• Breaking News

    12.23.2016

    एमालेलाई देखेर मलाई दया लाग्छ : प्रधानमन्त्री दाहाल



    शनिबार, पुस ९, २०७३
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले केही दिनभित्र कठोर निर्णय लिने बताएका छन् । शुक्रबार सुरु भएको नवौँ गोरखा महोत्सवको उद्घाटन गर्दै उनले मुलक अनिर्णयको बन्दी हुन नसक्ने बताएउनुभयो । ‘सकेसम्म सबैलाई मिलाएर लैजाने हाम्रो चाहना हो, कसैले मेरो गोरुको बाहै्र टक्का गरेर बस्छ भने त्यसलाई हेरेर बस्न सकिन्न, सरकारले कठोर निर्णय लिन्छ । ’

    संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिहं कार्कीविरुद्ध अविश्वासको प्रस्तावलगायत कुरामा अहिले दलहरू एक ठाउँमा आउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । अन्यथा सरकारले प्रक्रियाको बाटो समाउन बाध्य हुने उनले बताए । ‘सरकार अहिले देखिएका सबै समस्या प्याकेजमा टुङ्ग्याएर बृहत् राजनीतिक एकता कायम राखी अगाडि बढ्ने तयारीमा छ’, नेकपा एमालेतिर सङ्केत गर्दै उनले भने, ‘कसैलाई सरकारले गरेको राम्रा कामको पनि विरोध गरिहनुपर्नेछ भने त्यसमा हामीलाई भन्नु केही छैन । ’

    वर्तमान सरकारलाई अनौठो सरकार भनेर प्रतिपक्षीले आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्री दाहालले कटाक्ष गर्दै भने, ‘यो सरकार हिमालदेखि तराईसम्म सबैलाई मिलाएर जाऊँ भन्छ, अधिकार नपाएकाहरूलाई दिऊँ भन्छ, लोडसेडिङ हटाऊँ भन्छ, समयमै निर्वाचन गरौँ भन्छ, प्रतिपक्षीलाई त सरकारको काम अनौठो लाग्नु स्वाभाविक हो ।’

    त्यसअघि गोरखाको दरौदी नदीमा निर्माण सम्पन्न भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उनले हेपिएका थारू, मधेसीलाई पाखामा राखेर अहिलेको अवस्थामा संविधान कार्यान्यवन हुन नसक्ने बताए । एमाले नेतृत्वको सरकारले अगाडि सारेको संविधान संशोधनको प्रस्तावलाई अक्षरशः आफूले अगाडि सार्दा पनि स्वयम् एमालेबाटै विरोध भएको भन्दै उहाँले प्रतिपक्षीले सरकारको प्रगति नचाहेको आरोप लगाए । उनले भने, ‘तराईका जिल्लालाई समेटेर ५ नम्बर प्रदेश बनाउने प्रस्ताव केपीजीकै हो, उहाँ नै आज आफ्नो प्रस्तावको विपक्षमा उभिनुभएको छ, मैले कुरा बुझ्न सकिराखेको छैन ।’

    मुलुकसामु अहिले संविधान संशोधनको विकल्प नभएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘जनतासामु थुप्रै अपेक्षा छन्, अहिलेको गतिरोध चिरेर स्थानीय निकायको निर्वाचन समयमै गर्नु छ, जनता विकास र समृद्धिको पर्खाइमा छन्, यस्तो बेला सरकार हात बाँधेर बस्न सक्दैन ।’ एमालेले विरोधका निम्ति विरोध मात्र गरेको र त्यसले एमालेलाई नै घाटा लाग्ने प्रधानमन्त्रीको तर्क छ । उनले भने, ‘उहाँहरूलाई देखेर मलाई दया लाग्छ, वास्तविकता जनताले राम्रेरी बुझेका छन् ।’ गोरखापत्र दैनिकमा  खबर प्रकाशित भएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र