• Breaking News

    7.13.2016

    सरकार परिवर्तनबारे बोल्यो नयाँ शक्ति, कार्यकारी राष्ट्रपतिको माग

    काठमाडौं, २९ असार । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले सरकार परिवर्तनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
    उसले सरकार परिवर्तनको खेल आम जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताएको छ ।
    प्रवक्ता खिमलाल देवकोटाले बुधबार एक विज्ञप्ति जारी गरी सरकार परिवर्तनको खेल नयाँ संविधानको असफल संसदीय प्रणालीको परिणाम भन्दै कार्यकारी राष्ट्रपतिको माग गरेका छन् ।
    विज्ञप्तिमा भनिएको छ– ‘नयाँ शक्ति पार्टीले उठाउँदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुनः पुष्टि भएको छ ।’
    यस्तो छ विज्ञप्तिः
    हालै विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्थायित्व र विकासको प्रस्थानविन्दू हुने ठानिएको नयाँ संविधान जारी भएपछि पनि निरर्थक सरकार गठन र विघटनको श्रृंखलाको अन्त्य हुन सकेन ।
    संविधानको कार्यान्वयनका लागि मधेस, थारु, जनजातिलगायतका मागहरुको सम्बोधन गर्न नसक्नु, भूकम्पपीडितहरुप्रति संवेदनहिनता प्रदर्शन गर्नु, कालाबजारी, महंगी र अभावलाई नियन्त्रण गर्न नसक्नु र भूराजनीतिक अवस्थितिका आधारमा अन्तराष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्न नसक्नु जस्ता कारणले सरकार आफैंमा असफल छँदै थियो, त्यसमाथि सत्तारुढ गठबन्धनभित्रै बेमेल बढ्नुको परिणाम ओली सरकार संकटमा पर्नु र कांग्रेस माओवादी गठबन्धनको सरकार बन्ने अवस्था देखिएको छ ।
    मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेका कारण आम जनताका निम्ति यो परिघटना कागलाई बेल पाक्यो हर्ष न विस्मातबाहेक केही भएको छैन । जतिसुकै नयाँ गठबन्धन बने पनि जनताका सरोकार समाधान हुने परपर्दो आधार देखाउन सकेका छैनन् । अस्थिरताको यो अवस्था नयाँ संविधानमा अवलम्बन गरिएको असफलसिद्ध संसदीय प्रणालीको ताजा परिणाम नै हो भन्ने हाम्रो निष्कर्ष छ ।
    यो निष्कर्षले नयाँ शक्ति पार्टीले उठाउँदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुनः पुष्टि भएको छ । राजनीतिक संक्रमणको यो गम्भीर मोडमा नेपाली राजनीतिको स्थायित्व र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, संविधानको स्वीकार्यतासहित जनताका पक्षमा संविधानको प्रभावकारी कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताले भोगेका दैनिक जीवनका समस्याको समाधानको दिशामा केन्द्रित हुन सम्बन्धित पक्ष सरोकारवाला र आम जनसमुदायमा नयाँ शक्ति नेपाल हार्दिक अपिल गर्दछ ।
    खिमलाल देवकोटा
    प्रवक्ता

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र