• Breaking News

    3.30.2017

    भारतीय राजदुत सिंहका पाँच भेट, पाँच विवाद


    काठमाडौ, चैत १७ – नेपालका लागि भारतीय राजदुत मन्जिवसिंह पुरी गत साता काठमाडौ ओर्लेलगत्तै उच्च राजनीतिक भेटघाटमा व्यस्त छन् । तर, राजदुतको जिम्मेवारी सम्हाल्न आएको एक साता नपुग्दै राजदुत पुरी चरम विवादमा तानिएका छन् । राजदुत पुरीले गरेका भेटघाटमा उनले राखेका हिन्दु राष्ट्रदेखि फास्ट ट्रयाक निर्माणबारे अनावश्यक चाँसोका कारण आएको छोटो समयमै उनी विवादमा तानिएका हुन् । गत शनिबार काठमाडौ आइपुगेका राजदुत पुरीले बिहीबारसम्म गरेका ५ वटा महत्वपूर्ण भेटघाट विवादरहित बन्न सकेनन् ।

    पहिलो भेट नै रहस्यमय
    शनिबार काठमाडौ ओर्लेर लैनचौर बास बसेका राजदुत पुरी आईतबार लैनचौरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको राष्ट्रपति कार्यलय शितलनिवास पुगे । शितलनिवासमा पुगेर आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका पुरीले त्यसैदिनबाट शिष्टाचार भेटघाटका नाममा नेता, तथा मन्त्रीहरुसँग भेट गर्न थालेका थिए । राजदुत पुरीले आईतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै नीजि निवास बुढानिलकण्ठमा डिनरसहित करिव दुई घण्टा भेटे । पुरी र देउवाबीच पुरानो मित्रता भएका कारण पुरी त्यस दिन सभापति देउवाको घरमा डिनरसहितको भेटमा गएको भारतीय दुतावासले नै जनाएपनि त्यो भेटलाई सभापति देउवाको सचिवालयले गोप्य राख्यो । देउवासँगको लामो डिनरसहितको भेटमा राजदुत पुरीले शिष्टाचारका अलवा दुई देशबीचको व्यापार, विकास र सुरक्षाका बारेमा कुराकानी गरेका थिए । त्यसमा मुख्यत पुरीको चासो देउवाको सत्तारोहण र फास्ट ट्रयाक निर्माणमै रहेको थियो ।

    सोमबार ओलीसँग भेट
    आइतबार देउवालाई भेटेका राजदुत पुरी सोमबार नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीलाई भेट्न सिंहदरवार पुगे । ओलीसँगको भेटमा पुरीले के के प्रस्ताव गरे भन्ने बाहिर नआएपनि ‘ओली– पुरी’ भेट ‘राजदुतको पहिलो भेट’ भनेर धेरै सञ्चार माध्यमका समाचार बने । तर, ओली पुरी पहिलो भेट भनेर समचारहरु सार्वजनिक भएलगत्तै भारतीय दुतावासले ‘ओली पुरी’ भेट पहिलो नभएको भनेर खण्डन गर्यो । यसरी दुताबासले नै त्यस्ता भेटघाटमा चासो राखेर यो पहिलो र यो दोस्रो भनेर भनेको सम्भवतः इतिहासमै पहिलो पटक हो ।

    मंगलबार थापा र निधी
    पहिलो र दोस्रो भेट विवादित बनाएका राजदुत पुरीले मंगलबार सरकारका दुई उपप्रधान मन्त्रीहरुसँग शिष्टाचार भेट गरे । पुरीले मंगलबार पहिलो भेटबार्ता राप्रपा अध्यक्ष समेत रहेका स्थानीय विकास मन्त्री कमल थापासँग गरे । सिंहदरवारस्थित मन्त्री थापाकै कार्यकक्षमा भएको सो भेटघाटमा राजदुत पुरीले हिन्दु राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । सो भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश थापालाई सुनाएका थिए । हिन्दु राज्यको पक्षमा संघर्ष गरिरहेका थापाले राजदुत पुरीको त्यो सन्देश सुनेपछि उत्साहित हुदै आफ्नो पहलमा सहयोग गरिदिन आग्रह समेत गरेका थिए । जबकी नेपाल धर्म निरपेक्ष राज्य घोषणा भैसकेको अवस्थामा राजदुत पुरीले व्यवस्थालाई नै उल्ट्याउने उक्साहटपुर्ण काम गरेर आफ्नो ओहदा र भूमिकालाई थप विवादमा तान्ने काम गरे । त्यसै दिन उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधीलाई भेटेका राजदुत पुरीले सुरक्षाका बारेमा विशेष चासो राखेका थिए ।

    लेखकसँग फास्ट ट्रयाक मागे
    सुरुबाटै स्वार्थ केन्द्रीत भेटघाट थालेका पुरीले भेटघाट थालेको चौथो दिन अर्थात चैत १६ गते बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटबार्ता गरेका छन् । मन्त्री लेखक संगको भेटमा राजदुत पुरीले लाजै नमानी टुङिगइसकेको विषय काठमाण्डौ–तराई जोड्ने फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन प्रस्ताव गरे । जुन फास्ट ट्रयाक नेपाल आफैले बनाउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । राजदुत पुरीले गरेको प्रस्तावमा मन्त्री लेखकले भने प्रस्ताव ढिला भइसकेको जवाफ दिएका थिए । विहीबारको एक दैनिक पत्रिकाले समेत पुरीको फास्ट ट्रयाकसम्बन्धी चासो र प्रस्तावसम्बन्धी समचार प्राथमिकताका साथ छापेको छ । यसअघि पनि लामो समयदेखि भारतले फास्ट ट्रयाकमा चासो देखाउदै आएको थियो । तर, फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्ने व्यापक जनदवाव बढेपछि सरकार आफैले यो योजना सम्पन्न गर्ने घोषणा र तयारी नै थालिसकेको छ ।

    प्रधानमन्त्री प्रचण्डसँग पनि,
    सुरुबाटै विवादित भेटघाटमा तानिएका राजदुत पुरीले बिहीबार बिहान प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गरेका छन् । बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटर पुगेका राजदुत पुरीले पुन फास्ट ट्रयाककै कुरा दाहोर्याए । जसले गर्दा राजदुत पुरी थप विवादमा तानिए । राजदुतले दुई देशवीचमा हुने व्यापार, विकास र सुरक्षा लगायतका विषयमा चासो राख्नु र दुवै देशलाई फाइदा हुने योजना अघि सार्नु सामान्य विषय भएपनि भारतीय राजदुतले अनावश्यक ढंगले देखाएको यो चासो र सक्रियताले भने उनको यसअघिको छवि कायम रहला भन्नेमा भने आशंका उव्जिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र