• Breaking News

    2.12.2017

    गुन्डा नाइके दावा र प्रवीणलाई हिरासतमा राख्न आदेश, छुटाउन कांग्रेसीहरू सक्रिय


    काठमाडौं, १ फागुन । काभ्रेली कुख्यात गुन्डा नाइके दावा लामा भनिने जितेन्द्र तामाङलाई जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

    दावासहित उनका सहयोगी प्रवीण खड्कापनि ५ दिन प्रहरी हिरासतमा बस्ने छन् । महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंले दावा र प्रवीणलाई युवा व्यवसायी राम गिरीलाई दरबारमार्गमा शुक्रबार राति ज्यानमार्ने उद्देश्यले सामूहिक रुपमा सांघातिक आक्रमण गरेको अदालतमा हाजिर गराएको जनाएको छ । घटनास्थलबाट प्रहरीले गुन्डा नाइके दावा र सहयोगी प्रवीणलाई शुक्रबार राति नै पक्राउ गरेको थियो ।

    गम्भीर घाइते भएका गिरीको लिखित उजुरीपछि काभ्रे घर भएका दावा लामा र कञ्चनपुर जिल्ला घर भइ हाल राजधानीमा गुन्डागर्दी गर्दै आएका प्रवीणलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराएको प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । ‘ज्यानमार्ने उद्योगमा दावा लामा भनिने जितेन्द्र तामाङ र प्रवीण खड्कालाई पुर्पक्षका लागि ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आइतबार आदेश दिएको छ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ । शान्तिसुरक्षामा खलल पुगाउने जो कोहीलाई कारबाही हुन्छ ।’

    काभ्रे जिल्लामा बुद्धचित्त संकलनका साथै ठेक्कापट्टा, जवरजस्ती असुली, चन्दा आतंक, कुटपिट, अपहरणलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको उजुरीका कारण दावालाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाहीसमेत गरिसकेको छ । तर, काभ्रेबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थबहादुर लामासहितका कांग्रेसी नेताहरूको दबाबका कारण दावाले उन्मुक्ति पाउँदै आएको पीडितहरूको गुनासो छ ।

    युवा व्यवसाय गिरीमाथि सांघातिक आक्रमण गरेर आफ्नो आतंक राजधानीमा देखाउन खोजेका दावालाई छुटाउन गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । गृहमन्त्री निधिको आडमा कांग्रेसका नेताहरूलाई दावाको मुद्दा मिलाउन शनिबार र आइतबार दिनभरि प्रहरी अधिकारीहरूलाई दबाब पुगेको स्रोतको भनाइ छ ।

    दावा र प्रवीणको सांघातिक आक्रमणपछि टाउकोमा छ वटा टाँका लागेर गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइ रहेका गिरीले दोषीलाई कानूनअनुसार कडा कारबाही गर्न मागसहित आफूले प्रहरीमा उजुरी दिएको बताए ।

    गुन्डा नाइके ‘चरी’ भनिने दिनेश अधिकारी र ‘घैँटे’ अर्थात कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि दुलाभित्र लुकेर बसेका गुन्डानाइकेहरू कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएसँगै फेरि सलबलाउन थालेका छन् ।

    एसएसपी सर्बेन्द्र खनाल अपराध महाशाखा टेकुमा रहेका बेला राजधानीका गुन्डा नाइकेहरूलाई तह लगाएर शान्तिसुरक्षा बनाउन ठूलो भूमिका खेलेका थिए । उनको सरुवासँगै दावा लामा, प्रवीण खड्का जस्ता गुन्डा नाइकेहरूको क्रियाकलापले बढ्न थालेकोमा फेरि प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ ।
    दैनिक नेपालबाट 


    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र