न्यू एसिया प्यासिफिक ट्रेडर्स प्रालिका प्रोप्राइटर प्रशान्त अग्रवालको नाममा सो बैंकको खातामा जम्मा गरेको रु चार करोड ७८ लाख रकम सञ्चालक समितिका पदाधिकारीहरूको संलग्नतामा बैंकको कुलेश्वर शाखाबाट अपचलन भएपछि उजुरी परेको थियो ।
सो उजुरीको आधारमा अनुसन्धानपछि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले बैंकका तत्कालीन कार्यकारी प्रमुख जसोदा सैंजुलाई हिजो र सञ्चालक पुष्पज्योति ढुङ्गानालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत जेठ १४ गते बैंकको व्यवस्थापन आफूले जिम्मा लिएपछि सैंजुलाई निलम्बन गरेको थियो। उनलाई अवकाश दिने निर्णय हिजो भएको थियो।
गत वर्ष बैंककै एक कर्मचारीले गुड फर पेमेण्ट चेकबाट करोडौं रुपैयाँ हिनामिना गरेको थियो। एचएण्डबी बैंकका कुलेश्वर शाखाका प्रमुख निरज नेपालले बैंक कै ग्राहक मनोजकुमार चौरासियासँग मिलेर ८३ करोड रुपैयाँभन्दा बढीको घोटाला गरेका थिए ।
काण्ड सार्वजनिक हुनासाथ नेपाल तथा गुड फर पेमेन्ट काण्डका मुख्य अभियुक्त चौरासिया पनि पक्राउ परिसकेका छन्। दुई जनाको प्रयासमा मात्रै यति ठूलो काण्ड नभएको अनुमान भइरहेको बेला प्रहरीले निलम्बित प्रमुख र अर्का एक कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुबैलाई बैंङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको छ ।
No comments:
Post a Comment