• Breaking News

    3.15.2017

    फिल्म बनाउन ‘माइजु’को अपहरण प्रयास


    काठमाडौं, ३ चैत । बलिउड अभिनेता सलमान खानको बिग बोस कार्यक्रममा काम गरेका धादिङका बिदुर पौडेल फिल्म बनाउने सपना लिएर नेपाल फर्किए । नेपाल आएपछि उनी फिल्म बनाएर रातारात हिट हुन चाहान्थे । तर पौडेलसँग फिल्म बनाउने पैसा थिएन ।
    फिल्म बनाउन एक करोड लाग्ने हिसाब निस्कियो । तर, आफन्तले पैसा दिएनन् । फिल्म बनाउन पैसा नभएपछि उनले एउटा ‘मास्टरप्लान’ बनाए । गाउँकै एक साथीको मामा माइजु धनी रहेको सुनेका थिए । साथीकी माइजु प्रतिमा गिरी (अधिकारी) बालुवाटारस्थित मुकुल सहकारी संस्थाको अध्यक्ष थिइन् । साथीको माइजुसगँ पैसा असुल्ने योजना अनुरुप अपहरणको धम्कि दिएर एक करोड रुपैयाँ असुल्ने मास्टरप्लान पौडेलको थियो ।
    भारतीय टेलिभिजन सोनीबाट प्रसारण हुने सिआइडीको फ्यान उनले सोही कार्यक्रमबाट सिकेर अपराधीक योजना बनाई एक करोड रुपैयाँ असु्ल्ने योजना बनाए ।
    साथीहरुसँग दोस्ति बढाइ तिनै साथीहरुबाट माइजुको सम्पत्ति तथा परिवार बारे जानकारी लिए । सिआइडीमा अरुको सिमकार्ड प्रयोग गरेर अपराध गरेको देखेका थिए । उनले पनि साथीको मोबाइलको सिम चोर्ने योजना बनाए । एक दिन साथीले थाहा नपाउने गरि पर्सबाट सिम चोरी गरे । त्यसैगरि बाटोमा भेटिएको एक महिलाको नागरिकताको आधारमा उनले अर्का सिमकार्ड निकाले ।
    नयाँ मोबाईलमा उक्त दुई सिमकार्ड राखी, सोही मोबाईलबाट प्रतीमा गिरी अधिकारीलाई धम्काउन थाले । फोन र एसएमएस मार्फत एक करोड रुपैँया नदिए दुई छोरी र श्रीमानमाथि जे पनि हुनसक्ने भन्दै धम्क्याए । एसएमएस गर्ने बित्तिकै फोन स्विच अफ गर्थे । पछिल्लो पटक धम्क्याउने व्यक्तिले पुरानो बसको साँखु जाने बस स्टेसनमा रहेको अघिल्लो बसको अन्तिम सिटमा लगेर एक करोड रुपैयाँ राखिदिनु भन्दै दिन र समय तोकेर उनलाई धम्क्याएका थिए ।
    बारम्बार धम्की आउन थालेपछि उनले उक्त नम्बरबारे बुझ्न थालिन् । धम्की आएको नम्बर आफ्नै भान्जाको थियो, सुरुमा प्रतिमाले आफ्नै भान्जामाथि नै शंका गरेकी थिइन् । तर, उनको सिम चोरी भएको खुलेपछि उनले प्रहरिमा उजुरी दिएकी थिइन् । माहानगरीय अपराध माहाशाखाले उनकै उजुरीको आधारमा पौडेललाई तीन साता अघि नयाँ बजारबाट पक्राउ गरेको हो ।
    मंगलबार उनी विरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा दायर गरिएको माहानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए ।
    फिल्म बनाउने धोको
    प्रहरीका अनुसार धम्क्याउन प्रयोग गरिएको दुबै सिम बरामद गरिएको छ । पक्राउ गरेपछि सुरुमा उनले आफूले त्यस्तो काम नगरेको बताएको र पछि अपराध स्विकारेको अपराध माहाशाखाका डिएसपी अजय केसीले बताए । आफू बदमास नभएको, तर फिल्म बनाउने आफ्नो ठूलो धोको भएकाले पैसा जम्मा गर्न त्यसरी धम्क्याउनु परेको उनले बताए । ‘फिल्म बनाएर हिट हुन्छु भन्ने उसलाई लागेको रहेछ डिएसपी केसीले बताए । आफुले सिआइडि हेरेरै सो योजना बनाएको उनले बताएका छन् ।
    पौडेलले आफुले बिगबोसमा सहायक प्रोड्युसरका रुपमा काम गरेको बताएका छन् । फिल्म सम्बन्धी ज्ञान भएकोले उनी नेपाल आएर फिल्म बनाउने प्रयासमा लागेका थिए । आकांक्षा पूरा गर्न गलत बाटो अपनाउँदा उनी प्रहरी फन्दामा परेका हुन् ।  नयाँ पत्रिका दैनिकमा खबर छ

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र