बलिवुडमा सफलताको पर्याय बनेका आमिर खानको भर्खरै रिलिज भएको फिल्म दंगल यस बर्षको सबै भन्दा सफल फिल्म त बनेको छ नै बुधबारसम्म फिल्मले भारतीय बक्स अफिसमा एक सय असि करोडको व्यापार पनि गरिसकेको छ ।
यस वर्षको सफल फिल्म दंगललाई बलिवुड कै एक चर्चित निर्देशकले पुरै हलको टिकट किनेर हेरेको बताइएको छ । बलिवुडका चर्चित निर्देशक, निर्माता राकेश रोशनले एउटा फिल्म हलको सबै टिकट किनेर आफ्नो ड्राइभरसँग दंगल हेरेको भारतीय संचार मध्यमहरुले जनाएका छन् । फिल्म हेरे पछि राकेश रोशनले सामजिक सञ्जाल मार्फत आमिर खानको तारिफ गर्दै आफुले अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गरेका छन् ।
राकेश रोशनको नयाँ फिल्म काबिल आगामी जनवरी २५ मा रिलिज हुँदै छ । उनकै छोरा ऋतिक रोशन र यमी गौतमको प्रमुख भूमिका रहेको काबिलमा उनीहरु दुबैले अन्धाको भूमिकामा अभिनय गरेको बताइएको छ । फिल्म बलिवुडका किंग शाहरुख खानको फिल्म रइस सँगै प्रदर्शन हुने भएकोले पनि अत्यधिक चर्चामा रहेको छ ।