पटकपटक ताकेता गर्दा र राष्ट्रपतिको कार्यालयले पूर्व राष्ट्रपतिको आवासको भाडा तत्काल दिने भनिए पनि सो कार्यान्वयन नभएपछि घरबेटीले मुद्दा हालेका छन् ।
ललितपुर बागडोलका रविभक्त बिष्टले आफ्नो घरमा डेरामा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा रामवरण यादवलाई अन्यत्र सारिदिन सरकारका नाममा आदेश जारी गर्न माग गर्दै ललितपुर जिल्ला अदालतमा निवेदन दायर गरेका हुन् ।
बिष्टले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई दायर गरेको निवेदनमा सरकारबाट हालसम्मको बहाल भराई आफ्नो घर खाली गराइदिन माग गरेका छन् ।
विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयले कात्तिक १२ मा बागडोलस्थित बिष्टको घर मासिक १ लाख ३० हजार रुपैयाँमा भाडामा लिई पूर्वराष्ट्रपति रामवरण यादवलाई सरकारी निवासका रूपमा उपलब्ध गराएको थियो ।
बिष्टले कात्तिकदेखि हालसम्मको घरभाडा, बत्ती, पानीलगायतको रकम सरकारबाट नपाएको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्ले चैत २६ मा पूर्वराष्ट्रपति यादव बस्दै आएको घरको भाडा, विद्युत् र खानेपानीको महसुललगायत रकम राष्ट्रपति कार्यालयमार्फत भुक्तानी गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति कार्यालयले भने घर भाडामा लिँदा गरेको सम्झौतापत्र ल्याएमात्र भाडा तिर्ने भनेर अहिलेसम्म भुक्तानी नदिएको घर मालिकले उल्लेख गरेका छन् । उहाँका अनुसार राष्ट्रपति कार्यालयले घर भाडामा लिँदा कुनै सम्झौता गरेको थिएन ।
No comments:
Post a Comment