काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विहिबारदेखि चीन भ्रमणमा छन् । विहिबार राति ११ बजे चीन प्रस्थान गरेका प्रचण्डले चीन उड्नुअघि दुई वटा अच्चमका निर्णय गरेका छन् ।
पहिलो आईजीपी प्रकरणले मन्त्रिपरिषद बैठक बस्न नसक्दा आफ्नो चीन भ्रमणको एजेण्डा आफैले पास गरेका छन् । जबकी देशको कार्यकारी प्रमुखले मन्त्रिपरिषदबाट एजेण्डा पारित भएपछि मात्रै भ्रमण गर्ने प्रचलन रहिआएको छ ।
दोस्रो भनेको कार्यबाहक प्रधानमन्त्री नतोक्ने निर्णय । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्री तोक्ने चलन छ । वरियताक्रममा प्रधानमन्त्रीपछिको मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुपर्ने हो । तर, यसपटक उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाबिच को ठूलो भन्ने विवादले प्रधानमन्त्री पुष्पकमल दाहाल कसैलाई कार्यवाहक नतोकी चीन भ्रमणमा निस्किए ।
एमाले नेताले के भने ?
उसै पनि कुनै सन्धी सम्झौता नगर्ने र खाली समय कटाउन चीन भ्रमणमा गएको भन्दै प्रचण्डको चौतर्फी आलोचना भइरहेका बेला एमाले नेताहरुले यसलाई ‘कहि नभएको जात्रा’ भनी प्रतिक्रिया दिएका छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘बरियता बिबादले मन्त्रिपरिषदको स्वीकृति बिना प्रधानमन्त्री चीन भ्रमणमा जाँदा कार्यवाहक तोक्ने काम नि भएनछ ! अबत कही नभएको जात्रा हाडी गाउँमा किन भन्ने र ?’
दैनिक नेपाल