कलेजोमा बोसो
कलेजोमा बोसो जम्नुलाई फ्याट्टी लिभर भनिन्छ । त्यसो त सामान्य मात्रामा बोसो जम्नुलाई कलेजोको समस्याका रूपमा हेरिँदैन । यो स्वाभाविक नै हो । बोसोको मात्रा १० प्रतिशतभन्दा बढी भयो भने मात्रै कलेजोमा बोसो जमेको अर्थात् फ्याट्टी लिभर मानिन्छ ।
फ्याट्टी लिभरको समस्या अधिकांश रक्सी सेवन गर्नेलाई हुन्छ । यसरी रक्सी सेवन गरेको धेरै वर्षपछि मात्रै समस्या देखिन्छ । त्यसो त रक्सी सेवन गर्ने सबैलाई समस्या नहुन पनि सक्छ । रक्सीबाहेकका कारण पनि कलेजोमा बोसो जम्न सक्छ । यो वयस्क उमेरमा बढी देखिन्छ । तौल बढी भएका, मधुमेहरोगी, रगतमा बढी कोलेस्ट्रोल, भाइरल हेपाटाइटिस, मेटाबोलिक रोगहरू, अटो इम्युन रोगहरू, कुपोषण, अप्राकृतिक रूपमा तौल घटाउनु, उच्च रक्तचाप, र स्टोरोइज, एस्पिरिन, एमिडियाडोरोनजस्ता औषधिको सेवनका कारण पनि फ्याट्टी लिभर हुने गर्छ । पुरुषभन्दा महिलामा बढी देखिने यो समस्या गर्भवतीमा भने कम देखिन्छ । तर, गर्भवतीलाई फ्याट्टी लिभर भएमा बच्चा र आमा दुवैका लागि खतरनाक हुन्छ ।
यस्ता लक्षण
कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, तौल घट्ने, दाहिने कोखामुनि दुख्ने, छालामा रातो माकुराजस्तो नसा छालामुनि देखिने, अण्डकोष सुक्नेजस्ता सुरुवाती लक्षण देखिन्छन् । बोसो धेरै नै जमेमा कलेजो बिग्रिँदै गएर स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुने, पेट र गोडा सुन्निने, बाँझोपन र नपुंसक हुने, मुख र शरीरका अन्य भागबाट रगत आउने, शरीर सुक्दै जानेजस्ता लक्षण देखिन्छन् ।
उपचार
लक्षणका आधारमा बिरामी र बिरामीका आफन्तसँग परामर्श तथा प्रश्न गरेर फ्याट्टी लिभरबारे अनुमान लगाउन सकिन्छ । प्रयोगशाला परीक्षण आवश्यक पर्छ । सिबिसी, लिभर फङ्सन टेस्ट, अल्ट्रासाउन्ड, पेटको सिटी स्क्यान, होपाटाइटिस बी र सी, आइरन प्रोफाइल, लिपिड प्रोफाइल, बायोप्सीलगायत परीक्षण पनि आवश्यक पर्छ । परीक्षणबाट पुष्टि भएपछि कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सक्ने आधारहरू छन् । तर, बिरामीले खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । बोसोको मात्रा धेरै नै बढ्यो भने सामान्य अवस्थामा फर्काउन जटिल हुन सक्छ । फ्याट्टी लिभरकै कारण सिरोसिस हुन सक्छ ।
रक्सी सेवन गर्ने व्यक्ति हो भने पूर्ण बन्द गर्नुपर्छ । रक्सी छाडेको दुई–तीन सातामा कलेजोमा जम्मा भएको बोसो सामान्य अवस्थामा आउँछ । दिनहुँ व्यायाम गर्ने, ताजा र पोषिलो खाना खाने, मोटोपन भए हप्तामा एक पाउन्डका दरले मात्रै घटाउने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलजस्ता समस्या भए नियन्त्रणमा राख्ने, डाक्टरको सल्लाहबाहेक औषधि नखानेजस्ता नियम पालना गर्नुपर्छ ।
डा. विवेक शर्मा
कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट
ग्रान्डी अस्पताल, काठमाडौं
http://www.enayapatrika.com/2016/12/116028#sthash.A4Ba2RrZ.dpuf