोहोर

    एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बानी र स्वभावबारे बजारमा थरीथरीका कुरा सुनिन्छन् । कति सत्य होलान्, कति अफवाह । प्रचण्डका बानी र स्वभावबारे पत्नी सीता दाहाललाई नयाा पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :


    उठ्ने/सुत्ने

    १) बिहान कति बजे उठ्नुहुन्छ ?

    प्राय: पाँच बजे उठ्नुहुन्छ । म साढे चार बजे उठ्छु ।

    २) आफैँ उठ्नुहुन्छ कि तपार्इंले उठाउनुपर्छ ?

    कहिले आफँै उठ्नुहुन्छ । कहिले थाकेका दिन, अबेर सुतेका दिन भने ‘ए बुढा अब त उठ्ने वेला भयो’ भनेर मैले ब्युँझाउनुपर्छ ।

    ३) चिया/कफी के रुचाउनुहुन्छ ?

    स्वास्थ्य ठीक छैन, चिया/कफी केही लिनुहुन्न अचेल । ग्रिन टी हो, हामीले खाने ।

    ४) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?

    गर्नुहुन्छ । हरेक दिन बिहान टेबुल टेनिस खेल्नहुन्छ ।

    ५) कोसँग कहाँ खेल्नुहुन्छ ?

    घरमै खेल्नुहुन्छ, सुरक्षाकर्मी भाइहरूसँग ।

    ६) खेल्ने बानी पहिलेदेखि नै थियो ?

    पहिलेदेखिको त होइन, सुगर देखिएपछि खेल्न थाल्नुभएको हो ।

    ७) राति कतिखेर सुत्नुहुन्छ ?

    केही कार्यक्रम, बैठक छैनन् भने सामान्यतया साढे दश/एघारमा सुत्नुहुन्छ ।

    ८) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?

    ट्रयाक–सुट लगाउनुहुन्छ ।

    ९) कुन पेस्ट प्रयोग गर्नुहुन्छ ?

    कुन हो त्यो त बिर्सेँ, तर सबैले उहिलेदेखि प्रयोग गर्ने एउटै ब्रान्डको पेस्ट हो । उहाँले प्रयोग गर्ने छुट्टै हुन्न ।

    १०) साबुन कुन प्रयोग गर्नुहुन्छ ?

    हामीले पहिल्यैदेखि लिरिल साबुन प्रयोग गर्छौँ । उहाँले कहिलेकाहीँ ‘यस्तो साबुनले नुहाउने हो अहिले पनि’ भन्नुहुन्छ । तर, प्राय: त्यसैले नुहाउँछौँ ।

    ११) सेम्पु कुन प्रयोग गर्नुहुन्छ ?

    पहिला अर्कै लगाउनुहुन्थ्यो, अचेल कपाल झर्न थालेपछि हिमालय ब्रान्डको सेम्पु प्रयोग गर्नुहुन्छ ।

    १२) कपालमा जेल पनि लगाउनुहुन्छ ?

    जेल न सेल केही लगाउनुहुन्न, बाबु । नचाहिने हल्ला धेरै चलेका छन् । केही लगाउनुहुन्न ।

    १३) कपालमा तेल त लगाउनुहुन्छ ?

    त्यो त लगाउनुहुन्छ ।

    १४) जुँगामा मेहन्दी लगाउनुहुन्छ कि हुन्न ?

    केही पनि लगाउनुहुन्न । लगाउने भए कि कालो हुनुपथ्र्यो कि रातो हुन्थ्यो नि । सेतो हुन्थ्यो र ?

    १५) उहाँको ‘हेयर स्टाइल’ तपाईंलाई मन पर्छ कि पर्दैन ?

    मन पर्छ । पहिला युद्धकालका वेला कपाल काट्दा म पनि सँगै जान्थेँ । उहाँले हजाम भाइलाई ‘छोटो बनाइदेऊ’ भन्नुहुन्थ्यो । मैले छोटो बनाउन दिन्नथेँ । ‘उहाँले भनेर हुँदैन, अलिकति लामै राख’ भन्थेँ, हजाम भाइलाई । म कराएपछि उहाँ पनि मान्नुहुन्थ्यो । कपाल छोटो बनाएको उहाँलाई राम्रो देखिँदैन । अहिले पनि छोटो बनाउनुहुन्न ।

    १६) एकदम टिपटप देखिनुहुन्छ, त्यसमा तपाईंको भूमिका कत्तिको छ ?

    त्यो त यस्तो हो, राम्रो देखिन ज्यान पनि मिलेको हुनुपर्छ । कसैले जस्तोसुकै लुगा लगाए पनि राम्रो देखिन्छ । कसैलाई देखिन्न ।

    १७) ‘यस्तो लुगा लगाउनुस्, राम्रो देखिन्छ,’ भनेर तपाईंले पनि भन्नुहुन्छ होला नि ? भन्छु मैले पनि ।

    १८) तपाईंका अरू शीर्ष नेताका पत्नी वा परिवारका सदस्य भेट हुँदा उहाँ कस्तो टिपटप देखिनुभएको भन्छन् होला नि ?

    सबैसँग त भेटघाट पनि हुँदैन । आरजुजीसँग भेट हुँदा उहाँले भने भन्नुहुन्छ । उहाँहरूसँग राम्रो सम्बन्ध पनि छ ।

    पत्रपत्रिका/टेलिभिजन

    १९) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?

    पढ्नुहुन्छ । तर, फुर्सद नै पाउनुहुन्न ।

    २०) कतिखेर पढ्नुहुन्छ ?

    फुर्सद भयो भने बिहान नै हो पढ्ने ।

    २१) टेलिभिजन कति हेर्नुहुन्छ ?

    हेर्नुहुन्छ ।

    २२) कतिखेर हेर्नुहुन्छ ?

    फुर्सद भए बिहान पनि हेर्नुहुन्छ । प्राय: राति हेर्नुहुन्छ । त्यो पनि कहिलेकाहीँ म कराउँछु ।

    २३) किन नि ?

    (हाँस्दै) कि नेपाली च्यानल लगाउनुस् कि बन्द गर्नुस् भन्छु । कहिले त रिमोट नै खोस्छु ।

    २४) आफूबारे छापिएका समाचार पढेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?

    राम्रो समाचार छ भने त केही भन्नुहुन्न । नभएको समाचार रहेछ भने ‘कस्तो हावा लेखेको रहेछ’ भन्नुहुन्छ ।

    २५) कस्ता समाचारले उहाँलाई निराश बनाउँछ ?

    हुँदै नभएका कुराहरू लेखेपछि त टेन्सन भइहाल्छ नि । त्यस्ता समाचार राम्रो मान्नुहुन्न ।

    २६) पत्रपत्रिकामा आफ्ना कार्टुन छापिएको देख्दा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?

    हाँस्नुहुन्छ । ‘ओहो, कस्तो ठ्याक्कै मिलाएछ’ भन्नुहुन्छ ।

    खाना/खाजा

    २७) बिहानको खाजामा के लिनुहुन्छ ?

    उहाँले पुरी, तरकारी, दही, पराठा मन पराउनुहुन्छ । तर, सुगर र प्रेसरको समस्या छ, सकभर त्यस्तो खाजा म दिन्नँ । सुक्खा रोटी, तरकारी, दूध दिन्छु । दिउँसो प्राय: खाजा खाइन्न ।

    २८) खानामा के मन पराउनुहुन्छ ?

    दाल, भात तरकारी, हरियो रायोको साग मन पराउनुहुन्छ ।

    २९) माछामासु कत्तिको रुचाउनुहुन्छ ?

    त्यस्तो एकदमै रुचाउने भन्ने छैन । कहिले खाइन्छ, कहिले खाइन्न ।

    ३०) रातिको खानामा के रुचाउनुहुन्छ ?

    रातिमा प्राय: मकैको च्याँख्ला, ढिँडो, दाल र तरकारी खान्छौँ । धेरै परिकार पकाउँदैनौँ ।

    ३१) उहाँलाई एकदम मन पर्ने खाना के हो ?

    मासको दाल, कलकलाउँदो रायोको साग, यस्तै नेपाली खाना ।

    ३२) किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?

    आउन त खोज्नुहुन्छ कहिलेकाहीँ । तर, म नै पस्न दिन्नँ ।

    ३३) किन नि ?

    उहाँले पकाउन थाल्नुभयो भने यता नि फोहोर, उता नि फोहोर पार्नुहुन्छ । मलाई त्यस्तो मन पर्दैन । त्योभन्दा त ‘भयो जानुस्’ भन्छु ।

    ३४) भनेपछि खाना पकाउन रुचि देखाउनुहुन्छ ?

    रुचि त देखाउनुहुन्छ । समय नै पाउनुहुन्न । उहिल्यैदेखि उहाँ किचनको काम गर्नुहुन्थ्यो ।

    ३५) कस्तो काम गर्नुहुन्थ्यो ?

    हामी युद्धमा भएका वेला बाँडीचुँडी काम गथ्र्यौँ । उहाँ आफैँ पनि खटिनुहुन्थ्यो हरेक दिन । त्यतिवेला हामीसँगै छोरा प्रकाश पनि हेडक्वार्टरमै थियो, अरू स्टाफ थिएनन् । उसको जिम्मा पोछा लगाउने, लुगा धुने हुन्थ्यो । मैले खाना बनाउँथँे र बुढाको भागमा भाँडा धुने काम थियो । प्राय: आफ्नो भागको काम आफैँ गर्नुहुन्थ्यो, कहिलेकाहीँ प्रकाशले पनि गरिदिन्थ्यो ।

    युद्ध र जीवन

    ३६) लामो सशस्त्र युद्धको नेतृत्व गर्नुभयो, दु:ख/खुसी कस्तो मान्नुहुन्छ ?

    सबै अनुभव भयो । दु:खका घटना गनीसाध्य छैनन् । बाँचेर यसरी काठमाडौं आउँला भनेर कसले सोचेको थियो र ? कहिलेकाहीँ देशको अवस्था देख्दा त्यतिवेलै सहिद भएको भए हुन्थ्यो भन्ने लाग्छ ।

    ३७) युद्धका वेला जिउँदै नेता मारिएका समाचार पनि आउँथे, पढ्दा/सुन्दा कस्तो लाग्थ्यो ?

    कति हो कति आए, त्यस्ता समाचार । अचम्म लाग्थ्यो । यी पत्रकारले के लेख्दा हुन्जस्तो लाग्थ्यो ।

    ३८) परिवारकै सदस्य मारिएका समाचार पनि सुन्नुभयो ?

    हो नि । हामी नै मारिएको समाचार पनि आए कतिपल्ट । सुनेर हाँस्थ्यौँ, नबुझीकन के लेख्दा हुन् पत्रकारले भन्ने पनि लाग्थ्यो ।

    ३९) त्यतिवेला कुनै दिन भोकभोकै पनि बस्नुभयो ?

    झुटो बोल्नुहुन्न बाबु । भोकभोकै त कहिल्यै बसेनौँ । जनताका घरमा बसेका हुन्थ्यौँ । गच्छेअनुसार उनीहरूले राम्रै खाना खुवाएर राख्थे ।

    फिल्म/गीत–संगीत

    ४०) फिल्म हेर्न रुचाउनुहुन्छ कि रुचाउनुहुन्न ?

    रुचाउनुहुन्छ, हेर्नुहुन्छ । कत्ति पनि मन नपराउने त म हो । यो कुरा बाबुरामजी, हिसिलाजीलाई पनि थाहा छ ।

    ४१) अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म रुचाउनुहुन्छ ?

    हिन्दी हेर्नुहुन्छ ।

    ४२) हलमै गएरै कति हेर्नुहुन्छ ?

    धेरै कम जानुहुन्छ । कहिलेकाहीँ जाने हो, नत्र टेलिभिजनमै हेर्नुहुन्छ ।

    ४३) कतिखेर हेर्नुहुन्छ टेलिभिजनमा ?

    राति सुत्ने वेला हेर्नुहुन्छ ।

    ४४) परिवारका सदस्यसँग बसेर फिल्म कति हेर्नुहुन्छ ?

    कहिलेकाहीँ हेर्नुहुन्छ ।

    ४५) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?

    सिरियल त हेर्नुहुन्न ।

    ४६) गीत कत्तिको सुन्नुहुन्छ ?

    गीत–संगीत त एकदमै मन पर्छ उहाँलाई ।

    ४७) कस्ता गीतहरू सुन्नुहुन्छ ?

    प्राय: नेपाली लोक गीतहरू सुन्न मन पराउनुहुन्छ ।

    ४८) लोकगीतमा आनन्द मानेर कहिलेकाहीँ नाच्ने पनि गर्नुहुन्छ कि ?

    त्यस्तो नाँच्ने त होइन, कहिलेकाहीँ नाच्नु पनि भएको छ ।

    रेस्टुरेन्ट/खाजा

    ४९) खाना/खाजा खान बाहिर रेस्टुरेन्ट कति जानुहुन्छ ?

    जानुहुन्न बाहिर त ।

    ५०) कहिलेकाहीँ बाहिर गएर खाउँ भन्ने लाग्दैन ?

    एक नम्बरमा त मलाई नै त्यस्तो मन पर्दैन । जस्तो होस्, घरमै पाकेको खान मन लाग्छ । उहाँलाई पनि अचेल बाहिरको खान मिल्दैन बिरामी भएका कारण ।

    घर–परिवार

    ५१) लाजिम्पाटमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?

    अहिले त कोही पनि छैन, हामी बुढाबुढी मात्रै हो ।

    ५२) तपाईंसँग राजनीतिक गफ कति गर्नुहुन्छ ?

    गर्नुहुन्छ । पार्टीभित्रको र समग्र राजनीतिको विषयमा पनि कुराकानी हुन्छ ।

    ५३) तपार्इंले राजनीतिक सुझाब कत्तिको दिनुहुन्छ ?

    दिन्छु मैले पनि ।

    ५४) तपाईंको सुझाब मान्नुहुन्छ कि मान्नुहुन्न ?

    मान्नुहुन्छ । मैले भनेका र दिएका सुझाब नै अहिलेसम्म लागू हुँदै आएका छन् । यो कुरा पार्टीलाई पनि थाहा छ, उहाँलाई पनि थाहा छ । पछिल्लो समय ‘जसरी पनि संविधान बनाउनुपर्छ’ भनेर मैले पटक–पटक उहाँलाई भन्ने गरेकी थिएँ ।

    ५५) पछिल्ला दिनहरूमा तनाव कत्तिको लिनुभएको थियो ?

    एकदम तनाव नै थियो ।

    ५६) कुन विषयमा ?

    यिनै कुराहरूमा नि । संविधान बन्छ कि बन्दैन, दलहरूले के गर्छन्, नेताहरूले के गर्छन् भन्ने विषयमा ।

    ५७) आफ्नै पार्टीका नेताहरूबाट पनि संविधान निर्माणमा असहयोग भयो भन्ने गुनासो कति गर्नुहुन्थ्यो ?

    असहयोग भएकै हो नि । कुरा गर्नुहुन्छ ।

    ५८) परिवारका बाहिर रहेका सदस्य र आफन्तलाई बोलाएर सँगै खाने, गफ गर्ने कति गर्नुहुन्छ ?

    गर्नुहुन्छ नि । आज(बिहिबार) बिहान मात्रै माइली छोरी आएकी थिई । उसलाई ‘पराठा पका’ भन्नुभयो । छोरीले ‘आलु पराठा त आमाले तपाईलाई खान दिनुहुन्न’ भन्दै थिई । ‘जे को बनाएपनि बना’ भन्नुभयो । अनि, प्याज मसिनो गरेर काटेर पराठा बनायौं ।

    ५९) मन लागेको खान नपाउँदा त्यस्तो वेला तपाईसँग झर्किने कत्तिको गर्नुहुन्छ ?

    कहिले काँही अलिअलि झर्किनुहुन्छ ।

    लुगा/पहिरन

    ६०) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?

    लुगामा त एकदम सचेत हुनुहुन्छ ।

    ६१) के लगाउन रुचाउनुहुन्छ ?

    कोट, पाइन्ट, सर्ट लगाउन रुचाउनुहुन्छ ।

    ६२) आइरन आफैँ गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?

    पहिला–पहिला त गर्नुहुन्थ्यो । अचेल गर्नुहुन्न । युद्धकालमा त ‘लौ न मेरो साडीमा पनि आइरन गर्न सघाइदिनुस्’ भन्यो भने सघाइदिनुहुन्थ्यो ।

    ६३) उहाँको लुगामा तपाईंले आइरन कत्तिको गरिदिनुहुन्छ ?

    मैले त गरिदिन्नँ बाबु, नगरेको कुरा गर्छु कसरी भन्नु ?

    ६४) नजानेर नगर्नुभएको कि फुर्सद नभएर ?

    नजानेर नगरेको हो । सिकेको भए त जानिन्थ्यो पनि होला, सिकिएन ।

    ६५) उहाँका लागि लुगा कसले किनिदिन्छ ?

    हामीले नै किनिदिन्छौँ । प्राय: छोराले ल्याइदिन्छ, छोरीहरूले ल्याइदिन्छन् ।

    ६६) लुगा किन्न आफैँ पसलसम्म पुग्नुभएको छ कि छैन ?

    १०/११ वर्ष भयो, पसलमा आफैँ किन्न जानुभएको छैन ।

    ६७) उहाँले कस्तो रङको लुगा धेरै मन पराउनुहुन्छ ?

    सर्ट सेतो रङको मन पराउनुहुन्छ । पाइन्ट र कोट कालो मन पराउनुहुन्छ ।

    ६८) कहिले कालो चस्मा लगाउन भएको छ कि छैन ?

    कालो चस्मा त लगाउनुहुन्न ।

    तलब/खर्च

    ६९) आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि हुन्न ?

    सबै घरको हेर्ने मैले नै हो । पैसा पनि मैले नै राख्छु ।

    ७०) आफूले कति राख्नुहुन्छ ?

    आफूले राख्नुहुन्न । मैले नै उहाँको पर्समा राखिदिने हो ।

    ७१) कति राखिदिनुहुन्छ ?

    दुई/चार हजार राखिदिन्छु । त्यो पनि कसैले झिकिदिन्छन् कि, कसैलाई दिनुहुन्छ कि भन्ने हुन्छ ।

    ७२) एक दिन राखिदिएको पैसा कति दिन पुर्‍याउनुहुन्छ ?

    पाँच/सात दिन पुर्‍याउनुहुन्छ । उहाँको खर्च केहीमा पनि हुन्न ।

    ७३) तपाईंसँग पैसा कत्तिको माग्नुहुन्छ ?

    माग्नुहुन्छ । ‘पर्स रित्तो भयो, पैसा देऊ’ भन्नुहुन्छ, अनि मैले अड्कलेर राखिदिन्छु ।

    ७४) सबैभन्दा धेरै रकम कति दिनुभएको छ ?

    १० हजारसम्म दिएकी छु ।

    ७५) किन यति धेरै ‘टाइट’ गर्नुभएको नि ?

    टाइट होइन नि । मैले घर पनि त चलाउनुपर्‍यो नि ।

    ७६) उहाँलाई पैसा दिएको घटना जुन तपाईंलाई एकदमै याद आउँछ ?

    उहिलेको घटना हो । हाम्रो सानैमा बिहे भएको । उहाँ पनि अल्लारे केटो नै हुनुहुन्थ्यो । एक दिन फिल्म हेर्न मन लागेछ । म खेतमा मल बोक्दै थिएँ, पैसा माग्नुभयो । मैले पाँच रुपैयाँ दिएँ । अनि, खुसी हुँदै फिल्म हेरेर आउनुभयो । त्यो घटना एकदम सम्झिन्छु ।

    रिसाउने/खुसी हुने

    ७७) रिसाउने बानी कति छ ?

    मभन्दा उहाँको रिस कम हो । म अलि लामो समय रिसाउँछु बरु । उहाँ त एकछिन मात्रै रिसाउनुहुन्छ ।

    ७८) कस्ता कुरामा रिसाउनुहुन्छ ?

    कहिलेकाहीँ स–साना कुरा, कहिले राजनीतिक कुरामा पनि रिसाउनुहुन्छ । रिसाउनेभन्दा पनि ‘बहस’ हुन्छ भनौँ ।

    ७९) बुढाबुढी रिसाउँदा पहिले को बोल्नुहुन्छ ?

    पहिला उहाँ नै बोल्नुहुन्छ । अहिलेसम्मको इतिहासअनुसार उहाँ नै पहिले बोल्ने हो । उहाँ बोलेपछि म पनि बोलिहाल्छु ।

    ८०) रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?

    पहिले–पहिले पिट्नुभयो होला, त्यस्तो ठ्याक्कै याद छैन । हामीबीच रिस भन्ने कहिल्यै भएन, त्यसैले मायाले नै पिट्नुभयो होला । न कहिले मैले उहाँमाथि शंका गरेँ, न उहाँले नै ममाथि शंका गर्नुभो ।

    ८१) माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?

    माया गरेर बोलाउने नाम त छुट्टै छ, नभनौँ अहिले ।

    दु:खी र खुसी

    ८२) कस्ता कुरामा खुसी मान्नुहुन्छ ?

    देशको माहोल, राजनीति सबै ठीक ठाउँमा आयो भनेपछि खुसी हुनुहुन्छ ।

    ८३) पछिल्लो समय कहिले खुसी हुनुभयो ?

    संविधान बनेकोमा खुसी हुनुभो ।

    ८४) कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?

    कहिलेकाहीँ त गुनगुनाउनुहुन्छ ।

    ८५) कस्तो वेला ?

    कपडा लाउने वेला र अलि खुसी भएको वेलामा गुनगुनाउनुहुन्छ । खुसी भएको वेला त उहाँलाई सम्हाल्नै पनि गाह्रो हुन्छ । अरूलाई भन्दा पनि मलाई गाह्रो हुन्छ ।

    ८६) त्यस्तो कुनै घटना सुनाउनु न ?

    माओवादीले दाङको होलेरी हानेको वेला हामी भारत जयपुरको होटेलमा बसेका थियौँ, दुई दिनसम्म राति–राति गाडीको गाडीमै हिँड्यौँ । होटेलमा बसौँ, इन्डियन च्यानलहरूले सबै फोटो देखाइरहेका थिए, पक्राउ परिएला भन्ने डर । आग्रा, आग्राबाट जयपुर, तीन रात गाडीमै हिँड्यौँ । त्यो वेला उहाँ एकदमै खुसी हुनुभाथ्यो । ‘चुप लागेर बस्नुस् है, अरूले चिन्लान्’ भनेर उहाँलाई अलिकति कन्ट्रोल नै गर्नुपर्‍यो ।

    उपहार

    ८७) तपाईंलाई उपहार कतिको दिनुहुन्छ ?

    जन्मदिनका दिन ‘केक ल्याएर मनाउनुपर्छ’ भन्नुहुन्छ । ‘ममीले के भन्छे, त्यो ल्याइदेओ’ भनेर छोराछोरीलाई अह्राउनुहुन्छ ।

    ८८) अरू उपहार दिनुहुन्न ?

    अहिलेसम्म त्यस्तो केही ल्याइदिनुभएको छैन । उहिले उहाँले गोरखाको आरुघाटमा पढाउँदा म २२/२३ वर्षकी थिएँ होला । दुइटी छोरी जन्मिसकेका थिए । त्यो वेला एउटा कटनको साडी ल्याइदिनुभएको थियो । त्यो कहिल्यै बिर्सिन्नँ म । त्यो साडीको त कलर नि बिर्सन्नँ, गुलाबी–गुलाबी रङको थियो ।

    रक्सी/चुरोट

    ८९) केही अम्मल छ कि छैन ?

    यो उमेरसम्म कहिल्यै ढाँटिएन, अलि–अलि खानेलाई खाने त भन्नैपर्छ ।

    ९०) चुरोट खैनी खानुहुन्छ कि खानुुहुन्न ?

    अहिले चुरोट, खैनी केही खानुहुन्न । पहिला अलि–अलि चुरोट खानुहुन्थ्यो । अरूजस्तो पूरै प्याकेट किन्नेचाहिँ होइन । एउटा किन्ने, फेरि खान मन लागे अर्को किन्ने ।

    ९१) छाडेको कति भयो ?

    ११ वर्ष जति भयो होला छाडेको ।

    ९२) कुन चुरोट खानुहुन्थ्यो ?

    याक होला भन्छु है म ।

    ९३) रक्सी खानुहुन्छ कि खानुहुन्न ?

    रक्सी पनि त्यस्तो धेरै होइन, कहिलेकाहीँ खाने हो एक/डेढ प्याग । खानुपर्दा मैले नै हालिदिने हो । सुगर छ, प्रेसर छ, ‘यतिभन्दा धेरै खानुहुन्न’ भनेर अड्कलेर हालिदिन्छु । धेरै दिँदा दुई प्याग दिने हो ।

    ९४) अस्ति संविधानसभाले नयाँ संविधान बनायो, त्यो खुसीमा कति खानुभयो ?

    संविधान बनाएर आएपछि ‘थोरै खाउँ न त’ भन्नुभयो । दुई प्याग दिएँ ।

    ९५) एकपटक रक्सी खाएर चस्मा नै बिर्सिनुभएको थियो, थाहा पाएपछि तपाईंले केही भन्नुभयो ?

    त्यो त वाहियात कुरा रहेछ । उहाँलाई सोधेँ, गाली पनि गरेँ । ‘चस्मा छोडेको होइन, बिर्सिएर छुटेको हो’ भन्नुभो । अलि–अलि त खानुभएकै हो, तर चस्मा छुट्ने गरी खानुभएको थिएन । बढाएर भने मान्छेहरूले ।

    ९६) युद्धकालमा कति रक्सी खानहुन्थ्यो ?

    युद्धकालमा रोल्पातिर हुँदा पासाङजी हुनुहुन्थ्यो, उहाँसँग बसेर कहिलेकाहीँ कोदोको खानुहुन्थ्यो ।

    फोन/इन्टरनेट

    ९७) सामाजिक सञ्जालमा कति रमाउनुहुन्छ ?

    उहाँ चलाउनुहुन्न । म पनि ‘नचलाउनुस्’ भन्छु ।

    ९८) किन नि ?

    मलाई मन पर्दैन । यता हेर्‍यो, उता हेर्‍यो दिमाग खराब मात्रै । हस्तक्षेप नै गर्ने कुरा त आउँदैन । उहाँले पनि चलाउन त्यति मन गर्नुहुन्न ।

    ठट्टा/रमाइलो

    ९९) ठट्टा गर्ने, रमाइलो गर्ने बानी कति छ ?

    हाँस्ने, रमाइलो गर्न भने मन पराउनुहुन्छ ।

    १००) जोकहरू सुन्ने/सुनाउने कति गर्नुहुन्छ ?

    त्यो त गर्नुहुन्न ।

    १०१) सार्वजनिक कार्यक्रममा तपार्इंलाई प्राय: हाँसेको देखिँदैन, घरमा उहाँले हँसाउन कोसिस कति गर्नुहुन्छ ?

    म त्यति हाँस्ने, हाहा–हुहु गर्दिनँ । म यो कुरा स्विकार्छु । तर, घरमा त हाँसिहाल्छु नि । हाँस्ने कुरामा हाँसिन्छ, सिरियस हुने कुरामा सिरियस भइन्छ ।



    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र