काठमाडौं, ३ माघ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सभित्रको एउटा घर अहिले सुनास छ । भीआइपीहरूको बाक्लै ओहोरदोहोर
भइरहने र रमाइलो दृश्य देखिइरहने त्यहाँको एउटा घरमा पाँच महिनायता ताल्चा लागेको छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
घरमुलीहरू प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ६ महिनायता घरमा कोही टेकेको पनि छैनन् । कसैले सफाइ गरेका पनि छैनन् । छिमेकीहरू हिजोआज कानेखुसी गर्न थालेका छन् । यी मानिसहरू यहाँ फर्केलान् कि नफर्केलान् ?
प्रसंग प्रचण्ड पुत्र प्रकाश दाहालले दुई करोड क्यासमा खरिद गरेको सुनाकोठीस्थित सिभिल होम्सले निर्माण गरेको आधुनिक बंगलाको हो ।
सगरमाथा चढेर फर्किदा बिना मगरलाई साथमा लिएर आएका प्रकाशलाई केही वर्षयता सिभिल होम्ससँग दुई करोडमा खरिद गरेको बंगलामा बस्दै आएका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएपछि प्रकाशको व्यस्तता स्वकीय सचिवका रुपमा बालुवाटारमा बढ्यो । प्रकाश बालुवाटारमा बस्न थालेलगत्तै बिना पनि छोरो लिएर त्यहीँ बस्न थालेपछि सुनाकोठीको घर रित्तो भएको हो ।
दुई करोड खर्चेर एकजना डाक्टरसँग किनेको उक्त घर दाहाल परिवारले लुकाएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरणमा त्यो घर उल्लेख गरिएको छैन ।
तर साढे दुई तले सुविधाजनक बंगलामा प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश र बुहारी बिना बस्दै आएका छन् ।