• Breaking News

    6.11.2016

    कलाकार राजाराम पौडेल अष्ट्रेलियामा अवैधानिक हुने खतरा

    हाँस्य कलाकार राजाराम पौडेल अष्ट्रेलियाबाट निकाला हुने स्थिति देखिएको छ । आफ्नो छोराको पारिवारिक काममा अष्ट्रेलियाको सिड्नी आएका उनी काम गर्न थालेपछि उनी अवैधानिक हुने खतरा बढेको हो । अष्ट्रेलिया नियम र कानूनको मामिलामा कठोर देश मानिन्छ । अझ भिजिट भिसामा आउने र काम गर्दै कमाउ धन्दामा लाग्नेहरुको लागि भने यो देशले अत्यन्तै कठोर नियम बनाएको छ । यस अन्तर्गत उनी स्थानीय कार्यक्रम आयोजकहरुबाट मोटो रकम लिएर काम गरेको प्रमाण फेला पारेका कारण उनी यतिबेला खतराको सूचिमा रहेका हुन् । नेपालबाट सबैभन्दा बढी कलाकार भ्रमणमा जाने देश अष्ट्रेलियामा राजाराम पौडेलको यो हर्कतपछि कलाकारहरुलाई नै भिसा लाग्ने दरमा समेत कमी आउने अनुमान गर्छन् त्यहाँका माईग्रेशन एजेन्टहरु । पछिल्लो समयमा उनले तनहुँ समाजको कार्यक्रममा पारिश्रमिक लिएको खुलेको थियो भने यस विषयमा हल्लाखल्ला भएपछि उनले नेप्लीज एशोसिएसनको कार्यक्रममा भने पारिश्रमिकको रुपमा मोबाइल र अन्य गिफ्ट मागेको बुझिएको छ । के हुन्छ त उनले यसरी काम गरे भने ? अष्ट्रेलियामा कुनै कलाकारले आफ्नो परफर्मेन्स देखाउनका लागि ईन्टरटेन्मेन्ट भिसा नै हुने भएका कारण अभिभावक भिसामा आएकाहरुले काम गर्नु गैरकानूनी हुने बताउनुहुन्छ नेपाली माइग्रेशन एजेन्टहरुको संस्था एक्काका अध्यक्ष विवेक थापा । एमएनटीभीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “यहाँ छोरा नातिलाई भेट्न आउने अभिभावकहरुको वर्क राईट हुँदैन । माग नै गरेपछि अति विशिष्ठ मुद्दामा मात्रै अष्ट्रेलियाले काम गर्ने अनुमति दिन्छ । यदि काम गरेको प्रमाण भेट्यो भने उसको भिसा तत्कालै खारेज हुन्छ । यो छोराछोरीलाई पनि गाह्रो हुन्छ भिसा रिन्यू गर्दा । यस्ता बाबुआमाका छोराछोरीलाई तिमीहरु जेन्यून होइनौ भनेर भिसा थप नहुने खतरा रहन्छ । गैरकानूनी रुपमा का गर्नु चाहीँ डेन्जर नै हुन्छ ।”

    नेपाली समूदायलाई बदनाम गराउने खतरा

    यसै विषयमा हामीले एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालसँग कुराकानी गरेका थियौं । नेपाली टाईम्स अष्ट्रेलियाका प्रकाशक समेत रहनुभएका लम्सालले भन्नुभयो, “यतिबेला अभिभावक भिसामा आउने तर, पैसा लिएर काम गर्नेगरेको, पत्रकार भिजिट भिसामा आउने र रकम लिएर काम गर्ने गरेको गुनासो हामीले पनि सुनेका छौं । हामी यो कुराको हामी विरोध गर्दछौं । विरोधले मात्र हुँदैन यसले समग्र नेपाली समूदायको विषयमा दाग लाग्छ । भोलि जेन्युन रुपमा नै काम गर्नेहरुले काम गर्न पाउँदैनन् । यदि कसैले यस्तो गलत काम गरेको छ भने त्यस्तो बाहिर ल्याउनुपर्दछ । उदाहरणका लागि म के भन्छु भने, एड्स कसैलाई लागेको छ भने त्यसलाई लुकाएर उपचार गरेको अवस्थामा त्यो मान्छे दुई वर्षमा मर्छ भने मलाई रोग लागेको छ नै भनेर उपचार गर्यो भने खुल्लम खुल्ला आयो भने ऊ धेरै वर्ष बाँच्न सक्छ । अष्ट्रेलिया सरकारले नेपाली अभिभावकहरुको सवालमा भिसा दिन निकै नै सजिलो बनाएको छ । तर, यसको दुरुपयोग गर्ने क्रम बढ्यो भने यो खतरनाक हुनसक्छ । एक दुईजनाको फाइदाको लागि नेपाल र नेपालीको छविलाई कालो बनाउने अधिकार कसैलाई छैन । यो काम तत्कालै रोक्नु पर्दछ भन्ने मेरो भनाई हो ।”
    यसैबीच, अभिभावकहरुले गैरकानूनी रुपमा काम गर्ने विषयमा हामीले एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीलाई पनि जिज्ञासा राखेका थियौं । उहाँले भन्नुभयो, “मेरो भनाईमा हेर्दा जोसुकै नेपाली एज स्टुडेन्ट अथवा प्यारेन्टस जेसुकै भएपनि अष्ट्रेलियामा टेकेपछि यहाँको नीति र नियमलाई मान्नै पर्छ । यो देशको नीति नियम विरुद्ध गरिने कामले पक्कै समस्या ल्याउँछ । केहीलाई त यस्तो विषय थाहा नहुन पनि सक्छ । मेरो २० वर्षको अष्ट्रेलिया बसाईको अनुभवमा अष्ट्रेलियाको सम्बन्धित निकायहरुले यो कुरा थाहा नपाउँदासम्म तपाईं सुरक्षित रहने हो तर यदि थाहा भयो भने व्यक्तिसँगै पूरै समूदाय पनि बदनाम हुन्छ । हामी नेपालीमा भैहाल्छ, चलिहाल्छ भन्ने र हल्का रुपमा लिने प्रवृत्ति छ । यो शायद प्रवृत्ति पनि होला । तर, मेरो विचारमा यो निकै गम्भीर कुरा हो । यहाँ भएका हामीले यस्ता व्यक्तिहरुलाई जानकारी गराइदिनुपर्छ । भ्रमण भिसामा आउने र काममा संलग्न हुने, अभिभावक भिसामा आएर पैसा लिएर काम गर्ने कार्य यदि कुनै पत्रकार, कलाकार र अभिभावकहरुले गरेका छन् भने हामीले उनीहरुलाई यो खतराबारे अवगत गराउनुपर्छ । ”
    केही समय अघिदेखि अष्ट्रेलियाका विभिन्न शहरहरुमा आफ्नो युट्युबमा आइसकेको  बासी प्रस्तुति दिँदै हिंडेका कलाकार राजाराम पौडेल यस्तो अवस्था देखिएपछि अहिले गिफ्ट लिएर कार्यक्रमहरु गर्ने र पारिश्रमिक नलिएको देखाउन अरु कसैका नाममा पैसा दिइदिनुस् भन्न थालेका छन् । उनको यस्तो क्रियाकलापले अमेरिकामा पनि अवैधानिक हुने खतराकाबीच नेपाल फर्किएका उनी अष्ट्रेलियामा ब्ल्याक लिष्टमा पर्ने र अवैधानिक घोषित हुने खतरा बढेको छ ।

    mntv.com.

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र