नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको ‘एपेन्डिस’ को सफल सल्यक्रिया भएको छ। चिकित्सकको राय बमोजिम केही समय स्वास्थ्य लाभ गर्नु पर्ने भएका कारण कप्तान खड्का भारतको आसन्न अभ्यास सत्रमा अनुपस्थित हुने छन्।
नेपाली राष्ट्रिय टोली केन्यविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियन्सिपको तयारीका लागि फागुन १३ गते नयाँ दिल्लीको नोयडा जाने कार्यक्रम रहेको छ। नोयडामा नेपालले एक साता अभ्यास खेल खेल्ने छ।
कप्तान खड्कालाई गत वर्षदेखि नै पेटसम्बन्धि समस्या थियो। शुक्रबार उनको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पेटमा सानो प्वाल पारेर सल्यक्रिया गरिएको थियो। उनी राष्ट्रिय टोली भारतमा अभ्यास सकेर फर्किएपछि टिममा सहभागी हुनेछन्।
‘प्वाल परेको उनको पेटमा मासु भरिन २–३ दिन लाग्छ। एक साताभित्र उनी मैदानमा फर्किसक्ने छन्। त्यही पनि हामीले केही दिन आराम गर्नु भनेका छौं,’ चिकित्सक प्रवीणविक्रम थापाले भने।
उनको उपचारलाई परिवार र अस्पतालले गोप्य राखेको थियो। पारसले उपचारका लागि तीन दिनअघि राष्ट्रिय टोलीको प्रशिक्षणबाट छुट्टी लिएका थिए। उनी स्वास्थ्य लाभ गरेर आइतबार घर फर्किएको अस्पतालले जनाएको छ।
‘उनलाई रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्द्राहरू मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमा गरिएको हो,’ अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल छैठाैं स्थानमा रहेकाे नेपालका लागि केन्याविरूद्धकाे जीत अावश्यक छ। प्रतियाेगिताका शिर्ष टाेलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने छन्।
(सेतोपाटी)