काठमाडौँ, ३ भदौ ।
मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् । क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ । क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ ।
भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन् । सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन । सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन् । मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेपछि वैदेशिक रोजगार विभागले सो देशमा अनएराइभल भिसामा नेपाली नपठाउन केही दिनअघि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
भिजिट भिसामा सेन्ट लुसिया पुगेका धेरै नेपाली समस्यामा परेको भन्दै उद्धारका लागि निवेदन बढ्न थालेपछि विभागले मन्त्रालयलाई पत्राचार गरेको हो । मानव तस्करहरूले आसपासका देशबाट अवैध रूपमा भूमार्गबाट नेपालीलाई अमेरिका पठाउने गरेका छन् । अमेरिका पुगेपछि नेपाली सबै कागजपत्र फालेर शरणार्थीको रूपमा बस्ने गरेका छन् ।
वैशाखको पहिलो साता क्यारेबियन मुलुक ग्रेनेडामा सात नेपाली पक्राउ परेका थिए । उनीहरू सेन्ट लुसियाबाट डुंगा चढेर ग्रेनेडा पुगेका थिए । ग्रेनेडाको बाटो भएर उनीहरू अमेरिका जाने योजनामा थिए । मानव तस्करीमा संलग्न धेरै समूहले सजिलै भिसा पाइने देशहरूलाई ट्रान्जिट बनाएर तस्करी गर्दै आएका छन् ।
नेपालले अनएराइभल भिसा पाउने क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करीको धन्दा भइरहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । ‘अमेरिका र अफ्रिका छिर्न अनएराइभल भिसा पाउने गरिब देशहरूलाई ट्रान्जिट बनाइएका घटना धेरै छन्,’ महानिर्देशक न्यौपानेले भने, ‘खाडीमा जस्तै भिजिट भिसामा अन्य देशमा पनि कडाइ गर्नुपर्ने अवस्था देखिएको छ ।’
अमेरिका जान हिँडेका सयौँ नेपाली दक्षिण अमेरिकी तथा क्यारेबियन देशमा थुनामा छन् । दक्षिण अमेरिकी देश पानामा पनि केही नेपाली थुनामा छन् । पानामाका राष्ट्रपति जुआन कार्लाेस भेरेलाले अवैध रूपमा अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेका नेपालीलगायत विभिन्न देशका नागरिकलाई भेटेका छन् । विश्वका विभिन्न ३७ वटा देशले नेपालीलाई अनएराइभल भिसा दिन्छन् । तिनै देशलाई मानव तस्करहरूले ट्रान्जिट बनाउने गरेका हुन् ।
अमेरिका छिर्न ग्रेनेडा, क्युबा, ब्राजिल, सेन्ट लुसियाजस्ता देशलाई ट्रान्जिटका रूपमा प्रयोग गरिँदै आएको छ । ती देशमा नेपाली बारम्बार पक्राउ पर्ने गर्छन् । उद्धारका लागि पनि ती देशबाट निवेदन आउने गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल बताउँछन् । अफ्रिकामा पनि धेरै नेपालीले भिजिट भिसामा गएर काम गर्ने गरेका छन् ।
भारतबाट खाडी मुलुक हुँदै नेपाली युवती अफ्रिकामा पुगेर बेचिने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की एसपी किरण बज्राचार्य बताउँछिन् । ‘अनएराइभल भिसा पाउने देशमार्फत अन्य देशमा मानव तस्करी हुने गरेको छ,’ एसपी बज्राचार्य भन्छिन्, ‘ती देशमा अनएराभइल भिसा रोक्दा नेपालीलाई नै असर पर्न सक्छ ।
तर, मानव तस्करीमा यसले सहयोग पुर्याएको छ ।’ नेपाल विश्वमै मानव तस्करीको प्रमुख स्रोत मुलुक बन्दै गएको छ । श्रमका लागि नेपाली युवक तथा यौनका लागि युवती विभिन्न देशमा बिक्री हँुदै आएको हालै सार्वजनिक अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा पनि औँल्याइएको छ । लागुऔषध र हातहतियारपछि मानव तस्करी विश्वकै तेस्रो ठूलो संगठित अपराध हो ।
अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालबाट मानव तस्करीको डरलाग्दो धन्दा बढिरहेको प्रहरी अधिकारी बताउँछन् । भूकम्पपछि मानव तस्करी अझै बढेको छ । तीन साताअघि खाडी जान लागेका २७ जना नेपाली युवती फर्काइएका थिए । उनीहरूलाई भिजिट भिसामा अवैध रूपमा विदेश तस्करी गर्न खोज्ने केहीलाई सिआइबीले पक्राउ गरेको नयाँ पत्रिकामा खवर छ ।
अनएराइभल भिसा दिने देशहरूमार्फत नेपाली युवायुवती बेचिँदै आएका छन् । अनएराइभल भिसा दिँदा समस्या नेपालले पनि जथाभावी देशलाई अनएराइभल भिसाको सुविधा दिँदा समस्या बढ्दै गएको छ । कतिपय देशले नेपाललाई अन्य देश छिर्ने ट्रान्जिटका रूपमा प्रयोग गर्छन् भने केही अपराध गरेर लुक्न नेपाल आउने गरेका छन् ।
विश्वका ११ देशबाहेकका नागरिक नेपाल आउन पहिले भिसा लिनुपर्दैन । अफगानिस्तान, नाइजेरिया, स्वाजिल्यान्ड, लाइबेरिया, प्यालेस्टाइन, घाना, क्यामरुन, इथियोपिया, जिम्बाबे, सोमालिया र इराकका नागरिकले अग्रिम रूपमा भिसा लिएर मात्र नेपाल आउन सक्छन् । जुन धेरै वर्ष पहिले तय गरिएको सूची हो ।
कतिपय अफ्रिकी मुलुकका नागरिक नेपालमा अपराधका लागि अनएराइभल भिसामा आउने गरेको प्रहरी अधिकारी बताउँछन् । मध्यपूर्वी देशका नागरिकले युरोप छिर्न नेपाललाई ट्रान्जिटका रूपमा पनि प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय अरू धेरै देशका व्यक्ति भिजिट भिसामा नेपालमा आएर आपराधिक गतिविधिमा संलग्न पाइएकाले विश्लेषण गरी त्यहीअनुसार अनएराइभल भिसा नपाउने देशको सूची थप्नुपर्ने अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् ।
अनएराइभल भिसामा नयाँ नीति बनाउने गृहकार्य भइरहेको उनले बताए । पुनर्मूल्यांकन गरेर अनएराइभल भिसा पाउने देशको सूची हेरफेर गर्न सकिने परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल बताउँछन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment