प्रवीण बानियाँ
‘साझाको चाहाना : प्रथम संस्कृतिको अभिवृद्धिमा हरेक स्थानमा पुस्ताकालयको स्थापना’ भन्ने नाराका साथ साझा प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म देशका विभिन्न ठाउँहरुमा १५ दिने ‘बृहत् पुस्तक प्रदर्शनी मेला–२०७०’ सम्पन्न गर्यो । काठमाडौंको राष्ट्रिय सभागृहमा जारी प्रदर्शनी प्राविधिक कारणले स्थगित हुँदा १७ गे मात्रै सकिँदैछ । उक्त पुस्तक प्रदर्शनीलाई साझा प्रकाशनले केन्द्र, ६ वटा क्षेत्रीय कार्यालय र अन्य विभिन्न शाखा कार्यालयहरुको संयोजनमा देशका विभिन्न २७ ठाउँहरुमा एकसाथ सञ्चालन ग¥यो । २०२८ सालेदेखि पठन संस्कृति निर्माण गर्ने उदेश्यले प्रदर्शनी थालेको सझाले बीचका केही बर्ष आयोजना गर्न नसके पनि विगत केही बर्षयता नियमित गर्दै आइरहेको छ । त्यसैलाई निरन्तरता दिँदै साझाले पछिल्लो पुस्तक प्रदर्शनी गरेको हो । यसअघि गत माघमा पूर्वी बिराटनगरमा दश दिने बृहत् पुस्तक प्रदर्शनी तथा कला–साहित्य मेला सम्पन्न गरेको थियो ।
१७ गते सकिँदै गरेको पुस्तक प्रदर्शनीलाई साझाले मूलतः तीन तहमा गरेको हो । एकै समयमा काठमाडौंलाई केन्द्र बनाई क्षेत्रीय स्तरमा ६ सहित अरु २१ ठाउँहरुमा समानखाले पुस्तक प्रदर्शनी गर्दा साझाले एउटा महत्वपूर्ण र सम्झनलायक काम गरेको छ । प्रदर्शनी सकिँदा १० लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्नेछन् । यस पटकको प्रदर्शनीमा सानादेखि लिएर ठूला गरी करिब ५६ प्रकाशन गृहका स्टल रहे । आयोजकले प्रकाशन गृहबाहेक तीन दर्जन लेखकहरुसँग निजी रुपमा सहकार्य गर्यो । समग्र प्रदर्शनीमा डेढ करोडभन्दा बढीको पुस्तक बिक्रि भएको आयोजक संस्थाले दाबी गरेको छ । प्रदर्शनीमा साहित्यदेखि विज्ञान, शिक्षा, स्वास्थ्य, दर्शन, धार्मिक ग्रन्थ, बालसाहित्य आदिका किताब उपलब्ध थिए ।
यसपल्ट साझाले एक समयमा धेरै ठाउँहरुमा पुस्तक प्रदर्शनी गर्यो । खास गरी आयोजकले एक समयको पुस्तक बजारलाई एकसाथ आम पाठक वर्गको पहुँचमा पुराउने धेय राखेर यस्तोखाले प्रदर्शनी गरेको हो । “केन्द्रको पहुँचमा नरहेका पाठकहरुलाई स्थानीय–क्षेत्रीय तहका पाठकलाई सहज रुपमा पुस्तकको पहुँचमा ल्याउन सकिन्छ भन्ने सोच राखेर यस्तो काम गरिएको हो”, साझा प्रकाशनका सञ्चालक समितिका सदस्य तथा प्रदर्शनीका सह–संयोजक अनिल पौडेलले भने, “यो प्रदर्शनीमार्फत् हामीले एउटा नयाँ प्रयोग गर्न खोजेका हौं । पुस्तकको पहुँचमा आउन नसकेका पाठक र आम मानिसलाई एकै लहरमा पठनतर्फ आकर्षित गर्नका लागि पनि यस्तो प्रदर्शनी फलदायी हुन्छ भन्ने ठानेर एकसाथ देशका विभिन्न ठाउँहरुमा प्रदर्शनी सञ्चालन गरेका हौं ।”
एउटा कुरा, सबै मानिसहरुमा पुस्तक पढ्ने बानी हुँदैन । प्रायः एउटा खास जमात्, तह र तप्का मात्रै पुस्तक र पुस्तक बजारसँग नजिक रहिरहेको हुन्छ । पुस्तकमा सबै पाठक वर्गको पहुँच नपुग्न सक्छ । यस्ता प्रदर्शनीहरु भए पनि लक्षित वर्गसम्म पर्याप्त प्रचार–प्रसार नपुग्न सक्छ । जसले गर्दा कहीँ पाठकहरु प्रशस्तै भएर पनि पुस्तकसम्म पुग्दैनन् । पाठकवर्गका रुचीअनुसारका सबै पुस्तकहरु एकै ठाउँमा भेटिँदैनन् । यही अभावलाई टार्न यस्ता प्रदर्शनीहरु आयोजना गरिने हो । यस्तै प्रदर्शनीहरुले पुस्तकको बजार विस्तारमा गहन भूमिका खेल्छन् । आम पाठक वर्गलाई पठन संस्कृतिमा तान्छन् । साझाको पछिल्लो प्रदर्शनी यसैको एउटा गतिलो र अर्थपूर्ण पहलकदमी हो ।
मोफसलले शैक्षिक क्षेत्रमा यतिबेला नयाँ रोडम्याप लिदैँछ । एकातर्फ, पठन र पुस्तक संस्कृतिको उच्च सम्भावनाको खोजी छ । अर्कातर्फ, छापा र प्रकाशनको केन्द्रीयतालाई क्रमभङ्ग गर्न गरिएको गतिलो प्रयास । यसर्थमा पनि यस्ता प्रदर्शनी महत्वपूर्ण हुन्छन्, हुँदैछन् । यतिबेला साझाले जे, जति ग¥यो, त्यसलाई अत्यन्तै सकारात्मक रुपमा लिनुपर्छ । यस्ता प्रदर्शनीहरु कम्तिमा पनि बार्षिक रुपमा गर्न सके पुस्तकको बजार झाँगिनेछ । आम मानिसमा विस्तारै पठन संस्कृतिको विकास हुँदै्र जाने छ । समग्र शैक्षिक परिवर्तनका मुद्धाहरु पनि यस्तै माहोलबाट उठ्ने हुन् । लेखक, पुस्तक, पाठक र समाजलाई सोझै जोडिराख्न पनि यस्ता प्रदर्शनीहरु अत्यन्तै फलदायी ठहरिन्छन् ।
विश्वमा पठन संस्कृति राम्ररी विकास भइसकेको छ । हाम्रातिर त्यो संस्कार भर्खर मात्रै छिर्दैछ, यो शुभ नै सङ्केत हो । विश्व पठनका हिसाबले अझै फराकिलो हुँदैछ । हाम्रो समाज भर्खर त्यतातर्फ उन्मुख हुँदैछ । यस्ता प्रदर्शनीहरु दशकौंपछि आउने पर्वझैं लाग्छन् हामीलाई । छिटफुट रुपमा भए पनि कति पहुँचभन्दा बाहिर रहन्छन् । ठूला प्रकाशनहरु काण्माडौंबाहिर निस्कदैंनन् । बेलाबेला मोफसलमा चल्ने यस्ता प्रदर्शनीहरुको सजह पहुँचमा आम पाठकवर्ग हुँदैनन् । “यस्ता प्रदर्शनीहरुलाई चाडका रुपमा लिदैँ देशैभरि यस्ताखाले पुस्तक प्रदर्शनीहरु चलाउन सक्दा त्यो निकै फलदायी हुन्छ”, बाँकेका साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ भन्छन्, “साझाले जे जति ग¥यो, त्यो अत्यन्तै सुन्दर काम ग¥यो” ।
यस्तै प्रदर्शनीलाई लक्षित गरेर कतिपय ठूला प्रकाशनहरुले पुस्तकहरु प्रकाशन गर्ने गर्दछन् । यसपटक केही प्रकाशनहरुले साहित्य र जीवनदर्शनका पुस्तकहरुलाई यही बेला बढी छापे । धेरै प्रकाशनहरु सामान्य अवस्थामै प्रदर्शनमी खडा भए । केहीले ‘स्टक सल्टाउनेगरी’ मौकालाई सदुपयोग गरे । मूलतः साझाको यो पुस्तक प्रदर्शन साहित्यमय रह्यो । प्रदर्शनीमा बढी साहित्यका पुस्तकहरु बिके । विगत झैँ यसपटक पनि साहित्यका पुस्तकहरु नै पाठकका रोजाइमा परे । अन्य विधाका पुस्तकका आधारमा साहित्यका पुस्तकहरु बढी बिक्रि हुनुले साहित्यको बजारलाई सुखद् सङ्केत दिएको छ । यी दृश्यहरुका माझबाट साहित्यका पुस्तकहरु बाक्लैगरी छापिरहेका प्रकाशन गृहहरु निकै हौसिएका पनि छन् । लेखकहरुले नयाँ गति र उर्जा प्राप्त गरेका छन् । आम पाठकहरु पनि त्यतैतर्फ डोरिएका छन् । हिजो नबिकेको साहित्य आज बिक्दैछ, यो उज्यालो पक्ष हो ।
प्रदर्शनीमा अधिकांश पाठकहरुले साहित्यका किताबहरु बढी छान्दै गरेका, किन्दै गरेका दृश्यहरु देखिन्थे । मोटामोटी रुपमा हेर्दा कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, विनोद चौधरीको आत्माकथा ‘विनोद चौधरी’, अमर न्यौपानेको ‘सेतो धरती’, नगेन्द्र न्यौपानेको ऐतिहासिक उपन्यास ‘दरबारकी महारानी’, सुविन भट्टराईको ‘समर लभ’, धेरै आलोचना भएको भनिएको राजेन्द्र थापाको ‘खेलौना’, थापाकै ‘द्रौपदी’, शारदा शर्माको ‘ताप’, महेशविक्रम शाहको ‘ज्याक्सन हाइट’, रोशन शेरचनको ‘धोविघाट एक्सप्रेस’, अखण्ड भण्डारीको ‘मलाय एक्सप्रेस’, ०६९ को मदन पुरस्कारद्वारा पुरस्कृत राजन मुकारुङको ‘दमिनी भीर’, नयनराज पाण्डेको ‘घामकिरी’, सुधीर शर्माको नयाँ पुस्तक ‘प्रयोगशाला’ आदि धेरै बिक्ने किताबमा परे ।
त्यसैगरी नयनराज पाण्डेकै ‘लू’, ‘उलार’, रमेश क्षितिजको ‘घर फर्किरहेको मानिस’, दीपक सापकोटाको ‘लोकेसन’, स्वागत नेपालको ‘मातृ संभोग’, अनुपम रोशीको ‘नांगो मान्छे’, ध्रुवचन्द्र गौतमको कथा संकलन ‘बीच बजारमा मुद्राबोध’, युवराज घिमिरेको ‘शून्य समय’, रवीन्द्र समयको ‘अणु र पहाड’, श्यामलको ‘रित्तो गाऊँ’, मिलन संग्रौलाको ‘च्याट गर्ल’, आदि संख्यात्मक हिसाबले बढी बिक्ने पुस्तकहरुको सूचिमा परे । अतः तुलानात्मक हिसाबले हेर्दा अन्य विधाका भन्दा औपन्यासिक पुस्तकहरु धेरै पाठकका छनौटमा परे ।
हिजोअस्तिसम्म साहित्य हेयमा थियो । साहित्यका किताबहरु अपेक्षित रुपमा बिक्दैन थिए । आज समय फेरिएको छ, फेरिने क्रममा छ । साहित्य लेखन र पठन दुवैका हिसाबले समय समृद्ध बन्ने क्रममा छ । यसको अर्थ हामीकहाँ अब विस्तारै पठनको संस्कृति बस्दैछ भन्ने हो । हिजोभन्दा आज आम मानिसमा पढ्ने बानीको विकास हुँदै गइरहेको छ । रहर लाग्नेगरी पाठकहरु किताबतर्फ आकर्षित हुँदैछन् । शिक्षीतहरुको संख्या अधिक रहे पनि हिजो पठनमा मान्छे छिरेकै थिएनन्, आज छिर्दैछन् । किताबले मानिसलाई आकर्षित गर्दैछ । यसबाट लेखकहरुले पनि नयाँ गति र उर्जा प्राप्त गरिरहेका छन् । प्रकाशक र व्यवसायीहरु पनि जागेका छन् ।
यस्ता प्रदर्शनीहरु जहिल्यै पनि महत्वपूर्ण हुने गर्दछन् । पुस्तक बजार र व्यवसायीका लागि मात्रै नभएर लेखकहरुका लागि पनि खास हुन्छन् । यस्ता प्रदर्शनीहरुबाटै व्यवसायहीहरुले व्यापारको लेखाजोखा गर्ने मौका पाउँछन् । अर्कातर्फ, लेखकको लोकप्रियता र बजारको सही मापन हुन्छ । साहित्य र पुस्तक बजारमा कुन लेखकको पुस्तक लोकपिय छ र कस्ता पुस्तकहरु बिकिरहेका छन् भन्ने कोणबाट साहित्यको बजारस्थितीको आँकलन गर्न पनि यस्ता प्रदर्शनीहरु सहयोगी हुने गर्दछन् । लेखकहरुले के लेखिरहेका छन्, र कस्ता पुस्तकहरु पढ्ने भन्नेबारे पाठक वर्गले यस्तै प्रदर्शनीहरुमार्पत् जानकारी प्राप्त गर्छन् । खास गरी शिक्षा, भाषा, साहित्य र लेखन कुन अवस्थामा छ भन्नेबारे विचार–विर्मश गर्ने अवसर पनि यस्तै ठाउँमा जुट्छन् । लेखन र पठनका आम समस्याहरुका बारेमा माथापाच्ची गर्ने मञ्च प्राप्त हुन्छ, यो अर्को महत्वपूर्ण पक्ष हो ।
अन्त्यमा, यस्तै प्रदर्शनीहरुले प्रत्यक्ष–परोक्ष रुपमा भाषा, साहित्य र कलाको उत्थान तथा संरक्षणमा अतुलनीय योगदान पु¥याइरहेका हुन्छन्, छन् । अतः यस्ता प्रदर्शनीहरु देशैभरि पटक–पटक हुन सके त्यसले भलै गर्ने छ । आज यस्ताखाले प्रदर्शनीहरु सञ्चालन निजी संघ, संस्थाहरुको पहल जे जति भइरहेको छ, त्यो अत्यन्तै स्वागातयोग्य र उपलब्धीमूलक छ । भोलिका दिनमा राज्यका निकाय र उसका सेवाप्रदायक संस्थाहरुमार्फत् हुन सके त्यो अझै बढी महत्वपूर्ण हुने थियो कि !
No comments:
Post a Comment