काठमाडौं, २७ चैत । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरियता विवादले तीन सातादेखि बस्न नसकेको बैठक आज पनि सोही कारणले स्थगित भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजेका लागि क्याविनेट बैठक बोलाएका थिए । बैठकमा राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरियतामा राख्ने निर्णय प्रधानमन्त्रीले गरेका थिए ।
तर, यो निर्णय नसच्चिए बैठक बहिष्कार गर्ने चेतावनी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्रीले पुनः बैठक स्थगित गर्नुपरेको हो । प्रधानमन्त्रीले आजको बैठकलाई भोलि दिउँसो ३ बजेका लागि सारेका छन् ।
यसअघि बिहीबार बस्ने भनिएको क्याविनेट बैठकलाई सार्दै प्रधानमन्त्रीले आज ३ बजेका लागि बोलाएका थिए । दुई उपप्रमको वरियता विवादले चैत ३ गतेपछि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन् ।
बैठक बस्न नसक्दा नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रक्रिया अवरुद्ध बनेको छ, भनेसरुवा, बढुवा, नियुक्ति लगायत नियमित कामसमेत प्रभावित भएका छन् ।