काठमाडौं, ३० वैशाख । तीन प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनको मतदानको अघिल्लो दिनसम्म जताततै बम र शंकास्पद बस्तु भेटिएका छन् ।
प्रदेश नम्बर ३, ४ र ६ प्रदेशमा हुने स्थानीय तह निर्वाचनको आइतबार बिहान ७ बजेबाट मतदानको कार्यक्रम सुरु हुनेछ । तर, यसको अघिल्लो दिन शनिबारसम्म पनि विभिन्न स्थानमा बम र शंकास्पद बस्तु फेला परेका हुन् ।
पोखराको लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा शुक्रबार राति बम विस्फोट भएको छ भने शनिबार पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । बम रहेको आशंका गरिएको छ । बम डिस्पोजल टोली घटनास्थलमा पुगेपनि निष्क्रिय भने पारिसकेको छैन ।
बिहीबार राति केही अपरिचित व्यक्तिले बाराही उच्च माविको विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएपनि मानवीय क्षनि भने हुन पाएन । तर, मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।
उता चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा शनिबार बिहान फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको छ ।
धनगढीको ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ ।
यता, धादिङमा हतियारसहित ६ जना पक्राउ परेका छन् भने राजमार्गमा फेला परेको बम निष्क्रिय पारिएको छ ।खनियाबास गाउँपालिका–५ सत्यदेवीमा स्थानीय २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङ तथा त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जनालाई हतियारसहित पक्राउ गरेको छ ।
युल र जयकुमारको साथबाट शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै बा७७प १९६२ नं को मोटरसाइकल र ४१ हजार सात रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।।
यसैगरी त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट पक्राउ परेका स्थानीय २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापाको साथबाट तीन खुँडा बरामद गरिएको छ ।
यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम शनिबार बिहान संयुक्त सुरक्षा फौजले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबँेसीमा राखिएको सिलिन्डर बम र महादेवबँेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।
No comments:
Post a Comment