एजेन्सी
चैत १७ – अरबाज खान र मलाइका अरोडा खानले विवाहको १८ वर्षपछि अलग्गिने निर्णय गरेका थिए । सन् २०१६ मा अलग्गिएपछि अरबाजको सम्बन्धबारे थुप्रै खबर मिडियामा सार्वजनिक भए । केही मिडियाले उनी गोवाकी येलोसँग डेट गरिरहेको बतायो त केहीले उनी रोमानियन साथीसँगको सम्बन्धमा भएको बतायो । केहि दिन अघि दिएको अन्तर्वार्तामा अरबाजले आफ्नो सम्बन्धबारे स्विकारेका छन् ।
एक चर्चित वेबसाइटसँगको कुराकानीमा जब अरबाजसँग डेटिङको प्रश्न सोधियो तब उनले भने, ‘कोसँग ? यदि तपाईं यलोको कुरा गरिरहनु भएको हो भने उनी मेरी साथी मात्र हुन् । जब म गोवा जान्छु तब उनीसँग भेट्छु । उनी एक रेष्टुरेन्टकी मालिक हुन् । ’ त्यसो भए के उनी रोमानियामा बस्ने हुन् त ? यसमा अरबाज बोले, ‘होइन उनी अलग हुन् । उनको नाम एलेक्जेन्ड्रिया हो । उनी मेरी साथी हुन् । हो, म डेटिङ गरिरहेको छु । तर हामी दुबै सम्बन्धमा छैनौं । यस्तो हुन अझै धेरै समय लाग्नेछ ।’
के मलाइका सँगै फर्किनेछन् अरबाज ?
जब अरबाजलाई यो प्रश्न सोधियो तब उनले भने, ‘मलाई लाग्छ कि यदि फर्कनु थियो भने अहिलेसम्म फर्किसक्थ्यौं । अहिलेसम्म यस्तो केही भएको छैन । यसको अर्थ फर्कनु मुश्किल छ । यदि यस्तो हुनुथ्यो भने सुरुवाती ६ महिना वा एक वर्षभित्रै हुन्थ्यो । तर अब अलग्गिएको पनि तीन वर्ष भइसक्यो ।’
स्मरण रहोस्, चार वर्षको डेटिङपछि अरबाज–मलाइकाले सन् १९९९ मा विवाह गरेका थिए । उनीहरुका छोरा अरहानको जन्म सन् २००२ मा भयो । सन् २०१६ मार्चमा उनीहरुले आधिकारिक जानकारी जारी गरेर छुट्टिएको पुष्टि गरेका थिए ।