जनकपुर, फागुन ११ – जनकपुरमा एक युवक आधा घाँटी रेटिएको अवस्थामा भेटिएका छन् । जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत जनकपुरको मुजेलिया सशस्त्र प्रहरी चेकपोष्ट अगाडी दिउँसो ३ बजेतिर आघा घाँटी काटिएको युवक गम्भीर फेला परेका हुन् ।
गम्भीर घाइते युवक प्रहरी चेक पोष्ट अगाडी १५ मिनेटसम्म उभिरहँदा पनि त्यहाँ उपस्थित प्रहरी मुकदर्शक भएर हेरिरहे । तर उपचारको लागि भने लगेनन् ।
महोत्तरीबाट जनकपुर फर्किरहेका द पब्लिक टुडे दैनिकका पत्रकार रामनारायण महतोले घाइते युवकलाई देखेपछि प्रहरीलाई उपचारको लागि पुर्याउन आग्रह गर्नुभयो । तर चेकपोष्टमा रहेका प्रहरीले आफू डिउटीमा रहेको र एम्बुलेन्सको लागि माथिल्लो तहमा जानकारी गराएको प्रतिक्रिया दिए ।
पत्रकार महतोले मेरो मोटरसाईकलमा नै जाउँ लिएर भन्दा नि ती प्रहरीले आफू डिउटीमा रहेको भन्दै डिउटी छाडेर नजाने जवाफ दिए । १० मिनेटसम्म पनि कोहि नआएपछि पत्रकार महतोले एक जना स्थानीय युवकलाई हात जोड्दै घाइते युवकलाई अस्पतालसम्म पुर्यान सहयोग गर्न आग्रह गरेको बताउनुभयो । त्यसपछि ती युवकको सहयोगमा पत्रकार महतोले घाइते युवकलाई मोटरसाइकलमा चढाएर जनकपुर अञ्चल अस्पताल पुर्याउनु भयो ।
पत्रकार महतोले ती घाइते युवक कसैले बचाइदेलाकी भन्ने सहारा खोज्दै त्यस स्थानमा पुगको हुन सक्ने बताउनुभयो । घाइते युवक अलि होस् मै भए पनि आधाघाँटी रेटिएको कारण केही पनि बोल्न सक्ने अवस्थामा थिएनन् । उनले कागजमै लेखेर आफ्नो नाम गौतम झा रहेको बताए । युवकले आफूलाई फिरोजसहितका केही युवकहरुले घाँटी रेटेर मार्न खोजेको कागजमा लेखेर पत्रकार महतोले बताउनुभयो । युवक जनकपुर उपमहानगरपालिका–१४ रजौलका हुन् ।
जनकपुर अञ्चल अस्पतालमा छोरालाई हेर्न पुग्नुभएकी आमा ईन्द्रकला झा छोरालाई घाँटी रेटेको सुन्ने वित्तिकै छिन छिनमै मुर्छित पर्नु भयो । परिवारका अनुसार ‘गौतम सानै हुँदा बुबा जगदीशको निधन भयो । आमाबुबाको एक मात्र छोरा हुन् गौतम हुन् । गौतमको दुई दिदी बहिनी छन् ।’
गौतमलाई जनकपुरमा उपचार सम्भव नभएपछि यति यएरको विमानबाट काठमाडौं लगिएको छ ।
युवकको घाँटी रेटिएको घटना सुन्ने वित्तिकै जनकपुर अञ्चल अस्पतालमा भिड लागेको थियो । प्रहरीको चेकपोष्ट अगाडी आधा घाँटी रेटिएको युवक गम्भीर घाइते अवस्थामा उभिरहँदा तत्कालै उपचारको लागि नलग्नुले जो कोहि पनि सुन्दा अचम्ममा पर्छन् । नागरिकको शान्ति, सुरक्षा र सेवाप्रति प्रहरी प्रशासन कति उतरदायी छन् भन्ने प्रश्न प्रहरी प्रशासनमाथि उठेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।
उज्यालो बाट