शुक्रबार, फाल्गुन २७, २०७३
- दीपेन्द्र खड्का
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी ग्रीनकार्ड खल्तिमा बोकेर हिड्ने व्यक्तीलाई नै संस्कृति पर्यटन तथा नागरिक मन्त्री बनाएका छन् । राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरीलाई दाहालले बिहिबार सपथ दिलाएर मन्त्रिपरिषद्मा सामेल गरेका हुन ।
पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशी पीआर र ग्रीनकार्डधारी कर्मचारीहरुलाई निजामति सेवाबाट बर्खास्त गर्नेगरी कानुन नै ल्याएपनि प्रधानमन्त्री दाहालले मन्त्रालयको नेतृत्व गर्ने मन्त्रिका रुपमा अमेरिकी ग्रीनकार्डधारी गिरीलाई रोजेका हुन ।
अझ रमाईलो त के छ भने गिरीले विगतमा चलेको दश वर्षे माओवादी द्धन्द्धका क्रममा आफु र परिवारको ज्यान खतरामा परेको भन्दै नेपाल स्थित अमेरिकी राजदुतलाई गुहारेर भिजा पाएका थिए । सोही युद्धको नेतृत्व गरेका दाहालले देशै छोडेर हिडेका भुतपुर्व नेपालीलाई मन्त्रि बनाएर कुर्सी सुम्पिएका छन् ।
संखुवासभा स्थायी घर भएका गिरी लामो समय अमेरिका बसेर नेपाल फर्किएका व्यक्ती हुन । स्रोतका अनुसार उनले नेपाली नागरिकता त्यागेर अमेरिकी ग्रीनकार्ड लिएका थिए । उनको सम्पुर्ण परिवार अहिले अमेरिकामै बसिरहेको छ । बेला बेलामा सुटुक्क अमेरिका पुगेर ग्रीनकार्ड नविकरण गराउँदै आएका गिरीले शान्ति प्रक्रियापछी दोश्रो पटक नेपाली नागरिकता लिएका थिए । राजनीति गर्नकै लागि नेपाल आएका उनी २०७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समाननुपातिक तर्फबाट सभासद बनेका थिए ।
तर गिरीले भने पहिले लिएको ग्रीनकार्ड त्यागिसक्दा समेत आफुलाई बद्नाम गर्न पार्टीभित्रैबाट हल्ला फिजाईएको दावी गरे । उनले भने, ‘अमेरिका जानु अपराध हो र ? मेरै पार्टीभित्रका साथिहरुले यस्तो हल्ला फिजाएका छन् । यसमा कुनै सत्यता छैन ।’
ग्रीनकार्डधारी गिरीलाई मन्त्री बनाएको भन्दै राप्रपामा अध्यक्ष कमल थापा, महामन्त्री सुनिलबहादुर थापाप्रति असन्तुष्टि बढेको छ ।
nepalpati.com