बागलुङ मल्म–७ गहतेका ४१ वर्षीय जीतबहादुर बस्नेत २०६६ असारदेखि परिवारसँगको सम्पर्कमा छैनन् । परिवारले लामो समयदेखि खोजी गर्दा पनि उनको अवस्थाबारे हालसम्म केही थाहा हुनसकेको छैन ।
पन्ध्र वर्षदेखि भारतको राजधानी दिल्लीको गुढगाउँ भन्ने स्थानमा रोजगारी गर्दै आएका बस्नेत २०६६ साल असार २१ गते छुट्टी सकेर घरबाट दिल्ली गएका थिए । असार २२ गते भैरहवा पुगेपछि टेलिफोन गरी बस्नेतले सकुशल रहेको बताएको र त्यसपछि सम्पर्क हुन नसकेको उनकी श्रीमती रत्ना बस्नेतले बताइन् ।
त्यसपछि दिल्ली पुग्ने समयसम्म पनि श्रीमती र परिवारसँग बस्नेतले सम्पर्क नगरेपछि परिवारले खोजी कार्य सुरु गरेको थियो । “दिल्ली पुग्न लाग्ने समय व्यतीत भएको धेरै समयसम्म पनि फोन गर्नुभएन, त्यसपछि हामीले असार २५ गते नै खोजतलास र सोधपुछ गरेका हौँ,” श्रीमती रत्नाले भनिन् ।
दिन बित्दै जाँदा पनि केही खबर नभएपछि बस्नेत परिवारले खोजी कार्य अघि बढाएको थियो । त्यसपछि २०६६ सालकै साउन २ गते बस्नेतसँगै गएका एक व्यक्तिले फोन गरेर आफूहरु सकुशल दिल्ली आएको भन्दै टेलिफोन गरेको श्रीमती रत्नाले बताइन् ।
“उहाँसँग गएको साथीले राम्रोसँग पुगेको जनाएपछि हामीले कुराकानी गर्न खोज्यौँ, तर उहाँलाई हामीले सम्पर्क गर्न सकेनौँ,” रत्नाले भनिन्, “उहाँको साथीले आफू नुहाउन गएको र नुहाएर फर्कंदाखेरि उहाँ बाहिर नभएको कुरा फोनमा बताउनुभयो ।” त्यसयता बस्नेतको कुनै अत्तोपत्तो छैन ।
दिल्लीमा बस्ने नेपालीले पनि बस्नेतका बारेमा केही थाहा नभएको बताउने गरेका छन् । एक छोरी र एक छोराका पिता जीतबहादुर बेपत्ता बनेपछि परिवारजनमा शोक छाएको छ । भारत र नेपालमा पनि खोजतलासका लागि बस्नेत परिवारले लामो प्रयास गरे पनि सार्थक हुन सकेन । बस्नेतका भाइ लीलबहादुरले त १५ दिनसम्म दिल्लीमै बसेर खोजी गरेका थिए ।
भारतका पत्रपत्रिका र टेलिभिजनबाट समेत बस्नेतको खोजीका लागि पहल गरिएको थियो । पाँच वर्ष बितिसक्दा पनि श्रीमान्को अवस्था बेखबर बन्दा रत्नाको मनमा गहिरो चोट परेको छ । उनी अहिले छोरी चिना र छोरा रामबहादुरसँग बसिरहेकी छिन् ।
संयुक्त परिवारबाट छुट्टिएर रत्ना अहिले एक्लै बसेकी छिन् । “यतिका लामो समय भयो, केही थाहापत्तो भएन, मर्दोजिउँदो पनि थाहा हुन सकेन,” रत्नाले भनिन्, “जे भए पनि छोराछोरीको भविष्यका लागि म अहिले लडिरहेकी छु, उनीहरुको खुसीका लागि पनि काम गर्नैपर्छ ।
मनभरि चोट र पीडा सहेर पनि रत्नाले मेलापात, खेतीकिसानी र मजदुरी गरेर जीविका चलाइरहेकी छिन् । संयुक्त परिवारबाट छुट्टिँदा पनि रत्नालाई गाउँकै सानो जग्गाजमिनमात्रै परेको छ । उनलाई अहिले परिवार पाल्ने र छोराछोरीको पढाइबारे बढी चिन्ता छ । पैसा कमाएर परिवारको जीविका चलाउन गएका बस्नेत उतै बेपत्ता भएपछि परिवारमा पनि ठूलो पीडा थपिएको छ ।
जेनतेन छोरीको पढाइ खर्च जुटाए पनि छोरा रामले भने माइतीको सहयोगमा पढ्दै आएका छन् । बेपत्ता श्रीमान्को पर्खाइमा वर्षौंदेखि बसिरहेकी रत्नालाई अझै पनि कतैबाट टुप्लुक्क आइपुग्नुहुन्छ कि वा केही खबर आउँछ कि भन्ने आशा पनि जीवितै छ ।
No comments:
Post a Comment