२ कार्तिक, २०७०
कल्पना बान्तवा
आमा, तिनीहरूले जेसुकै भनून्
कस्ता–कस्ता मैं हुँ भन्नेलाई पनि सजिलोसँग जिउन गाह्रो छ। बाँच्ने क्रममा आईपर्ने थरीथरीका अप्ठ्यारा र चुनौतीको सामना गर्न शारीरिक–मानसिक रूपले सक्षम भइएन भने जिन्दगीले नमिठोसँग हाराबारा खेलाइदिन्छ। जे जस्तो भुक्तमान बेहोर्नका लागि मानिसलाई दोषरहित मानसिक स्वास्थ्यको अत्यन्त खाँचो छ। 'स्वास्थ्य नै धन हो' त्यसैले भनिएको होला। स्वास्थ्यमा पनि मानसिक स्वास्थ्य झन ठूलो धन हो भन्दा बढी नहोला।
सन्तानका लागि आमाले खपेका कष्ट र वेदनाका उदाहरण बग्रेल्ती छन्। यहुदी आहान छ, 'भगवान जहीँतहीँ उपस्थित हुन सक्दैनन्, त्यसैले आमा बनाइदिए।' रजनीशले भने, 'जब कुनै बच्चाको जन्म हुन्छ, त्यही क्षण आमा पनि जन्मन्छिन्। त्यसअघिको उनको अस्तित्व केवल नारीको हुन्छ।'
तर उनै भगवानसरहकी आमाको मानसिक स्थिति धरमरियो भने कहालीलाग्दो दुर्घटनाले जन्म लिँदो रहेछ। हदैसम्म बिग्रेको मानसिक स्वास्थ्यका कारण हालसालै मुलुकमा यस्तो हृदयविदारक घटना भएको छ, जसले ममतामयी आमाको माथमा कलंकको टीको लाइदिएको छ। समय, काल र परिस्थितिको परिबन्दले एउटी आमालाई यो अकल्पनीय दुर्घटनाको दोषी बनाएको छ। तर अँखौटा लाएको घोडाले जस्तो घटनालाई सिधै अगाडि मात्र नहेर्ने हो भने ती आमा पटक्कै दोषी हैनन्, बम बिस्फोटले भत्केजस्तो उनको मानसिक अवस्था पूर्णरूपले दोषी हो।
धादिङदेखि परको गाउँमा दवाडी परिवारको सानो घर र थोरै खेतबारी छ। दुखजिलो गरेर जिन्दगी धान्दै गरेको परिवारमा हाल तीनजना छन्– जोइपोइ र साढे दुई महिनाकी छोरी। १३ वर्ष र १० वर्षका छोरा काठमाडौंमा छन्, एउटा सामाजिक संस्थाले उनीहरूलाई गाँसबास र पढाइको जोहो गरिदिएको छ।
गएको असार २७ गते। अपराह्न तीन बजे, त्यो सानो परिवारमा नियतीको क्रूर बज्रपात हुन्छ। बाबु खेतमा काम गर्दै हुन्छन्। घरमा आमाछोरी मात्रै। पहिलेदेखि नै अस्थिर रहेको आमाको मानसिक सन्तुलन एक्कासि भयानक तवरले खलबलिन्छ। उनले आफ्नी दूधे छोरीको गोलीगाँठामास्तिरबाट दुवै खुट्टा खुर्पाले छिनाइदिन्छिन्। अलग्गिएका खुट्टालाई थालमा राख्छिन्। अनि के मन लागेर हो, मरुन्जेल रुँदै गरेकी छोरीलाई मजेत्रोले बेरेर बोक्छिन्। र, घरबाट निस्केर बाटैबाटो मास्तिर लाग्छिन्। बाटो छेउछाउका गाउँलेले उनलाई देख्छन्, मधुरो स्वरमा रोइरहेकी काखे नानीको आवाज सुन्छन्। नानीलाई बेरिएको मजेत्रोबाट तपतप चुहिएको आलो रगत बाटोभरि देखेपछि आमालाई राम्ररी चिनेका गाउँले डरलाग्दो आशंका गर्छन्, आमालाई पछ्याउँछन्। र, समाएरै छाड्छन्। हत्त न पत्त मजेत्रो खोलेर हेर्छन् त, बेहोस भइसकेकी अढाई महिने बालिकाको हेर्न नसकिने अवस्था!
खेतमा काम गर्दै गरेका बाबु दौडेर आए। सबै मिलेर धादिङ जिल्ला अस्पताल पुर्याए नानीलाई। धादिङ अस्पतालले बच्चीलाई एम्बुलेन्समा हालेर काठमाडौं रिफर गर्यो। आमा पनि एम्बुलेन्समा नानीसँगै थिइन्। काठमाडौंमा घरि जोरपाटी, घरि कता गर्दागर्दा घटना भएको नौ घन्टापछि आधारातमा बल्ल त्यो बच्चीलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ल्याइयो।
***
त्यसपछि सुरु भो, अढाई महिने शिशुको मृत्युसँगको महासमर।
इमर्जेन्सीबाट तुरुन्त उसलाई पेडियाटि्रक आइसियुमा भर्ना गरियो। अत्यधिक रगत बगेकाले ऊ सादा कागजजस्तै भैसकेकी थिई। उसलाई नाकबाट अक्सिजन दिइयो। उसको मुटु, फोक्सो, मस्तिष्क र मृगौलालाई पुनर्ताजगी प्रदान गर्ने औषधी धमाधम दिइराखियो।
गर्नुपर्ने सबैथोक गरिँदै थियो। तर, हेर्दाहेर्दै उसको सास फेराई सुस्त हुन थाल्यो।
रगतका पोकालाई शरीरको तापक्रमअनुसार तातो पार्ने मसिनबाट निबुवा निचोरे जसरी उसका नसाबाट लगातार पठाइयो। ६० एमएल 'ए पजेटिभ' प्याक्ड सेल ब्याक टु ब्याक तीनपटक दिइयो।
बच्ची शिथिल बन्दै गइरहेकी थिई। उसले एकपल्ट सास फालेपछि फेरि कहिले लिने हो भनेर पर्खनुपर्ने जस्तो अवस्था आयो।
इन्डोट्रयाकियल ट्युब बच्चीको श्वास नलीमा छिराएर कृत्रिम श्वास–प्रश्वासको लागि त्यसमा अम्बु ब्याग र अक्सिजनको ट्युब जोडियो।
तर अहँ, केही उपाय काम लागेन। बिस्तारै सानीका आँखाका नानी फैलिँदै फैलिँदै आफ्नै परिधिसम्मका भए। उसका घाँटी र तिघ्राको कापमाथिको रगतको शिरामा कुनै स्पन्दन भेटिएन।
इसिजी मनिटरमा हृदय तरंग गायब भएर एउटा सिधा धर्को परसम्म लम्बियो।
'सिपिआर!' पेडियाटि्रक डाक्टर कराए, अनि हत्त न पत्त सानीको छातीलाई दुवै हातले अँठ्याए। र, बोलीको तालसँगै दुवै हातका बूढी औंलाले छातीमा हलका दबाब दिँदै भने, 'वान, टु, थ्री फोर ...' कार्डियो–पल्मोनरी रिससिटेसनको विधिअनुरूप सानीलाई सिपिआर दिने निरन्तर प्रयास जारी रह्यो।
३० मिनेट गरिएको सिपिआर विफल भयो। उसको शरीरलाई यो धरासँग बाँधिराख्न मेडिकल टिमले प्रयोग गरेको आधुनिक ओखती र प्रविधिको डोरीको पोयो फुस्काएर सानीको प्राण–पखेरु अन्ततः ब्रह्माण्डको हावामा कतै विलिन भएजस्तो भान भयो। एउटा जीवनको सूर्य अस्त भएझैं लाग्यो। हेर्दाहेर्दै, पेडियाटि्रक टिमको अथक प्रयत्नलाई लत्याएर ऊ निष्प्राण भइदिई। जीवनका चिह्नहरू गायब भए उसको देहबाट।
तर डाक्टर–नर्स–सहायकले उसलाई त्यतिकै माया मार्न सकेनन्, उसलाई बौराउने कोसिस जारी राखे। लाचार मेडिकल साइन्सले प्रामाणिक रूपमा उसलाई मृत घोषित गर्नुअघि अन्तिम अस्त्रस्वरूप डाइरेक्ट करेन्ट शक दिने निर्णय गर्यो। डिसी शक छोटो समयको लागि हाई इन्टेन्सिटीको करेन्ट बिरामीको छातीमा दिइन्छ, जसले मुटुलाई पुनः सञ्चालनमा ल्याउँछ। डिसी शक दुईपटक दिइयो, तर सानी पिआइसियुको बेडमा निश्चल पल्टिरही। अबचाहिँ मेडिकल टिमले हार मान्यो। निरास उदास स्वास्थ्यकर्मीले अन्तिमपटक तेस्रो डिसी शक दिए सानीलाई। र, यो अन्तिम प्रयासले यशु मसिहझैं ऊ बौरिई। इसिजी मनिटरमा किरीमिरी धर्का देखिन थाले, ऊ मधुरो सास फेर्न थाली। मृत्युलाई लोप्पा खुवाएर ऊ जीवनमा फर्की।
***
चेत पलाएदेखि घरपरिवार र समाजले सानो मौका पनि नगुमाइकन सुनाइहाल्ने तुक्का 'छोरी मान्छेले जे पनि सहन पर्छ, ऊ धरती हो' सुन्दासुन्दा म हत्तु हैरान भएकी छु। 'सहनशीला सुशिला' बन्नुपर्छ भन्ने उपदेशको भारी बोकाएर काबु बनाएको छ मलाई मेरो निम्न मध्यम वर्गीय समाजको चेतना स्तरले।
तर अचेल जबजब म यो बच्चीलाई हेर्छु, उसमा यो भनाइ चरितार्थ भएको पाउँछु। साँच्चै, छोरी मान्छे सहनकै खातिर जन्मन्छे कि कसो! नत्र कसरी खपी यो सानीले दुवै गोडा टुक्रिएको पीडा? अकल्पनीय त्यो असह्य दर्द, र जिउमा थेग्रिएको बाहेक बगेर सकिएको रगतका कारण उसले त त्यही क्षण हिरिक्क भएर मरिजानुपर्ने हैन र? जिजीविषाको कुन अंकुसेले अड्काइरह्यो उसको देहमा जीवनलाई? कुन अदृश्य शक्तिले उसको सासको दियोलाई निभ्न दिएन? त्यो चार किलोको हाडमासुको ज्यानले कसरी थेग्यो अवर्णनीय पीडाको मुर्च्छना?
हो रै'छ! जन्मनासाथ दुख, कष्ट र सास्ती सहन सक्ने अविजित योद्धा रै'छे छोरी मान्छे!
साउन ११ गते– सानीको मेजर अपरेसन भयो। अपरेसनमा पन्जाविनाका उसका दुवै गोडाका लम्बाई मिलाइयो र छाला सिलाएर घाउको मुख बन्द गरियो। अर्थोपेडिक र पेडियाटि्रक टिमले सानीको उपचार गरिरहेका छन्।
***
'घटनापछि तुरुन्तै हाम्रो अस्पतालमा सानीलाई ल्याउनुभएको भए उसका खुट्टा जोड्न सकिन्थ्यो नि? दुई टुक्रा भएका यस्ता केसहरूको सफल अपरेसन भएको रेकर्ड धेरै छ हाम्रोमा, किन सिधै यहाँ नआएर अन्त भौंतारिनुभो?' मैले एकदिन सानीका बालाई सोधेँ।
'नौ घन्टा भएको थियो यहाँ सानीलाई ल्याइपुर्याउँदा। १२ घन्टाभित्र अपरेसन गरियो भने जोडिन्छ भन्ने सुनेका थियौं। त्यसैले सानीका खुट्टालाई पोलिथिनमा आइस राखेर ल्याएका थियौं। तर अभागीको खुट्टा सद्दे बनाउन सकिएन। सानीका खुट्टा छियाछिया भएर कपासजस्तो फ्यासफ्यासे भइसकेका थिए ...' सानीका बा भक्कानिए।
मैले ओछ्यानमा पल्टिरहेकी सानीलाई हेरेँ। बोटलबाट दूध पिएर ऊ मस्तसँग आफ्नो हात जोडेर खेलिरहेकी थिई।
'यस्ती सन्तोकी नानी त कसैका हुँदैनन्। भोक लाग्दा रुन्छे, त्यत्ति हो। दूध पिएपछि यसरी नै खेलिरहन्छे। बोलायो भने मिठो गरी हाँसिदिन्छे। कति मायालाग्दी!' छेउको बेडको बिरामी बच्चोकी आमाले सुनाइन्।
***
सानीलाई अस्पताल भर्ना गरेको दुई दिनपछि अस्पतालबाटै आमा हराइन्। एक्ला बाबु, सानीको उपचार क्रममा यताउता गरून् कि, दिमाग सड्केकी जहानको रखवारी गरून्! यसोकसो लोग्नेको आँखाबाट ओझेल हुनासाथ सानीकी आमा अस्पतालबाट भागिछन्।
पुर्ख्यौली घर धादिङ, हाल काठमाडौं धुम्बाराही बस्ने शशिविक्रम शाहले मध्यरातमा दवाडी परिवारको दर्दनाक अवस्थाको जानकारी पाएछन्। उनकी छोरीले कम्प्युटरमा काम गरिरहँदा अनलाइन खबरमा सो घटनाबारे पढेकी रहिछन्।
निरीह दवाडीले कसरी यो भयावह विपत्को सामना गरिरहेको होला भन्ने सोचेर शाह रातभरि छटपटाइरहे। बिहान हुनासाथ अस्पताल पुगेर सानीका बालाई भेटे।
तत्काल आफूसँग भएको थोरैतिनो रकम सानीका बालाई दिएर शाहजी लागे सानीको उपचारका निम्ति संघसंस्था गुहार्न।
उनैको भगीरथ प्रयासका कारण केही सामाजिक संस्थाले सानीको उपचारार्थ आर्थिक सहयोग गरिरहेका छन्। मनकारी मानिसहरू सानीलाई भेट्न आइरहेछन्।
***
'नानी! सानीकी आमा भेटिई नि!' सानीकी आमा हराएको चौधौं दिन बिहान ११ बजे, शशिविक्रम शाह हस्याङफस्याङ गर्दै वार्डमा आए।
भरखर बोतलबाट दूध पिएर निदाउन लागेकी सानीलाई कोक्रोमा जसरी काखमा राखेर हल्लाउँदै उसको बेडछेउमा डुल्दै थिएँ म।
उत्साहित बनेँ, 'ए! कहाँ भेटिइन् त उनी बा?'
'उः ह्वाँ... ललितपुरको लेले भन्दा'नि पर। अभेग गाउँमा पुगेकी रै'छ। भाइचाहिँले दुई हप्तासम्म कहाँकहाँ खोजेन होला? आखिरमा हेर त ...! आउँदै छे भाइसँग ...'
'ल, राम्रो भएछ। अब उनको उपचार सुरु गरिहाल्नुपर्छ।' सानीलाई ओछ्यानमा सजिलोगरी सुताइदिँदै भनेँ।
दिउँसो लन्च ब्रेकमा सानीकी आमाछेउ गएँ। वार्डको आडैमा सानो खाली ठाउँ छ, त्यहीँ ओछ्याइएको म्याटमा ऊ मजेत्रोले जिउ र मुख छोपेर निदाएकी थिई। खिरिलो ज्यानमा मैलो गाउन लाएकी ३० वर्षजत्तिकी ऊ, आफूले जन्माएकी छोरीका लागि स्वयं एउटा त्रासदी बनी भन्ने भवितव्सँग बिलकुल अन्जान थिई।
'भाइ! दिदीलाई कहाँ कसरी फेला पार्नु भो त?' मैले सानीका मामालाई सोधेँ।
'लेलेभन्दा माथि गाउँको घरमा भाँडा माझ्दै थिई। घरबेटी आमै भन्दै थिइन्, 'कति जाती रै'छ, अह्राएको काम खुरुखुरु गरिरही। कामकी त बाघै रै'छे। घाँस काट्न, घरदैलो पोत्न, भाँडाकुँडा टिलिक्क पारेर मस्काउन र भकारो सोहोर्न सिपालु! सन्तोकी उस्तै, जेजस्तो दिए पनि चुपचाप कपाकप खाने। एक साताअघि, बिहानको भात खाने बेला आएकी थिई। कति दिनदेखि भोकै छे जस्तो लाग्यो। अघाउन्जी भात खान दिएँ। त्यसपछि दिनभरि त्यहीँ सिकुवामा सुती। त्यसपछि काम छ कि यो छे ...'
'कठै बरा! भोक लागेपछि के गरोस् त!' शशिविक्रम शाह बोले।
'बा! मलाई यिनको मानसिक अस्वस्थताबारे थोरबहुत जान्न मन छ। सानीका बा उति खुलेर कुरा गर्दैनन्, उनको आलो घाउ कोट्याउन मनासिव पनि लाग्दैन। हजुरले केही बताउनुस् न!' मैले शाहजीलााई अनुरोध गरेँ।
अनि त, शशिविक्रम बाले अर्को म्याट कुनाबाट ल्याएर ओछ्याए। शाह, सानीका मामा र म त्यो म्याटमा पलेँटी कसेर बस्यौं। हामीनजिकै सानीकी आमा मस्त घुरिरहेकी थिइन्।
सानीकी आमा, सानो छोरो जन्मेलगत्तै बहुलठ्ठी कामकुरो गर्न थालेकी थिइन्। उनलाई काठमाडौंको लगनखेलस्थित मानसिक अस्पतालमा ल्याएर जँचाइयो। लगातार औषधि खाँदै र डाक्टरले भनेको समयमा फलोअपमा आउने गरिरहँदासम्म सानीकी आमा जाती भइसकेकी रहिछन्। तर दुर्भाग्य! केही वर्षपछि डाक्टरलाई एक वचन नसोधी औषधि खान छाडिएछ। त्यसपछि आकलझुकल, उनमा उही असामान्य मानसिक अस्वस्थताका लक्षण देखा पर्न थालेछन्। बाहिरबाट देख्दा उस्तो खतरनाक नदेखिएको उनको अवस्थालाई गम्भीरतासाथ लिइएन। सानी जन्मेपछि आमाको रोग उल्टियो। उनमा मानसिक रोगका लक्षण बाक्लै देखिन थाल्यो। अबको पालिचाहिँ काठमाडौं लगेर जहानलाई जँचाउने सपना बुन्दाबुन्दै गरिब लोग्नेको सपना तुहिँदै थियो।
'भाइ! तपाईंहरूको पुस्तामा कोही यस्ता मानसिक रोगी थिए?' सानीकी मामालाई सोधेँ।
'अहँ सिस्टर! कसैलाई छैन।' भुइँमा सुतिरहेकी दिदीतिर हेर्दै बोले उनी।
'ए!'
त्यतिकैमा शाहजी पड्किए, 'पख! तिमी ठेट्नालाई के थाहा! मलाई थाहा छ तिमीहरूको सात पुस्ताबारे। तिमीहरूको खलकको तिलकेकी जीआमालाई त्यस्तो भा'को थियो। गाउँभरिकाले उनलाई 'बहुलाइनी बूढी' भन्थे। बिर्स्यौ? उतिखेर अस्पताल–उपचारको सुविधा थिएन। तिमीहरूकी जीआमा त्यतिकै बहुलाएरै बितिन्।'
हामी कुरा गरिरहँदा सानीकी आमा ब्युँझिन्। उठेर बस्दै हामीतिर हेरिन्। टाउकामा रातो रुमाल फेटा जसरी बाँधेकी उनले शशिविक्रम शाहलाई जम्ले हात जोरेर भनिन्, 'राजाबुवा! दर्शन!'
'दर्शन बा! दर्शन! आराम गर।' शशिविक्रमको बोली स्नेहले भिजेको थियो।
'निद्रा पुग्यो?' मैले सोधेँ।
'पुग्यो। घर जानी हो। घराँ छोरी एक्लै सुतिरा'छे। दवाडीले मलाई पिट्यो, अनि मेरो पालो पनि त्यसको हात काटिदिएँ ... थालाँ राखी'छु मलाई पिट्ने त्यसका हात ...' उनी बर्बराउन थालिन्। उफ्! थालमा राखेका दवाडीका हातलाई उनले जे गर्छु भनिन्, त्यो उनको वाणी दुरुस्त यहाँ सार्ने आँट ममा पलाएन।
***
सानीकी आमा अहिले मानसिक वार्डमा भर्ना भएकी छन्। उनको उपचार चलिरहेको छ। आशा छ, एकदिन उनी स्वस्थ्य हुनेछिन्। र, आफ्नो मुटुको टुक्रा सानीलाई प्रेमले छातीमा टाँस्नेछिन्।
कामना गर्छु– जीवन–मृत्युको महासंग्राममा अढाई महिनामै विजय हात पारेकी सानी हुर्कने परिवेश यति सकारात्मक होस्, जीवनपथमा डटेर संकटको सामना गरिरहेकी ठूली सानीले आफ्ना कृत्रिम खुट्टाका कारक आमालाई नमानोस्। आमालाई आमाकै रूपमा ग्रहण गर्ने स्वस्थ्य मानसिकता उसको बनोस्!
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/8857#sthash.K6XqqVre.dpuf

No comments:
Post a Comment