काठमाडौं, २३ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुबीच स्थानीय तह निर्वाचन र सम्भावित सत्ता समीकरणबारे विशेष वार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा सत्ता समीकरण र स्थानीय तह निर्वाचनमा सहकार्यबारे गोप्य छलफल भएको स्रोतले जानकारी दियो ।
छलफलमा एमालेका तर्फबाट अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ र नेता विष्णु पौडेल सहभागी थिए ।
राप्रपाका तर्फबाट अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा तथा उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजीव पराजुली सहभागी थिए ।
“यसअघिको सरकारमा पनि मुलुकसामु देखा परेका चुनौतीको सामना गर्न हामी एकै ठाउँमा थियौं,”एमालेका एक शीर्ष नेताले भने, “अहिले परिस्थिति बदलिएको छ तर चुनौती उस्तै छन् । त्यसलाई कसरी समाधन गर्ने भन्नेबारे दुवै पार्टीका शीर्षस्थ नेताबीच छलफल भएको हो ।”
स्थानीय तह निर्वाचन, सम्भावित सत्ता समीकरण र संविधान संशोधन सम्बधी विषयमा छलफल भएको एमालेका ती नेताले जानकारी दिए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तेस्रो ठूलो हैसियतका साथ सहभागी राप्रपाले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने छ । माओवादी, कांग्रेस, राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको समर्थन रहेको सरकारमा ३ सय २९ सांसदको समर्थन छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन फिर्ता लिने थाहा पाएपछि प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्ष थापालाई सरकारमा सहभागी गराएका थिए ।
तर, उपप्रधानमन्त्रीको वरियतामा विवाद देखिएसँगै राप्रपा सरकारको विकल्प खोज्नसक्ने स्थितिमा देखिएको जानकारहरु बताउँछन् ।
कारोबार दैनिकमा समाचार छ ।