• Breaking News

    2.25.2017

    सेयर बजारमा अबको लगानी, यसरी बनाऔं तीन चरणमा रणनीति


    रामु खनाल 
     काठमाडौं : हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सबैको आ–आफ्नै रणनीति हुन्छ । सेयर बजारमा लगानी गर्दा पनि सबैको फरक किसिमको आफ्नै रणनीति हुनसक्छ । कतिपय लगानीकर्ताहरु कम्पनीको आधारभूत पक्षको विविध पक्षको विश्लेषण गरी आफ्नो लगानी रणनीति बनाउँछन् भने केही लगानीकर्ता सेयर बजारमा आउन सक्ने उतारचढावको  विश्लेषण गरी आफ्नो लगानी रणनीति तय गरिरहेका हुन्छन् । आखिर जसरी लगानी गरे पनि लगानीकर्ताको उदेश्य भनेको सेयरबजारबाट पर्याप्त लाभ प्राप्त गर्नु नै हो । यस लेखमा कम्पनीहरुको आधारभूत विषयको  विश्लेषणबाट भन्दा पनि अब बजारमा बढोत्तरी हुँदा कसरी लगानी रणनीति बनाउने भन्नेतर्फ केही चर्चा गरिदैँछ ।  बजार कति विन्दुसम्म माथि पुग्छ वा कतिसम्म तल झर्न सक्छ, ठ्याक्कै कसैले भन्न सक्दैन । विविध पक्षको विश्लेषण गरी अनुमान लगाउने मात्र हो । १८८१ को उच्च बिन्दुमा पुगेको नेप्से अहिले १२१८ न्यून बिन्दु हाराहारीबाट फर्किदैँछ ।

    विगतको अनुभवबाट हेर्दा पनि अब बजार बुलिस हुँदा पक्कै पनि १८०० भन्दा माथि जाने अनुमान लगाउन सकिन्छ । तर त्यो बुल कहिले आउँछ भन्ने मात्रै हो । फेरि बजार तत्कालै १८०० बिन्दु भन्दामाथि जान्छ भनेको पनि होइन । यसका लागि विविध पूर्वाधार निर्माण हुँदैछन् । सम्पूर्ण पूर्वाधार निर्माण भए पश्चात नेप्सेले नयाँ रेकर्ड कायम गर्ने प्रायः निश्चित नै छ । तर यी सबै पूर्वाधार तय हुन केही समय त अवश्य लाग्छ । यसर्थ, लगानीकर्ताले केही समय धैर्य गर्नु  आवश्यक छ । अतः यस अवधिसम्मको लागि बजारमा आउन सक्ने उतारचढावमा कसरी आफ्नो लगानी रणनीति बनाउने भन्ने चाहिँ यतिबेलाको सबै भन्दा महत्वपूर्ण पक्ष हो । यसका बारेमा केही जानकारी गराउने प्रयास यो लेखमार्फत गरिएको छ । 

    पहिलो रणनीति ( प्लान ए ) 

    नेप्से १२१८ देखि १५५० सम्मको चढाव : अहिले सेयर बजारमा अन्य बजारमा स्टक क्लियरेन्सको लागि  सेल नै लागे जस्तै विभिन्न कम्पनीको सेयर सेल नै लागेको छ । अहिलेको अवस्थामा आफ्नो लगानी औकात अनुसार जुन कम्पनीमा लगानी गरे पनि दीर्घकालमा नाफा नै हुन्छ । तर राम्रा मध्येबाट अतिराम्रो कम्पनीको छनोट गर्नु चाहिँ लगानीकर्ताको खुबीको कुरा हो । अहिलेको अवस्थामा प्लान ए अनुसार लगानी गर्नको लागि अगाडिको बूममा निकै उच्च बिन्दुमा पुगेका कम्पनीहरु र अहिले निकै तल झरिसकेका कम्पनीको छनोट पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसको कारण के हो भने उच्च बिन्दुमा पुगेको सेयर झर्दा पनि निकै चाडो झर्ने र चढ्दा पनि निकै चाडो बढ्ने गर्छ ।   

    दोस्रो  रणनीति ( प्लान बि ) 

    नेप्से १५५१ देखि १८०० सम्मको चढाव : यस अवधिमा जुन पायो त्यही कम्पनीमा लगानी गर्नु हुदैन । यस्तो बेला कम्पनी छनोटलाई पहिलो प्राथमिकता दिनुपर्छ । यस अवधिमा प्लान ए मा जस्तो सबै कम्पनीहरुको सेयर चाँडोचाँडो वृदि हुदैनन् । जुन कम्पनीहरुको राम्रो सूचना आउँछ, त्यस्तो कम्पनीको मूल्य चाँडै वृद्धि हुन्छ । प्लान बि अनुसारको अवधिमा लगानी गर्दा अर्थात १५५१ बिन्दुको हाराहारीमा सेयर किनेर  १८०० आसपास बिन्दुको हाराहारीमा सेयर बिक्री गर्नको लागि सूचनामा आधारित भई आफ्नो लगानी रणनीति बनाउनुपर्छ । अतः यस अवधिमा लगानी गर्दा कम्पनीहरुको विविध बिषयका सूचनाको खोजी गर्नुपर्छ । सूचनाहरुको संकलन अनि विश्लेषण गर्नुपर्छ ।  प्राप्त सूचनाको आधारमा कम्पनीको सेयर मूल्य वृद्धि हुने बलियो आधार भएमा मात्र प्लान बि को अबधिमा कम्पनी छनोट गरी लगानी गर्नुपर्छ ।       

    तेस्रो  रणनीति ( प्लान सि  ) 

    सूचक १८०० भन्दा माथिको चढाव : अनलाइन ट्रेडिङको व्यवस्था, ब्रोकरहरु उपत्यका बाहिर काम गर्न जानुपर्ने अवस्था, निर्वाचन हुने, आगामी दिनमा पुँजीगत खर्च बढ्ने ,बिद्यमान तरलता समस्या हट्ने, मार्जिन लेन्डिङ बढाउने, ब्याजदर घटाउने लगायतका अनेकौं सकारात्मक खबरले गर्दा बजार १८०० बिन्दु माथि जान सक्ने सहजै अनुमान गर्न सकिन्छ । तर यसका लागि आगामी केही समय कुर्नु त पर्छ नै । यस अवधिमा धेरै सर्वसाधारणको सेयर बजारसम्बन्धी चासो हुने हुँदा बजारमा धेरै थरीका कुराहरु आउँछन् । ती कुरा वा सूचना के कति सत्य हुन्, यथार्थ हुन् अनि त्यस्ता सूचनाले सेयर बजारमा के कस्तो असर पार्न सक्छ आफैं विश्लेषण गर्नु सक्नुपर्छ । यो अवधिमा लगानी गर्नु निकै जोखिमपूर्ण  हुन्छ । 

    यस अवधिमा सकभर लगानी गर्नु नै हुँदैन । यदि लगानी गर्नु नै परे उच्चदरमा बोनस सेयर, हकप्रद सेयर दिने कम्पनीमा लगानी गर्नुपर्छ, किनकी बजार पुनः घटेमा पनि कम्पनीले दिने बोनस र हकप्रद सेयरले घाटा कम गर्न सहयोग गरोस् । यो प्लान सि अवधिमा बजारमा धेरै लोभ गरी झुन्डिरहनु हुँदैन । यस अवधिमा बजारमा लामो समय रहनु भनेको आत्मघाती गोल गर्नुसरह हुन सक्छ । त्यतिबेला बजारबाट बाहिरिने उपयुक्त बिन्दुको खोजी गर्नुपर्छ । बजार गिराउने खालका नकारात्मक समाचार अनि सूचनाहरु आउन थाल्यो कि आफूसँग भएको सबै सेयर बेचेर पैसा पोको पारी बजारबाट बाहिरिंदा त्यस्तो बेला जितिने सम्भावना अधिक हुनसक्छ ।  

    अतः प्लान ए अवधिमा राम्रा मध्येबाट अतिराम्रो कम्पनीको छनोट गरी सेयरमा लगानी गरौं, प्लान बि अवधिमा सूचनामा आधारित भई आफ्नो लगानी रणनीति बनाऔं, प्लान सि अवधिमा धेरै लोभ नगरी आफूसँग भएको अधिकांश सेयर बिक्री गरेर पैसा जम्मा गरेर फेरी उपयुक्त बिन्दुको खोजी गरेर लगानी गरौं । बजारमा प्रवेश गर्दा उपयुक्त विन्दुको पहिचान गर्नुपर्छ भने बाहिरिंदा पनि त्यस्तै उचित समय पत्ता लगाउन आवश्यक हुन्छ । अबको बजार बुममा प्लान ए, प्लान बि र प्लान सि अनुसार आफ्नो लगानी रणनीति बनाई बजारमा सँधै जित्ने प्रयत्न गरौं । 

       (लेखक लगानीकर्ता एवं सेयर बजार विश्लेषक हुन् ।)

    via 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र