चैत २४ – लगभग १५ दिन अघि शाहिद कपुरकी श्रीमती मिरा राजपुतले महिलावादी र मातृत्वबारे निकै विवादास्पद बयान दिएर चर्चा बटुलेकी थिइन् ।
मिराले गृहिणीको ताज आफूले निकै गौरवपूर्वक लगाइरहेको र आफूले कामको सट्टा छोरीलाई छनोट गरेको बताएकी थिइन् । उनले काम सिद्धाएर सन्तानलाई एक दुईघण्टामात्र समय दिनका लागि आफ्नी छोरी मिशा कोही कुकुर नभएको भनी टिप्पणी गरेकी थिइन् । छोरी आफ्नै आँखा अगाडि हुर्किओस् भन्ने चाहना उनको रहेको उनले बताएकी थिइन् । उनको यो टिप्पणीले धेरैको ध्यानाकर्षण गराएको थियो किनभने उक्त भनाई नयाँ आमा बनेकी करिना कपुर (जसले छोरालाई जन्म दिएलगत्तै कामको थालनी गरेकी थिइन्) लाई कटाक्ष गरिएको धेरैले आँकलन गरेका थिए ।
करिनाले डिसेम्बर २० तारिखमा छोरा तैमुरलाई जन्म दिएकी थिइन् । यद्यपी, करिनाले एक महिना नबित्दै आफ्नो कामको थालनी गरेकी थिइन् । करिनाले आफ्नो व्यवसायिक प्रतिबद्धतालाई कायम राख्दै कामको थालनी गरेको विषयलाई थुप्रैले उदाहरणको रुपमा हेरिरहेका बेला मिराको भनाई विवादास्पद देखिएको हो ।
डिएनएको रिपोर्ट अनुसार करिनालाई मिराको कमेन्टबारे प्रश्न सोध्दा उनले निकै मज्जाले उत्तर दिएकी छिन्ः
करिनालाई उद्धृत गर्दै उक्त रिपोर्टले बतायो, ‘म कस्तो आमा हुँ भन्ने कुरा समयले बताउनेछ । मैले महसुस गरेको मातृत्व र छोरा तैमुरलाई कति माया गर्छु भन्ने कुरा कौसीमा बसेर चिच्याउन म चाहन्नँ । तपाईंले जतिसुकै राम्रो काम गर्नु न, मानिसहरुले तपाईंबारे केही न केही नराम्रो कुरा गर्ने नै गर्दछन् । ९ महिनाको गर्भावस्था र आमा बनेको अनुभव प्रत्येक महिलाका लागि भिन्न हुन्छ । यसमा कसैले कसैलाई दाँज्न मिल्दैन । मैले गर्भावस्था र आमा बन्ने बेलामा जस्तो महसुस गरें, त्यो मैलेभन्दा अरु कसैले पनि बुझ्न सक्दैन । बच्चा जन्माएको ४५ दिन पहिले बाहिर निस्कन नहुने कुरा कसैले मेरो लागि किन निर्णय गर्ने ?