• Breaking News

    8.19.2015

    आन्दोलनकारी बन्दुक सहित, १५ सुरक्षाकर्मी घाइते

    कपिलवस्तु, ३ भदौ ।
    प्रमुख ४ दलद्धारा प्रस्तावित ६ प्रदेश विरुद्ध मुलुक नै टुक्र्याउने र पहाडवासीलाई खेद्ने उत्तेजक अभिव्यक्तिी दिंदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा प्रहरीबीच झडप हुँदा कपिलवस्तुको सदरमुकाम तौहिलवा दिनभर नै तनावग्रस्त बनेको छ । आन्दोलनकारी र प्रहरीबीच दिउँसो २ बजे देखि साँझ ६ बजेसम्म ढुंगा हानहान हुँदा तौहिलवा बजार तनावग्रस्त बनेको हो ।
    बिहानको खाना खाएर आफ्ना कामकाज छाडी विस्तारै भेला हुँदै गएका २ हजार बढीको संख्याका आन्दोलनकारीले शुरुदेखि नै प्रहरीमाथि आक्रमण गरेपछि साबै माग पूरा हुन्छन् झैं गरी लगातार ढुंगा प्रहार गरेका थिए । प्रहरीले पनि ज्यानको सुरक्षा गर्न र स्थितिलाई नियन्त्रणमा लिन दर्जनौ राउन्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।
    प्रहरी उपरिक्षक बिक्रम गुरुङले आफैं घाइते हुनबाट बच्न र सरकारी तथा सार्वजनिक सम्पत्तीको सुरक्षा गर्न १ सय १० राउन्ड अश्रु ग्यास, २५ थ्रिनट र ३ ग्रिनेट प्रयोग गरिएको जानकारी दिए ।

    आन्दोलनकारीको प्रहार प्रहरीमाथि
    उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश कुमार सिंहले पहाडियाहरुलाई खेद्न र मुलुक नै टुक्र्याउन भनी उक्साएका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले गरेको लगातारको आक्रमणबाट बच्न जाइलागेका प्रहरीको गोली प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन् । कपिलवस्तु नगरपालिका ५ बस्ने राजेन्द्र महरा तथा वडा नम्बर १२ बस्ने पुन्यवासी कहाँरलाई गोली लागेको छ ।
    कहारको पाखुरा तथा महराको घुडामा गोली लागेको मोर्चाका नेता तथा सभासद बृजेश कुमार गुप्ताले बताए । दुबैको तौलिहवा अस्पतालमा उपचार पछि गोली निकालिएको थियो । झडपमा एक दर्जन मोर्चाका कार्यकर्ता घाइते भएको जनाइएको छ ।
    ऋआफ्ना माग र उद्देश्यका बारेमा प्रष्ट नभएपनि आन्दोलनका नाममा कामकाज छाडी उत्तेजित अवस्थामा लाठी बोकेर आएका मोर्चाका कार्यकर्तासँगको झडपमा परी प्रहरी उपरिक्षक विक्रम गुरुङसहित १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरी निरीक्षक रबिन्द्र गुरुङले बताए । मंगलबारको प्रहरी झडपपछि बुधबार विहानैदेखि आक्रामक बनेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको थियो ।
    प्रमुख प्रहरी उपरीक्षक विक्रम गुरुङले केही आन्दोलनकारीहरुलाई पक्राउ गरिएको बताए । प्रहरीले तौलिहवा अस्पताल र कपिलवस्तु नगरपालिका परिसमा पसेरसमेत लाठी चार्ज गरेको मोर्चाले आरोप लगाएको छ । प्रहरीले भने आफूमाथि आक्रमण गर्ने अनि अस्पताल र नगारपालिकामा गएर लुक्ने आक्रमणकारीको खोजीमा त्यहाँसम्म गएको जनाएको छ ।
    यता यसलाई आन्दोलनकारीहरुले अस्पतालका स्वाथ्यकर्मी र बिरामीमाथि पनि दमन गरिएको भनेका प्रहरीको दाबी छ ।
    मोर्चाका नेता तथा सभासद वृजेश कुमार गुप्ताले आन्दोलनकारीलाई संयम रहन आग्रह गरे पनि आन्दोलन हिंश्रक बनेको थियो । आफैंले उचालेर ल्याएका कार्यकर्तालाई भने बमोजिम परिचालन गर्न नसकेका बृजेशले अन्तमा मधेश आन्दोलनलाई बदनाम गराउन केही दलले आफ्ना कार्यकर्ता छिराएर हिंस्रक बनाउन खोजेको उनले आरोप लगाए ।
    उता मोर्चाका कार्यकर्ताहरुले बुधबार विहानै तिर्तिखी गाविस कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले उनीहरुको जन्म–मृत्यु दर्ता गर्ने, आवश्यक सिफारिश दिने तथा राहत वितरण गर्ने गाउँ विकास समितिको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिए ।
    मंगलबार आन्दोलनकारीहरुले जिल्लाका ३ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । स्थाानियबासीहरुले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चासँग आग्रह गरेका छन् । मोर्चाको माग आफ्नो ठाउँमा जायज भएपनि आन्दोलन उग्र बन्दै गएको प्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।

    हातमा लाठी बोकेर प्रहरीमाथि प्रहार गर्न तम्तयार आन्दोलनकारी
    यता सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले एक थान बन्दुक नियन्त्रणमा लिएका छन् । बैदौली ३ मा आन्दोलनकारीले बन्दुक लिएर प्रर्दशन गर्दै गर्दा प्रहरीले १२ बोरको उक्त हतियार नियन्त्रणमा लिएको थियो । सुरक्षा बलले हतियार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।
    आन्दोलनकारी र स्थानीयबीच झडप
    बाणगंगा नगरपालिकाको चार नम्बरमा स्थानीयबासी र आन्दोलनरत थारु कल्यणकारिणीसभाका कार्यकर्ताबीच बुधवार दिउसो झडप हुँदा एक दर्जन घाइते भएका छन् । थारु संबन्ध मोर्चाका कार्यकर्ताहरुले चार नम्बरमा कोणसभा गरिरहेको बेला झडप भएको प्रहरीले जनाएको छ ।
    झडपमा परी स्थानीय तर्फ राजेश सेन, ईश्वर थापा, समिर सेन घाइते भएका छन् भने आन्दोलनकारी तर्फ हरि थारु, रामलोचन थारु, देवनारायण थारु, पदम बहादुर थारु र रामबहादुर थारु लगाएतका घाइते भएका छन् ।
    भागदौडको क्रममा अन्य समेत घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना स्थानीय राजेश सेन सहित तथा २ जना आन्दोलनकारीलाई थप उपचारका लागि बुटवल पठाइएको अस्पतालले जनाएको छ ।
    आन्दोलनकारीले बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको भे५प४१५८ नंम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा आन्दोलनकारीले तोडफोड गरेपछि स्थानीय र आन्दोलनकारीबीच विवाद बढेको हो । आन्दोलनकारी र स्थानीय संघसंस्थाबीच आज दिउसो भएको सहमतिमा शान्तिपूर्ण सद्भाव र्याली आयोजना गर्ने भनिएपनि आन्दोलनकारी लाठि सहित सयौंको संख्यामा उपस्थित भएपछि चारनम्बर बजार तनावपूर्ण बनेको थिए ।
    झडप सिर्जना भएपछि आन्दोलनकारी चढेर आएका ५० बढी साइकल छाडेर गएका थिए । चारनम्बर बजार क्षेत्रमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक मुरलीमोहन अधिकारीले दिए ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र