• Breaking News

    9.08.2015

    राजसंस्था फर्किने खतरा औँल्याउँदै प्रचण्डले यसरी सम्झाए मधेसी नेतालाई

    काठमाडौ, २२ भदौ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको मधेस राष्ट्रिय मुक्ति मोर्चालाई आन्दोलनबाट फिर्ता भएर संविधान निर्माण प्रक्रियाको पक्षमा वातावरण बनाउन निर्देशन दिएका छन् । तराईमा भइरहेको आन्दोलन मधेसका लागि नभई गणतन्त्र र धर्मनिरपेक्षतालाई नै धरापमा पार्ने खालको रहेको भन्दै प्रचण्डले आफ्ना मधेसी नेताहरुलाई आन्दोलनको मैदानबाट फिर्ता बोलाएका हुन् ।
    हिजो प्रचण्डले मोर्चाका संयोजक रामकुमार शर्मालगायत रामचन्द्र झा, विश्वनाथ साह लगायत तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई निवासमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । ‘यो संविधानमा मलाई पनि कतिपय चित्त नबुझेका विषय छन् । हाम्रो पार्टीले फरक मत पनि राखिसकेको छ । तर, अहिलेको शक्ति समीकरणबाट आउने संविधान यस्तै हो,’ प्रचण्डलाई उद्धृत गर्दै एक मधेसी नेताले भने, ‘यसबारे म संविधानसभामा पनि बोल्छु । त्यसबाट पनि वास्तविकता थाहा हुन्छ । त्यसपछि चित्त बुझेन भने आन्दोलन गर्ने वा के गर्ने, सल्लाहमा गरौँला ।’
    मधेसी नेताहरुले अहिलेको मधेस आन्दोलनमा सामेल भएन भने आफ्नो पार्टी मधेसबाट बढारिन सक्ने खतरा औँल्याएका थिए । जवाफमा प्रचण्डले भने, ‘यस्तो संकटको घडीमा पार्टीभन्दा देश जोगाउने कुरा ठूलो । देश रहे त पार्टी पुनःनिर्माण पनि गर्न सकिन्छ ।’
    प्रचण्डले देश रहने र नरहने कुरा गरेपछि मधेसी नेताहरु पनि गम्भीर बनेका थिए । प्रचण्डले थप अगाडि भने, ‘गणतन्त्र र धर्मनिरपेक्षता नै संकटमा पर्ने गरी अन्तर्राष्ट्रिय दबाब आइरहेको छ । गणतन्त्रलाई नै धरापमा पार्ने गरी आन्दोलनमा जानुहुँदैन । अहिले मधेसका कतिपय आन्दोलनकारी मधेसका लागि होइन, गणतन्त्र र धर्मनिरपेक्षतालाई डिफ्युज गर्नलाई भइरहेको छ ।’
    मधेसी नेताहरुले थारुको माग सम्बोधन भए पूर्वतिरको आन्दोलन त्यसै सकिने र आफूहरुले पनि आन्दोलन फिर्ता लिन सकिने बताएका थिए । जवाफमा प्रचण्डले भने, ‘अझै पनि समय छ । हामी सकेसम्म कसरी धेरैको चित्त बुझाउन सकिन्छ भनेर लागिरहेकै छौँ । थारुको माग सम्बोधन गर्ने विभिन्न विकल्पहरुमा छलफल भइरहेको छ । थारु आयोग बन्नु पनि अहिलेलाई ठूलो उपलब्धि हो ।’
    हिजै मोर्चाको बैठक बसेको थियो । बैठक पनि आन्दोलन फिर्ता लिने निष्कर्षमा पुगिसकेको ओएनएसको सम्पर्कमा आएका मोर्चाका एक पदाधिकारीले बताए । त्यसअघि मोर्चाका नेताहरुले थारु नेता समेत सहभागी गराएर भेलामार्फत् पार्टीबाटै राजीनामा गरेर आन्दोलनमा जानेसम्मको तयारी गरेका थिए । आज थारु सांसद, नेतालाई बोलाएर एमाओवादी नेतृत्वले छलफल गर्दैछ ।
    प्रचण्डनिकट नेता हरिबोल गजुरेललगायतले पार्टीभित्रका असन्तुष्ट मोर्चा र तिनका नेताहरुलाई सम्झाउने र संविधान निर्माणको पक्षमा सहमत गराउने भूमिका खेलिरहेका छन् । तर, एमाओवादीकै नेता बाबुराम भट्टराई भने मधेसी, जनजाति, दलित, महिला सबैले आन्दोलन गर्नुपर्ने र उनीहरुको माग सम्बोधन नगरी संविधान जारी गर्नुहुदैन भन्ने धारणा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएका छन् । हिजो मात्र उनले फेसबुकमा लेखेका छन्, ‘सेनाको घेराबाट संविधान जारी गर्नु उपयुक्त हुँदैन ।’
    तर, प्रचण्ड पक्षीय नेताहरु भने वर्षमान र बाबुरामका कारण पार्टीमा भाँडभैलो मच्चिन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । केही दिनअघि गजुरेलले आफ्नो फेसबुकमा लेखेका थिए, ‘संविधान निर्माणको यो विन्दुमा क्रान्तिकारी बन्न सजिलो छ । अडान लिन पनि सजिलो छ तर संविधान बनाउन गाह्रो छ । तर, गाह्रो काम गर्ने सच्चा क्रान्तिकारी हुन्छ कि अवसरवादी, गम्भीर बनौँ ।’
    ओएनएस
    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    1 comment:

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र