• Breaking News

    5.26.2016

    चालकलाई गोली हानी उद्योगपतिको अपहरण

    जेठ १४, काठमाडौं ।  हतियारधारी समूहले बाराको कलैयाबाट बिहीबार साँझ उद्योगपति तथा केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरण गरेको छ । परवानीपुरस्थित वीरगन्ज खाद्य उद्योगका सञ्चालक केडिया कलैयाको बघवन गाउँबाट बिहीबार साँझ अपहरणमा परेका हुन् ।

    अपहरणकारीले चलाएको गोली लागेर केडियाका चालक श्यामउमेशप्रसाद साह कानु गम्भीर घाइते भएका छन् । दायाँ कन्चटमा गोली लागेका उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको छ ।

    कामको सिलसिलामा बाराको बरियारपुर गएर वीरगन्जतर्फ फर्कने क्रममा कलैया नगरपालिकाको बघवन गाउँबाट केडिया अपहरणमा परेका हुन् । अपहरणकारीले साँझ साढे ६ बजे उनको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    घटनास्थल बारा सदरमुकाम कलैयाबाट तीन किलोमिटर पूर्वमा पर्छ । केडिया बा.१०च ७२४० नम्बरको टक्सन जिपमा बिहीबार दिउँसो बरियारपुरतर्फ गएका थिए । मैदा उत्पादन गर्ने वीरगन्ज खाद्य उद्योगका लागि आवश्यक गहुँ खरिद गर्न केडिया बरियारपुर जाने गरेका थिए । यसअघि केडियालाई कुनै धम्की नआएको उनीनिकट एक व्यापारीले बताए । 

    -नयाँ पत्रिका दैनिक

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र