बुधबार, जेठ १२,
काठमाण्डाै / ( फाइल तस्विर ) साउदी अरेबियाले चीनको बेइजिङस्थित नेपाली दूतावासको आवासगृह निर्माणमा अवरोध गरेको छ । चीनका लागि तत्कालिन राजदूत टंक कार्कीको अग्रसरतामा ५ वर्षअघि दूतावासकै खाली जग्गामा आवासगृह निर्माणको प्रक्रिया सुरु भएको थियो । तर, सुरक्षाको कारण देखाउँदै सँगै रहेको साउदी दूतावासले आवासगृह बनाउन नदिएको हो ।
चीनको कानूनमा भवन निर्माणअघि छिमेकीको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बेइजिङको साल्निथुन क्षेत्रमा रहेको नेपाली दूतावासको कम्पाउण्डसँगै साउदी दूतावास छ । सोही क्षेत्रमा जर्मन, इरान, पाकिस्तान, मेक्सिको र अफ्रिकन मुलुकका दूतावास लहरै छन् ।
चीनका लागि कार्यबाहक नेपाली राजदूत निर्मल काफ्लेले साउदीको अवरोधले आवशगृह निर्माण योजना अलपत्र परेको काठमाण्डु टुडेलाई बताए । ‘यहाँको स्थानीय कानूनअनुसार भवन निर्माणअघि छिमेकीको स्वीकृति लिनुपर्ने रहेछ’, काफ्लेले भने, ‘साउदीले सुरक्षाको कारण देखाएर स्वीकृति दिन मानेन ।’
किन चाहिएको थियो आवासगृह ?
चिनियाँ दूतावास १ हेक्टर क्षेत्रफलमा छ । बैठक कक्षसहित १४ कोठे दूतावास भवनबाहेक झण्डै आधा जमिन खाली छ । नेपाल सरकारको स्वामित्वमा रहेको सोही जमिनको सदुपयोग गरेर राजदूत र कर्मचारीका लागि आवासगृह बनाउन खोजिएको थियो । आवासगृह अभावमा हाल सरकारले राजदूत र कर्मचारी बस्नका लागि बेइजिङमा महंगो घर भाडा तिर्दै आएको छ । मासिक दुई लाखभन्दा बढी आवास भाडा तिर्ने गरिएको कार्यबाहक राजदूत काफ्लेले बताए ।
के भन्छन् पूर्वराजदूत कार्की ?
आवास गृह निर्माणको योजना थालेका तत्कालिन राजदूत कार्कीले चर वर्षको घर भाडा बापतको रकमले आफ्नै आवास गृह बन्ने देखेपछि राज्यलाई समेत आर्थिक भार कम गराउने उद्देश्यका साथ आवासगृह बनाउने योजना बनेको बताउँछन् । एक स्थानीय ठेकेदार कम्पनीसँग किस्ताबन्दीमा चार वर्षमा चुक्ता गर्ने गरी भवन निर्माण सम्झौता भएको उनले जनाए ।
‘लोकल कन्ट्रयाक्टरले ४ वर्षमा किस्तामा चुक्ता गर्ने गरी करिब सात करोडमा आवास गृह बनाइदिन सहमति जनाइसकेको थियो’, उनले भने, ‘साउदी दूतावासले आफ्नोतर्फ झ्याल ढोका राख्न अनुमति नदिएपछि काम अघि बढ्न सकेन ।’ यद्यपि आफू नेपाल फर्कने बेलासम्म तत्कालिन साउदी राजदूत सकारात्मक देखिए पनि त्यसपछि सो विषयमा नेपाली पक्षले चासो नदेखाएको उनको भनाइ थियो । ‘जग्गा हाम्रो हो, हाम्रो जग्गामा हामीले भवन बनाउन पाउनुपर्ने हो’, कार्कीले भने, ‘मेरो विचारमा साउदी सरकारसँग नेपाल सरकारले समन्वय गरेको अवस्थामा आवास गृह बन्न सक्छ ।’
नेपाली दूतावासतर्फको ढोका सँधै बन्द
साउदी दूतावासका अधिकारीले आफ्नो र दूतावासको सुरक्षालाई उच्च प्राथमिकता दिने गरेका छन् । सुरक्षाकै कारण उनीहरुले आफ्नो दूतावासको नेपाली दूतावासतर्फको झ्याल कहिल्यै खोल्ने गरेका छैनन् । ‘हामीलाई त झ्याल राख्न दिएनन् नै उनीहरु पनि हाम्रो तर्फको झ्याल कहिल्यै खोल्दैनन्’, नेपाली दूतावासका एक अधिकारीले भने, ‘उनीहरु आफ्नो सुरक्षाका बारेमा हामीभन्दा बढी गम्भीर हुने रहेछन् ।’
काठमाण्डु टुडेबाट
No comments:
Post a Comment