सप्तरी, २४ फागुन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेशी युवाहरुलाई ढुंगामुढा हान्ने काम छाडेर एमालेमा आउन आह्वान गरेका छन् ।
सोमबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ढुंगामुढा हान्ने काम छाडेर एमालेमा समाहित हुन आन्दोलनकारत मधेशी मोर्चाका युवा कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् ।
‘अब तपार्इंहरुले ढुंगा हान्ने काम छोड्नुहोस्, कालो झण्डाको सट्टा रातो सूर्य झण्डा बोक्न एमालेमा आउन म मधेसी मोर्चामा आबद्ध युवाहरुलाई आग्रह गर्छु ।’, ओलीले भनेका थिए – ‘एमाले दुई चार वटा कालो झण्डा देखाएर तर्सने पार्टी होइन् । नेकपा एमालेको जन्म तराई मधेसमै भएको हो र तराईको विकासमा एमालेकै महत्वपूर्ण योगदान छ ।’
ओलीले यो भाषण गरिरहँदा छेउमै मधेशी मोर्चाका नेता कार्यकर्ता भने एमालेविरुद्ध प्रदर्शन गर्दै प्रहरीलाई ढुंगा प्रहार गरिरहेका थिए । एमालेको सभा सकिएपछि जब नेताहरु फर्किए तब घटनाले अर्कै रुप लियो । सशस्त्र प्रहरीको गोली लागेर मारिएका चार जनाको सनाखत भइसकेको छ ।
दैनिक नेपाल बाट