२० पुस, काठमाडौँ।
प्रधानमन्त्री, प्रहर प्रमुख, मुख्य सचिवजस्ता महत्वपूर्ण कार्यकारी पदको कुरै छाडौँ, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको , कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेज्मेन्ट गर्दो रहेछ। देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो। कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउन के-के खेल भए दुनियाँलाई थाहै छ। को-कोसंग, के-के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रममा खुल्दैछ। तर शेरबहारदुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा गर्न नसक्नुको दोषचाहीँ भारतीय खुफिया एजेन्सी ‘र’का निवर्तमान प्रमुख राजेन्दर खानलाई लगाउन थालिएको छ। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
‘यतिका महिना बितिसक्यो, मलाई किन अहिलेसम्म उपसभापति नबनाएको?’ खुमबहादुर खड्काले र्याखर्याख्ती पारेपछि देउवाले चाहिँ मजबुरी प्रकट गरेका छन्, ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ। विमल (गृहमन्त्री विमलेन्द्र निधि) लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ।’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिन।’ यस्तो जवाफ सुनेर चित्त दुखाएका खड्कालाई देउवाले नै क्षतिपूर्तिस्वरुप अर्का खड्का अर्थात पूर्णबहादुरलाई महामन्त्री मनोनीत गर्ने वचन दिएका थिए। उनको प्रष्टै आश्वासन थियो, ‘बरु तिमीले भनेकै पूर्णलाई महामन्त्री बनाइदिन्छु नि, हुन्न?’