चीनतर्फ अप्टिकल फाइबर जडानको काम सम्पन्न भएसँगै असार महिनाभित्रै चाइना टेलिकमसँग इन्टरनेट सेवा खरिद सम्झौता हुने भएको छ। सो कम्पनीसँग हाल व्यापारिक सम्झौताका लागि प्रक्रिया अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीका अनुसार चाइना टेलिकमसँग सेवा खरिदका लागि टेलिकमले आफ्नो प्रस्ताव पठाइसकेको छ। ‘के कस्तो सेवा किन्ने, कहाँबाट किन्ने भन्ने विषयमा हामीले प्रस्ताव पठाएका छौँ,’ सेतोपाटीसितको कुराकानीमा अधिकारीले भने, ‘अन्तिम प्रस्ताव तयार भएपछि असारभित्रै व्यापारिक सम्झौता गर्नेछौँ।’
आवश्यक उपकरण दुवै राष्ट्रतर्फ पूर्ण रुपमा जडान भई सेवाको परीक्षण पनि भइसकेको उनले जानकारी दिए। चीनसँग अप्टिकल फाइबर जडान भएसँगै एकपक्षीय परनिर्भताबाट मुक्ति मिल्नेछ।
साथै सेवा प्रदायक कम्पनीले विकल्प पनि रोज्न पाउने छन्। ‘एकपक्षीय परनिर्भतामा हामीसँग थप कुनै विकल्प हुँदैन।’ अधिकारीले भने, ‘तर चीनसँग सम्झौता भएपछि हामीलाई कुनै देशसँग भर पर्नु पर्ने बाध्यता हुँदैन।’
व्यापारिक सम्झौतापछि इन्टरनेट सेवाको बजार प्रतिस्पर्धी हुने र गुणस्तरियतामा पनि सुधार आउने अपेक्षा गरिएको छ। ‘अब बजारमा कसले गुणस्तरीय सेवा उपलब्ध गराउने भन्ने विषयमा प्रतिस्पर्धा हुन्छ र यसको फाइदा हामीलाई नै हो’ अधिकारीले भने।
पूर्वी एसियाको इन्टरनेटमा सबैभन्दा ठूलो ग्लोबल ट्राफिक हङकङ हो। अब यसलाई ग्लोबल ‘आईपी’ ट्रान्जिटका रुपमा पनि लिन सकिन्छ। भारतको चेन्नइ हुँदै नेपालमा इन्टरनेट ल्याइँदै आएको छ। तर चीनसँग अप्टिकल फाइबर जोडिएपछि हङकङ पुग्ने बाटो छोटो पर्ने छ। यसले गर्दा दुरी घट्छ र ‘लेटेन्सी’ पनि कम हुन्छ। जति ‘लेटेन्सी’ घट्छ त्यति नै इन्टरनेटको गुणस्तर र स्पीडमा पनि बृद्धि हुन्छ।
सुरुमा इन्टरनेट सेवा मात्र किन्ने योजना भएपनि पछि गुणस्तर बढाउन र एकपक्षीय परनिर्भरता हटाउन पनि अप्टिकल फाइबर जडान कार्य गर्ने निर्णय भई सोअनुसार अघि बढेको अधिकारीले बत
अप्टिकल फाइबर जोडिएपछि इन्टरनेटको शुल्क के कस्तो हुन्छ भन्ने विषयमा भने अहिले जानकारी नहुने उनले बताए। ‘अहिले नै शूल्क बढ्छ वा घट्छ भन्ने विषयमा केही भन्न सकिँदैन’ उनले भने ‘चीनबाट व्यापारिक सम्झौताको अन्तिम दस्तावेज आएपछि यस कुराको टुङ्गो लाग्छ।’
सम्झौतापछि बजारमा प्रतिस्पर्धी कम्पनी हुने भएका कारण शुल्कमा केही कमी आउन सक्ने टेलिकमको अनुमान छ। इक्युपमेन्ट टेस्ट, कन्टिन्युटी टेस्ट, सर्भिस लेभल टेस्ट, केबल क्यापासिटी टेस्ट र फाइबर टेस्ट सबै भइसकेको र सेवा उपलब्ध गराउनका लागि अन्तिम सम्झौताको पर्खाइमा रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिए।
गत जेठ महिनामा चीनतर्फको अप्टिकल फाइबर जडान कार्य सम्पन्न भएको थियो। धादिङको गल्छी, रसुवाको धुन्चे हुँदै केरुङ नाकासम्म अप्टिकल फाइबर जडान गरिएको हो। ‘तातोेपानी नाकामा पहिलेदेखि हाम्रो सेवा थियो,’ सह प्रवक्ता अधिकारीले भने, ‘पहिरो र भूकम्पले सेवामा अवरोध पारेपछि हामीले नयाँ जडान कार्य सम्पन्न गरिसकेका छौँ।’
No comments:
Post a Comment