मोरङ, २५ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान संशोधनको प्रस्ताव जालझेल, छलछाम र षडयन्त्र पूर्वक रुपमा संसदमा ल्याएको बताउनु भएको छ ।
विराटनगरमा आज नेकपा एमाले मोरङको ८ औं जिल्ला अधिवेशन उद्धघाटन गर्दै अध्यक्ष ओलीले रोष्टम भित्र लुकेर मन्त्रीले जालझेल पूर्ण तरिकाले प्रस्ताव टेबल गरेको बताउनुभयो ।
नेकपा एमालेले संशोधन प्रश्तावलाई कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै उहाँले भन्नुभयो– ‘कुनै पनि तागतले संशोधन प्रस्ताव पारित हुँदैन ।’ नेपालको राष्ट्रिय राजनीतिको मियो एमाले भएको चर्चा गर्दै ओलीले एमालेविरुद्ध देश बाहिर र भित्र मोर्चाबन्दी गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘एमाले यस्तो शक्ति हो अहिले देश भित्रको मात्रै हैन । संसारका मै हुँ भन्ने शक्तिहरु पनि घेराबन्दी गर्न लागि परेका छन् ।’
एमाले नभएको भए अहिले विदेशी शक्तिहरुले टाउकोमा टेकी सक्ने तर्क गर्दै ओलीले भन्नुभयो– ‘देश विकास र राजनीतिको एजेन्डा बिहीन दलहरुका कारण अहिले देशमाथि चौतर्फी आक्रमण भइरहेको छ ।’ एमालेमाथि चौतर्फी हमलाको कोशिस भइरहेकाले देशभक्त र प्रगतीशिलहरुको मोर्चाबन्दी बनाउने उद्घोष ओलीले गर्नुभयो ।
उहाँले प्रचण्डलाई व्यङ्ग्य गर्दै एमाले नेतृत्वको सरकार लोट्रीमा परेको चिट्ठा जस्तो नभएको जिकिर गर्दै विकासका नयाँ आयाम थालनी गर्न सफल भएको बताउनुभयो ।
‘कांग्रेसका कारण संसदले हटाउन नसकेको लोकमानलाई सर्वोच्चले उडाइदियो’
नेपाली कांग्रेसका कारण लोकमानलाई संसदबाट हटाउन नसकिएको बताउँदै कांग्रेसले ढिलो गर्दा सर्वोच्चले उडाइदिएको ओलीले तर्क गर्नुभयो । कांग्रेस बिचारले शिथिल हुँदै गएकाले महत्वपूर्ण निर्णयहरुमा पछि पर्ने गरेको ओलीले बताउनुभयो । ‘अहिले कांग्रेस शिथिल छ, यसको कुनै बिचार र निती छैन’ ओलीले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव भिम आचार्य, योगेश भट्टराईलगायतले बोल्नु भएको थियो । एमाले जिल्ला अधिवेशन तीन दिनसम्म चल्नेछ ।