• Breaking News

    3.04.2017

    रविन्द्र मिश्रलाई क्याप्टेन विजय लामाको खुला पत्र !

    शनिबार, फागुन २१


    रविन्द्र,
    तिमीले अहिले सम्म आफ्नो पेशाबाट पुर्याएको योगदानलाई साधुबाद…..जहिले सत्य को पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्यौ ! आफ्नो बिषिष्टअनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ !

    कहिले डग्मगाएनौ आफ्नो प्रगतिशिल बिचारहरु राख्न । आफ्नो आवाजलाई कहिले दबाएनौ गरीब दुखी को लागि बोल्नलाई होस या भ्रष्टाचारी बिरुद्ध बोल्न लाई ! सँधै एकै रफ्तार मा अघि बढ्यौ।



    अतितकालिन रत्न–राज्यका हाम्रा किशोरकालिन दिन हरु देखि आज पर्यन्त त्यही रबिन्द्र नै पाएँ मैले परिष्कृत तर कुनै परिवर्तन बिनाको। त्यही सरल स्वभाव्, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान्, त्यही हठ रहित शान्त मिलनसार र गम्भिर मिजास, अनि त्यही सहयोगी मन र त्यही जुझारु ब्यक्ती जस्ले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि ! तिमी पत्रकारितामा छउञ्जेल पित–पत्रुकारितालाई पैतालाले कुल्चीरह्यौ।

    तर आज यसरी तिमीले सफलताको गगन गमन गरीरहेको पेशा लाई छोडी अन्यौल्, अब्यवस्थित्, फोहोरी, लुब्ध र अँध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु, यस कारण कि तिमी जस्तोको खाँचो छ त्यहाँ जहाँ निस्वार्थ,निश्पक्ष,र निडर नेताको खडेरी छ ।

    तिम्रो त्याग, आँट र स्वप्निल दुस्साहसको कदर गर्छु । अझ चुनौतिपुर्ण र प्रतिबद्ध देश बिकास प्रतिको लागि सलाम छ मेरो मित्रलाई। तिमीले बोल्दै गरेको खान पुगोस दिन पुगोस जस्ता सामन्ती शब्दावली र भष्टाचारीलाई किरा परोस खालका दैबिक श्राप भन्दा माथी उठेर खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तब्य र भ्रष्टाचारी जेलमा सडोस को संकल्प नयाँ पुस्ताले तिमी बाट अपेक्षा जो गर्छ गरीरहेछ। सच्याउने छौ। यस्ता अर्थहिन नाराले तिम्रो बौद्धिकतालाई गिज्याएको छ।

    म पनि त्यही अपेक्षा राख्छु। आज नेपालमा खाचो भनेको नै एउटा असल्, इमान्दार्, देश भक्त नेता हो ! यहि तिमी बाट देशले प्राप्त गरेर कायापलट भैदियोस, केवल एउटा ब्यक्ती ले ल्याउन सक्छ परिवर्तन पुरै पार्टी या ठुलो जमात चाहिन्न ! नेता एक कार्यकर्ता अनेक ! आफु भित्र भएको सबै सदगुणलाई ब्यवस्थित गर्दै सुदुरगामी यात्राका लागी मेरो शुभ–कामना र सबै भएर पनि केही नभएको देशलाई मात्रसबै भएको देश बनाउने महाँयात्राको थालनी गरीदेउ।

    दैनिक ३ हजार भन्दा ज्यादा युवाको सस्तो र जोखिम–युक्त श्रमबजारमा पसिना घोट्नु पर्ने बाध्यात्मक बिदेश गमनलाई यहीँ रोजगारी सृजना गरेर रोकी देउ, बृद्धहरुको लागि दुई गाँस जाउलो र न्यानो बास उपलब्ध गराइ देउ, युवा जमात लाई सिप र शिक्षा पाउने आधार खडा गरिदेउ र बिशेष गरेर नारामा मात्र भ्रष्टहरुको बिरोधमात्र होइन, बृहद नेपाली शब्दकोष बाट भ्रष्टाचार नामको शब्दै डिलेट गरीदेउ ।

    ……….जय चन्द्र सुर्य…………..
    तिम्रो रत्न राज्य कलेजको अध्ययन ताकाको सखा….. बिजय लामा

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र