समकालीन नेपाली कविताका क्षेत्रमा दुई दशक अघिदेखि पढिँदै आएको नाम हो, ठाकुर बेलबासे । गद्य कविताको सन्दर्भमा उनले गरेका काम र पु¥याएको योगदानको समीक्षा नगरी नेपाली कविताको हिसाबकिताब सकिँदैन । बेलबासे लामो समयदेखि लेखनी र पत्रकारितामा सक्रिय छन् । यसअघि ‘सागरको वरिपरि मनहरुको समारोह’ र ‘अचानक यो साँझ’ गरी दुई कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । पछिल्लो पटक ‘त्रासमा ईश्वर’ शीर्षक कवितासंग्रह लिएर उनी पुनः कविताका पारखीहरुमाझ उपस्थित भएका छन् । काव्यकै फाँटमा यति लामो समय लगानी गरिसकेका बेलबासेले विशिष्ट लेखनी र अर्थपूर्ण उपस्थितीमार्फत् आफ्नो स्पष्ट पहिचान बनाइसकेका छन्, यो सिधा हिसाबमा निकालिने निष्कर्ष हो ।
कृति : त्रासमा ईश्वर
लेखक : ठाकुर बेलबासे
प्रकाशक : साझा प्रकाशन
मूल्य रु. :१७५/–
पृष्ठ सङ्ख्या :११४
प्रस्तुत कृति ‘त्रासमा ईश्वर’ वर्तमान समयको साँचो दस्ताबेज हो । जीवनप्रतिको अर्थपूर्ण सम्बोधन हो । देशकालको यथार्थ प्रतिवेदन हो । प्रेमप्रतिको आस्था र अनास्था दुवै हो । समकालीन समाजको सग्लो, सफा र सुन्दर चित्र पनि हो । कविताहरुमा पाइने विषयवस्तुको चरम उठान, वैचारिक बहस, तथ्यपूर्ण तर्क, भावको सघन संयोजन, अभिव्यक्तिको प्रभावपूर्ण संप्रेषण र प्रस्तुतिमा भेटिने कलात्मक र सुन्दर अभिव्यक्तिले सिङ्गो कृतिलाई एउटा पठनीय काव्यकृति बनाउन भरमग्दुर प्रयत्न गरेको छ, यो कृतिभरिको सबैभन्दा उज्यालो पक्ष हो ।
कृतिमा लामाछोटा सरदर आयाममा संंरचित विभिन्न शीर्षकका जम्मा ३७ वटा कविता सङ्कलित छन् । माथि नै भनियो कि बेलबासेका कविताहरुमा विषयवस्तुको विविधता पाइन्छ । समुद्रमा निचोरिइरहेको घाम, मुर्छनामा मुर्झिरहेको देश, सिमानामा रोइरहेको माटो, धर्मराउँदै गरेको शासन व्यवस्था, भोक, बालकको ओठमा खेल्दाखेल्दै भागिहिँडेको मुस्कान, त्रासैत्रासमा उभिएको ईश्वर, उकालो–ओरालो गरिरहेको जीवन आदि बेलबासेका कविताका प्रमुख विषयवस्तु हुन् । उनका कविताहरुमा पाइने प्रतिकात्मक संरचना निकै रोमाञ्चक लाग्छ ।
एक हुल किशोरीहरु
हातमा एसएलआर बोकेर
देवीथान उक्लिएका छन्
शान्तिको गीत गाउँदै ।
(शान्तिको बन्दुक)
*****************************
आजसम्म त सपनाले
भोक थुमथुम्याएको छु
लाग्दै छ
निकै चाँडो भोकसँग
सपना पनि विलीन हुँदैछ
के यो देशले
मेरो भोक थाम्न सक्ला ?
(भोकसँग सपना)
*****************************
मूल कुरा, कविले कृतिभित्र पटक–पटक ईश्वरसँग वार्ता गरेका छन् । सायद, कृतिको शीर्षकको औचित्यलाई पुष्टि गर्न पनि यसो गरेका हुन् । उनी ईश्वरप्रति जति आस्था राख्छन्, त्यति नै शङ्का पनि गर्छन् । ईश्वरको तटस्थामथि उनको गम्भीर शङ्का छ । ईश्वरप्रतिको आस्था र भरोसाका साथै संशयको स्पष्ट चित्र पाइने यिनका कवितामा उचित न्याय गर्न नसक्ने सर्वव्यापी ईश्वरप्रति आक्रोस पनि छ ।
कविले कविताहरुमा प्रशस्तै ईश्वरप्रतिको आफ्ना धारणाहरु राखेका छन् । सङ्ग्रहको शीर्षक राखिएको ‘त्रासमा ईश्वर’ शीर्षकको कवितामा उनी लेख्छन्–
म सोचमग्न छु
ईश्वर शान्ति चाहान्छ कि युद्ध !
ईश्वर र संसारभरिका शासक एउटै पात्र त होइनन् ?
विचारमग्न छु्
बाँच्नका लागि
सर्वशक्तिमान् आधुनिक हतियार चाहिन्छ
या आदिम ईश्वरको आस्था ।
*****************************
जुन दिनदेखि ईश्वर ढोकासहितको
कोठामा बस्न थाल्यो
त्यसदिनदेखि ढोका म¥यो
ढोकासँगसँगै
मान्छेको विश्वास
र आस्था पनि म¥यो
मात्र ईश्वर बाँचिरह्यो ।
(ढोकाको मृत्यु)
*****************************
जीवन र प्रेमप्रति कविको अर्थपूर्ण सम्बोधन छ । प्रेमप्रति कहीँ उनी स्वच्छ आस्था दर्शाउँछन् । कहीँ अनास्था राख्छन् । विरह–वेदना पोख्छन् । प्रेमका नाममा उनी फगतः विद्रोह मात्रै गर्दैनन्, आसाहरुको खोजी पनि गर्छन् । मुस्कानहरुको अपेक्षा राख्छन् ।
तिम्रो माया र बिहानको घाम
उस्तैउस्तै लााग्छ
घाम तिमीभित्र छ कि
घामभित्र तिमी छौ ?
(एक्लाएक्लै रुन्छन् जून–घाम)
*****************************
चौरस्तामा आएपछि
तिमीले हठात् बाटो बदल्यौ
बाटोले मान्छे बदल्नु राम्रो होइन
मान्छेले बाटो बदल्नुपर्छ
तिमीले धेरै पटक यस्तै भनेका थियौ ।
(चौरस्ता र प्रेम)
*****************************
बेलबासे एक पेसेश्वर सञ्चारकर्मि पनि हुन् । उनी सामाजिक अभियान्ता र प्रजातन्त्रवादी कार्यकर्ता पनि हुन् । त्यही भएर पनि उनी धेरै कविताहरुमा आक्रामक देखिएका छन् । आवेगयुक्त इन्द्रेणीजस्ता उनका धेरै कविताहरुले वर्तमान समय र राज्य व्यवस्थालाई नै प्रतिक्रियात्मक देख्छन् । र, त्यहीअनुसार प्रतिकात्मक शैलीमा विचार लेख्छन् । उनका कविताहरुमा प्रस्टै देखिने चित्र हो यो ।
बेलबासेका कविताहरू पठनीय हुँदाहुँदै पनि काव्यिक चाम जति हुनपथथ्र्याे, त्यति पुगेको छैन । काव्यिक लेखनीमा कोमलता, गम्भीरता र विशिष्टता अनिवार्य हुन्छन्, कविले यसलाई पूरा गर्न सक्नुपर्छ । यहाँ त्यसका लागि चित्तबुझ्दो प्रयत्न हुन सकेको छैन । कविको काव्यिक विशिष्टताअनुसार चोखा र आकर्षक विम्बहरुको चयन र प्रयोगमा अलि अभाव देखिएको छ । जसले गर्दा राम्रा कविताहरू खोजीखोजी पढ्ने कविताका भोका मनहरुले कविताको भोक–प्यास नमेटन् सक्छन् ।
अन्त्यमा, बाँकी जे छन्, कवितामै छन् । यहाँ पाठक र बजारसत्तासँग जुध्ने जिम्मा कवि र किताबलाई नै छाडिदिऊँ । अतः एक लाइनमा भन्नुपर्दा ‘त्रासमा ईश्वर’ समकालीन नेपाली कविताको लहरमा गरिएको एक शक्तिशाली र अर्थपूर्ण हस्तक्षेपको साक्ष्य हो, यसमा दुई मत छैन ।
(नोट : २०६९ भरीमा साझामार्फत् प्रकाशित कृतिहरुमध्ये प्रस्तुत कृति उत्कृष्ट ठहरिँदै ०६९ को साझा पुरस्कार पाएको छ)

No comments:
Post a Comment