शुक्रबार, बैशाख २२,
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरिएकोे महाअभियोगमा असहमति जनाउँदै उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधि पाँच दिनपछि पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
प्रहरी महानिरीक्षक बढुवा प्रकरणमा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाएर ‘सत्ताविद्रोह’ थालेका निधिले राप्रपा सरकारमा सहभागी भएपछि वरीयतामा असन्तुष्टि जनाउँदै आएका थिए । वरीयता विवादकै कारण प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्को बैठक बसेर पारित हुन सकेको थिएन भने प्रधानमन्त्री भ्रमणमा भएका बेला आयोजित घोडेजात्रा उत्सवमा सहभागी नभएर वरीयता विवादलाई निधिले सतहमैै ल्याइदिएका थिए ।
राप्रपा अध्यक्ष कमल थापा उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेपछि वरीयतामा को अघि भन्ने विवाद मन्त्रिपरिषद्मा थियो । प्रहरी महानिरीक्षक प्रकरणबाट सुरु भएको उनको असन्तुष्टि वरीयता विवाद हँुदै महाअभियोग प्रकरणमा पुगेपछि राजीनामामा परिणत भएको थियो । तर, बितेका दुई दिन प्रधानमन्त्री दाहाल र कांग्रेस सभापतिको पटक पटकको आग्रहपछि उनी पुनः मन्त्रिपरिषद्मा फर्किन राजी भएका हुन् । मधेसी मोर्चाले उठाएको संविधान संशोधन एजेन्डा सम्बोधन गर्न विगतमा निकै लचक निधिले आफ्नो फिर्तीलाई ‘मोर्चाको समेत आग्रह भएको’ सँग जोडेका छन् ।
महाअभियोग दर्ता भएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएर उनी बाहिरिएका थिए । उनको राजीनामासँगै राप्रपाले समेत सत्ताबाट बाहिरिने निर्णय गरेको थियो । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा निधि र कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेर छलफल गरेका प्रधानमन्त्रीले स्थानीय तह निर्वाचन सफल पार्न र संविधान संशोधन विधेयक पारित गराउन भूमिका खेल्न सरकारमा फर्किन आग्रह गरेपछि उनी मन्त्रालय फर्किन तयार भएका हुन् ।
सभापति देउवाले सरकारमा अब केही समयका लागि मात्रै अर्को व्यक्तिलाई ल्याउनु जायज नहुने र त्यसले पार्टीभित्र र बाहिरसमेत सन्देश राम्रो नजाने भन्दै निधिलाई पुनर्विचार गर्न भनेका थिए । त्यसलगत्तै उनी गृहको जिम्मेवारीमा फर्किन तयार भएको स्रोतले बतायो । निधि र सभापति देउवाबीच बुधबार पनि लामो समय सोही विषयमा संवाद भएको थियो ।
३१ वैशाखका लागि निर्धारित पहिलो चरणको स्थानीय तहको निर्चाचन नजिकिँदै गर्दा प्रधानन्यायाधीश कार्कीमाथि सरकारले महाअभियोग लगाएपछि आफूसँग कुनै सल्लाह नै नगरी महाअभियोग ल्याइएको र सरकारमा बस्नुको औचित्य सकिएको भन्दै निधिले पदबाट राजीनामा दिएका थिए ।
वरीयताको विषयलाई लिएर उपप्रधानमन्त्री समेत रहेका निधिले मन्त्रिपरिषद् बैठकमा समेत सहभागिता जनाउन छाडेका थिए । दोस्रो वरीयता पाएका राप्रपा अध्यक्ष कमल थापाले बुधबार राजीनामा दिएपछि निधिले पुरानै वरीयता पाउनेछन् । राजधानीबाट