१ फागुन, एजेन्सी।
उत्तर कोरियाले एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। डोनाल्ड ट्रम्प सत्तामा आएपछि उत्तर कोरियाको यो पहिलो परीक्षण हो। स्थानीय समय अनुसार ७:५५ मा यो मिसाइल प्रहार गरिएको बीबीसीले जनाएको छ।
दक्षिण कोरियाका अधिकारीका अनुसार यसको दिशा पूर्वमा जापानी सागर तर्फ ५०० किलोमिटरसम्म थियो। अघिल्लो वर्ष उत्तर कोरियाले कयौं परमाणु परीक्षण गरेको थियो। उत्तर कोरिया लगातार परमाणु परीक्षण गर्दै छ। संगै आक्रमक बयान पनि दिइरहेको छ।
अमेरिकी सुरक्षा अधिकारीले समाचार एजेन्सी रियुटर्सलाई वाशिङ्गटनले उत्तर कोरियाको मिसाइल लञ्चको पुष्टि पुरा जानकारी पाएपछि गर्न सक्ने बताएको छ। दक्षिण कोरिया सरकारले राष्ट्रिय सुरक्षाबारे एक वैठक बोलाएको छ। यो बैठकमा उत्तर कोरियाको यो मिसाइल परीक्षणबारे चर्चा हुनेछ।
यो मिसाइल परीक्षणबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया नदिएपनि ट्रम्पलाई यसबारेमा जानकारी गराइएको सीएनएनले लेखेको छ।
जापान र अमेरिकाबीच भएको उच्च स्तरिय भेटवार्ता लगतै भएको यो मिसाइल परीक्षण जापानलाई उक्साउन किसिमको भएको जापानले प्रतिक्रिया दिएको छ। अहिले जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका भ्रमणमा छन्। यसैविच जापानले चीनको बेइजिङस्थित उत्तर कोरियाको दूतावासमा गई विरोध जनाएको छ।
मिसाइल परीक्षण लगतै दक्षिण कोरियाका राष्ट्रपति भने, ‘दक्षिण कोरियाको सरकार सहित अन्तराष्ट्रिय समुदाय यो परीक्षणको उचित जवाफ दिन सहकार्यमा छ।’
उत्तर कोरियाली नेता किम जोङ उनले लामो दूरीको मिसाइल परीक्षणको लागि निकै नजिक भएको जनवरीमा बताका थिए। मिसाइल परमाणु हतियार बोक्न सक्षम हुने बताइएको थियो।
अघिल्लो हप्ता अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस दक्षिण कोरियाको यात्रामा थिए। उनले दक्षिण कोरिया पुगि भनेका थिए, यदि उत्तर कोरियाले परमाणु आक्रमणको दुस्साहस गरे उसलाई गतिलो जवाफ दिइनेछ। उनले दक्षिण कोरियामा अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्ने पनि बताएका थिए।
उत्तर कोरियाले अघिल्लो वर्ष आफ्नो पाँचौ परमाणु परीक्षण गरेको थियो। उत्तर कोरियाले आफु अमेरिकासम्म प्रहार गर्न सक्षम भएको समेत बताएको थियो। सुरक्षा विशेषज्ञले भने उत्तर कोरियासंग यस्तो क्षमताको मिसाइल नभएको बताउँदै आएका छन्।
nepaliheadlines.com