• Breaking News

    6.18.2016

    अब केरुङदेखि लुम्बिनी जोड्ने रेलमार्गको काम सुरु : प्रधानमन्त्री अोली



    वैशाख १, २०७३- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्माण हुने पक्का भएको छ । विमानस्थलका लागि प्रस्तावित जग्गामा बुधबार भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

    शिलान्यस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब चीनको केरुङबाट काठमाडौं पोखरा हुँदै लुम्बिनी पुग्ने रेलमार्गको काम पनि सुरु हुने बताए । उनले 'तराईका नेता र मै हुँ भन्ने मसिहाहरुले कालो टालो समाउन छोडेर राष्ट्रिय झन्डा बोकेर विकास निर्माणका काममा अघि बढ्नु पर्ने' पनि बताए ।

    साथमा उपस्थित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरू कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्द्रप्रसाद पोखरेल र कांग्रेस महामन्त्री सशांक कोइरालाले पनि निर्माणस्थलमा एक/एकवटा इँटा राखेका थिए ।

    नयाँ वर्ष २०७३ को पहिलो दिन पारेर आयोजित शिलान्यास समारोहमा उल्लेख्य संख्यामा नगरवासी सहभागी भए । पश्चिममा अमरसिंह चोक र पूर्वमा चाउथे चोकदेखि नै स्वागतद्वार बनाइएको कार्यक्रम हेर्न जानेहरू जातीय पहिरन, झाँकी र बाजागाजा साथ पुगेका थिए ।

    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७३ नयाँ वर्ष विकास निर्माणको अभियानबाट सुरु भएको बताए । भूकम्पपछिको पुनर्निर्माण, विकास निर्माण र समग्रमा संविधानको कार्यान्वयन हुनुपर्ने उनले बताए । एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तावित ४ नम्बर प्रदेश नयाँ युगमा प्रवेश गरेको बताए ।

    फोरम लोकतान्त्रिकका नेता एवं उपप्रधानमन्त्री विजय गच्छदारले एक मधेस एक प्रदेस हुन नसक्ने जिकिर गरे । सबै राजनीतिक शक्तिहरु एक ठाउँमा आएर देशको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ४० वर्षपछि पोखरेलीको सपना साकार भएको भन्दै बधाई दिए ।

    कांग्रेस महामन्त्री शशांक कोइरालाले ठूला योजनामा राजनीतिकरण गर्न नहुने बताए । कांग्रेस रचनात्मक प्रतिपक्ष भएर विकास निर्माणमा सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो ।

    यस्तो बन्नेछ विमानस्थल
    पोखरा विमानस्थललाई सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको छ । चीनको एक्जिम बैंकले करिब २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएपछि निर्माणको काम अघि बढ्न लागेको हो । प्रधानमन्त्री ओलीको हालै भएको चीन भ्रमणमा दुई देशबीच ऋण सम्झौता भएको थियो ।

    ४ वर्षमा निर्माण सकिने विमानस्थलको निर्माणमा चीनकै सिएएमसी कम्पनी छनोट भइसकेको छ । इपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४डी’ बिमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण गर्न र उड्न सक्छन् । विमानस्थलको धावन मार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाईको हुनेछ ।

    सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुग्ने भएपछि हालैमात्र ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र