बलिउडका सफल अभिनेता अनुपम खेर अर्को महिना च्यारिटी कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पढाउँदै आएको राजधानीको शान्तिनगरमा अवस्थित कोसेली फाउन्डेसनले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रममा सहभागी हुन उनी अगस्त २२ तारिख नेपाल आउन लागेका हुन् ।
सन् १९८२ मा ‘आगमन’ चलचित्रबाट अभिनय यात्रा थालेका उनले झण्डै ५ सय चलचित्र र १ सयभन्दा बढी नाटकमा अभिनय गरि सकेका छन् । उनले भारत सरकारले प्रदान गर्ने उत्कृष्ट पदक पद्यमश्री, फिल्म फेयर अवार्ड पाइसकेका छन् ।
आयोजक संस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अभिनेता खेरले आर्मी अफिसर्स क्लबमा साढे २ घन्टा एकल प्रस्तुती दिने जानकारी दिएको हो ।हाल खेरले कलर्स टेलिभिजनमा ‘द अनुपम खेर सो’ (कुछ भि हो सकता हे) चलाउदै आएका छन्।
आयोजकले स्कुलका लागि सहयोग जुटाउन अनुपम खेरको सो हेर्नेका लागि टिकटको ब्यवस्था गरेको छ । सहयोग स्वरुप भिआइपी टिकटको ८ हजार, गोल्डेनको ५ हजार, सिल्भरको ३ हजार र ब्रन्ज टिकटको १ हजार ५ सय शुल्क तोकिएको आयोजक संस्थाले जनाएको छ ।
No comments:
Post a Comment