बैतडी, ५ असार - बैतडीमा आइतबार बिहान बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा बैतडी रिमका ६० वर्षीय भोजराज जोशी र दार्चुला अपि नगरपालिकाका २८ वर्षीया चन्द्रा धामी रहेका छन्।
जोशीको टाउको र खुट्टामा र धामीको टाउको र मुखमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि कैलाली पठाइएको छ ।
महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको महाकाली यातायातको ना५ख ४५६५ नंको बस बैतडीको पाटन नगरपालिका–७ ठाडमा दुर्घटनामा परेको थियो। बिहान ३:४५ बजेतिर दुर्घटनामा परेको बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले बताएको छ । बस चालक कञ्चनपुर झलारी पिपलाडी नगरपालिकाका ३२ वर्षीय भरत भट्ट प्रहरी नियन्त्रणमा रहेका छन् ।
चालक निदाएकाले बस दुर्घटनामा परेको बताइएको छ। बसमा १७ जना यात्रु सवार रहेका बताइएको छ । अन्य सामान्य घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य यात्रु सकुशल रहेका छन्। रासस
No comments:
Post a Comment