• Breaking News

    9.17.2015

    श्री नरेन्द्र मोदीलाई खुलापत्र : यी १० सत्य स्वीकार्नुस् !

    उपरोक्त १० सत्यहरू सयौं सत्यमध्येका केही मात्रै हुन् । क्षेत्रफल सानो, जनसंख्या कम र आर्थिक रूपमा पिछडिएको भन्दै हामी नेपालीले औंल्याएका यी सत्यलाई नजरअन्दाज गर्न तपाई स्वतन्त्र हुनुहुन्छ । तर, सत्य सँधै सत्य हुन्छ र त्यसको विकल्प वा प्रतिस्थापन हुँदैन भन्नेमा त तपाई पक्कै पनि विश्वस्त हुनुहुन्छ होला ।




    – खेम भण्डारी

    सम्माननीय भारतीय प्रधानमन्त्रीज्यू,

    नेपाल र भारतको सम्बन्ध युगौंको सम्बन्ध हो । भौगोलिक निकटतासँगै साँस्कृतिक र भाषिक समरूपताले पनि यी दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको छ । नेपाल पौराणिक भारतवर्षको एक अंग हो तर यो भारतीय सभ्यताभित्रको एक विशिष्ट र पृथक अवयव हो भन्ने सत्य स्वीकार्न हामी नेपालीलाई कुनै संकोच हुँदैन । हरेक आयामहरूमा विशिष्टकृत सम्बन्ध र परिपूकता भए पनि सदिऔंदेखि नेपाल र भारतबीच पारस्पारिक अविश्वास छ ।

    नेपाल र भारतबीचको अविश्वास र त्यसमा पनि नेपालभित्र भारतप्रतिको चर्को घृणाभावबारे तपाई पक्कै अवगत हुनुहुन्छ होला । विगतमा यो घृणा झन् बढाउँदै लैजाने खालका गतिविधि भारत र नेपाल दुबै पक्षका शासक तथा राजनीतिक तथा अन्य स्वार्थसमूहहरूबाट भएकै हो । तर, भारतको शासन सम्हालेपछि तपाईले भारतीय विदेश नीतिको परम्परागत रुढतालाई मिल्क्याएर नेपालको सार्वभौमिकता, स्वाधिनता र ऐतिहासिकतालाई तपाईका पूर्ववर्तीहरूभन्दा फरक र खुलस्त ढंगले स्वीकार्नु भएको थियो, त्यसबाट हामी नेपाली जनता भारतको व्यवहार र शैलीमा परिवर्तन हुनेमा आशावादी थियौं ।

    तर, हामी नेपाली जनताको प्रचण्ड जनमतले आफ्नो संविधान बनाउने क्रममा तपाई र तपाईको मुलुकका तर्फबाट जुन प्रतिक्रिया उत्पन्न भए र भइरहेका छन् । तिनले हामीलाई निराश बनाएका छन् । भारतले नेपालको आन्तरिक मामिलामा लाज पचाएर खुलेआम हस्तक्षेप गरिरहेको भन्ने निष्कर्षमा पुगेको छ जनमत । विशेष दूतका रूपमा आज (असोज १, २०७२) तपाईका विदेशसचिव नेपाल आउँदैछन् । दूत आउनु सामान्य कुटनीतिक घटना हो तर उनी गएपछि नेपालमा के हुन्छ भन्ने हेर्दै नेपाली जनमत अन्तिम निष्कर्षमा पुग्ने निश्चित छ ।

    हामी नेपाली जनताले आफ्नै बुतामा बनाइरहेको संविधानका विषयमा हामीभित्रै केही असन्तुष्टि छन् र तिनले आन्दोलनको रूप पनि लिएका छन् । तराई–मधेसमा देखिएको असन्तुष्टिलाई निरूपण गर्न हामी सक्षम पनि छौं तर नयाँ दिल्लीले देखाएको चर्को चासोले हाम्रो त्यो क्षमता प्रभावित हुने आशंका बढ्दैछ । सय प्रतिशत सहमति खोज्न तपाईहरूले गरिरहनु भएको अव्यावहारिक आग्रह, तपाईका विदेशमन्त्रीको वक्तब्यमा उल्लेखित पचाउन नसकिने आशय र तपाईका राजदूतका गैरकुटनीतिक अभिव्यक्तिले हाम्रो मन सशंकित भएको छ ।

    संविधानसभाबाट अत्यधिक बहुमतले हाम्रो संविधान बन्दा हामी नेपाली हर्षित छौं तर तपाईहरू दुःखी भएको अनुभूति हामीलाई भएको छ । हाम्रा राजनीति दलले मधेसी र थारु समुदायका असन्तुष्टि संवोधन हुने प्रतिवद्धता व्यक्त गरिसकेका छन् र जनमत पनि त्यही पक्षमा छ तर तपाईहरू मधेस–तराईको हौवा देखाएर समस्याको बेलुन फुक्दै हुनुहुन्छ । तपाईहरूको यस्तो रवैयाप्रति हामी खुसी छैनौं ।

    हाम्रो संसदलाई संवोधन गर्दा तपाईले संकेत गर्नुभएको सदाशयता अहिले भ्रम मात्रै छर्ने प्रपञ्च भएको ठान्न थालेका छौं हामी । नेपालको संविधान निर्माणका क्रममा तपाईहरूको व्यवहारले हामीलाई भारत ‘कुकुरकै पुच्छर’ रहेछ भन्ने लागिररहेको छ । र, इतिहासमा जस्तै भारतप्रतिको हाम्रो सन्देहजन्य घृणा कायम रहनुपर्छ भन्ने सोचलाई मलजल पाइएको छ ।

    envelop_bigतपाईहरू विश्वशक्तिका रूपमा स्थापित हुने बाटोमा हुनुहुन्छ । हामी भने भारतको अनुत्पादक छाँयाका शिकार बनिरहेका छौं । तपाई भारतको प्रधानमन्त्री भएपछि अब भारतको पुरानो प्रभुत्ववादी व्यवहारमा परिवर्तन हुन्छ भन्ने ठानेका थियौं तर यतिबेला हामी फेरि निराश हुँदैछौं । आफ्नो महत्वपूर्ण छिमेकीलाई दलेर तपाईहरू विश्वशक्ति भए पनि विश्वमञ्चमा तपाईको त्यो आशन शोभनीय हुने छैन । त्यसकारण तपाई र तपाईको मुलुकले धेरै सानो भए पनि नेपालको सार्वभौमिकता र स्वाधिनताको सम्मान गर्नुको विकल्प छैन । त्यसका लागि तपाईहरूको हृदय परिवर्तन आवश्यक छ र हृदय परिवर्तनका लागि तपाईहरूले केही सत्यहरूसँग गम्भीर साक्षात्कार गर्नु आवश्यक छ ।

    मैलै हैसियतभन्दा धेरै बोल्न खोजेँ भन्ने नठान्नुहोला । तपाईहरूको हृदय परिवर्तनका लागि यी सत्यहरू औल्याउँने दुस्साहस म गर्दैछु ।

    सत्य – १
    धेरैले ‘इण्डिया’ उपनामक वर्तमान भारतलाई नेपालको ‘ठूलो दाई’ भन्ने गर्छन् र अहिले तपाई पनि यही भ्रमलाई सत्य मान्नुहुन्छ होला तर जन्म र उमेरको हिसाबले नेपाल अहिलेको भारतभन्दा दुई शताब्दीभन्दा धेरै अन्तरालले पाको छ । भारतको आकार र बजन ठूलो भए पनि राष्ट्रका हिसाबले तपाईहरू हामीभन्दा धेरै पछि जन्मनु भएको हो । यो सत्य विश्व इतिहासमैं अंकित छ । त्यसैले नेपालको सार्वभौमिकता र स्वाधिनता हाम्रो आफ्नै पौरखको कमाई हो जसका लागि हामीले दरिद्रताको दुष्कर अवस्था पनि झेल्ने साहस गरेका हौं ।

    सत्य – २
    तपाईहरूले आफ्नो स्वार्थ र प्रभावका लागि नेपालमा खेल खेल्नु अस्वाभाविक होइन । खेल्नुस तर त्यो खेलाईमा प्रभुत्ववादको गन्ध आउनु हुँदैन । हामीलाई प्रभुत्ववादी रवैया कहिल्यै पाच्य भएन, नपत्याए तपाईहरूलाई शासित गर्ने व्रिटिशहरूलाई सोध्नुस् ।

    सत्य – ३
    नेपाली जनताको सदासयता हासिल नगरे पनि भारत विश्वशक्ति हुन सक्छ भन्ने भ्रम सायद तपाईले पाल्नु भएको छैन । पाल्नु पनि हुँदैन किनभने आकारमा सानो भए पनि नेपाल भारतभन्दा पुरानो राष्ट्र हो र यसले विश्व समुदायमा भारतको जत्तिकै अर्थ राख्छ ।

    सत्य – ४
    नेपाली जनताले आफ्नो सार्वभामसत्ताको स्वतन्त्र अभ्यास गर्दा दुखी नहुनुस् । हाम्रा त्यस्ता अभ्यासहरूमा दुःख मान्न थाल्नुभयो भने अबका दिनमा तपाईहरूले दुःखबाहेक अरु झेल्नुपर्ने छैन किनभने तपाईहरूको प्रभाव परिधिबाट नेपाल स्वतन्त्र हुँदैछ । यसमा विश्वास लाग्दैन भने अहिलेकै घटनाक्रमको सुक्ष्म विश्लेषण गर्नुहोस्, धेरै पछाडि जान पर्दैन । हिजोसम्म तपाईहरू सिंगो नेपाललाई प्रभावमा पार्न सक्ने हैसियत राख्नुहुन्थ्यो तर अहिले तपाईहरू कुनै एक समुदायका त्यो पनि पराजित नेता र दलहरूको आडमा आफ्नो प्रभाव फर्काउने कोशिस गर्दैहुनुहुन्छ ।

    सत्य – ५
    तपाईहरूले भनेजस्तो लोकतन्त्रमा सय प्रतिशत सहमति सम्भव छैन, न त सबै समुदायको चित्त बुझाउने काम हुन सक्छ । कदाचित तपाईहरू सय प्रतिशत सहमति र चित्तबुझाई समभव हुन्छ भन्ने ठान्नुहुन्छ भने कृपया पहिले आफ्नो आङको भैंसी हेर्नुहोस् । गोर्खाल्याण्डका गोर्खालीहरू भारतको संघीयताबाट सन्तुष्ट छन् ? तेलंगनामा जनताले आत्मदाह किन गर्नुपरयो ? उत्तराखण्डको स्थायी राजधानी किन दिन सक्नु भएन तपाईहरूले ? कश्मिरका मुसलमानलाई मूलप्रवाहमा किन ल्याउन सक्नुहुन्न तपाईहरू ?

    सत्य – ६
    तपाईका विदेश सचिव एस जयशंकर फर्केर गएपछि तराईमा हिंसा बढ्यो भने हामी नेपालीले भारतले ‘मुक्तिबाहिनी’ आएको ठान्नै पर्छ । उहाँ फर्केर गएपछि असन्तुष्ट मधेसी दल वार्तामा आए र दुईतिहाई बहुमतको सम्मान गरे भने तपाईहरूप्रतिको हाम्रो आशंका गलत रहेछ भन्ने ठान्ने छौं ।

    सत्य – ७
    हो, नेपाललाई अस्थिर राख्न भारतले धेरै पसिना बगाउनु पर्दैन । तपाईहरूले नेपालभित्र जे पनि गर्न सक्नुहुन्छ भने हामीलाई थाहा छ । तर, हामी नेपाली पनि विश्वसमुदायका लागि समाचारका विषय हौं भन्ने तपाईहरूले नविर्संदा महाशक्ति बन्ने तपाईहरूको यात्रा झन् गतिशिल हुनेछ । हाम्रो भूपरिवेष्ठनको फाइदा उठाएर विगतमा झैं तपाईहरूले हामीलाई उत्पीडन गर्न खोज्ने हो भूपरिवेष्ठित राष्ट्रको अधिकारका कुरा विश्व समुदायमाझ उठाउन हामी बाध्य हुने छौं ।

    सत्य – ८
    अहिले दक्षिण एसियामा तपाईहरूप्रति चर्को घृणा व्याप्त छ । हामी भारत एक्लिएको र यहाँको भूराजनीतिको सन्तुलनमा तपाईहरू कमजोर भएको हेर्न चाहन्नौं । तर, हाम्रो आन्तरिक मामिलामा लाजै पचाएर हस्तक्षेप गर्ने यो परम्परा कायम रह्यो भने हामी तपाईका मित्र रहिरहन सक्दैनौं । नेपाली जनताको मित्रता नपाए पनि चल्छ भन्ने अहंकार पाल्ने नपाल्ने तपाईहरूको इच्छा हो ।

    सत्य – ९
    जहाँसम्म हाम्रो अखण्डतामाथिको खतराको सन्दर्भ छ, जसरी तपाईहरूले कश्मिरमा खुलस्तै देखिएको र पूर्व–उत्तर राज्यहरूमा सुषुप्तावस्थामा रहेको पृथकतावाद नियन्त्रणमा राख्न सक्नुभएको छ त्यसरी नै हामी पनि हाम्रो अखण्डता अक्षुण्ण राख्न सक्ने सैन्य क्षमतायुक्त छौं । हामी भारतको अखण्डताका समर्थक हौं र आशा छ भारत पनि हाम्रो अखण्डताका विरोधीहरूलाई मित्र मान्ने छैन ।

    सत्य – १०
    विश्वको मात्रै होइन, एसियाको शक्ति समिकरणको कुनै सवालमा भारतलाई समर्थन गर्नु पर्ने अवस्था आए हामी कहिल्यै मौन बसेनौं । यो हाम्रो कमजोरी थिएन र हामी कहिल्यै तपाईहरूको सैन्यशक्तिबाट डराएनौ पनि । नेपालको अस्तित्व युद्धहरूबाटै निश्रित भएको हो । तपाईहरूको दादागिरीले पराकाष्ठा नाघ्यो  र हामीलाई तपाईहरूले आफ्नो मित्र नै रहन दिनुभएन भने शक्तिसमिकरणको अन्तर्राष्ट्रिय खेलमा हामीले रोज्ने मित्र तपाईहरूको शत्रु पनि हुन सक्छ  ।

    उपरोक्त १० सत्यहरू सयौं सत्यमध्येका केही मात्रै हुन् । क्षेत्रफल सानो, जनसंख्या कम र आर्थिक रूपमा पिछडिएको भन्दै हामी नेपालीले औंल्याएका यी सत्यलाई नजरअन्दाज गर्न तपाई स्वतन्त्र हुनुहुन्छ । तर, सत्य सँधै सत्य हुन्छ र त्यसको विकल्प वा प्रतिस्थापन हुँदैन भन्नेमा त तपाई पक्कै पनि विश्वस्त हुनुहुन्छ होला ।

                                                                                                                                           भवदीय
                                                                                                                                           धन्यवाद
                                                                                                                                           तपाईको प्रशंसक




    puleso



    5 comments:

    1. Ekadamai rastriyata bad ko suchhak ho yo lek aam sabai nepali ko bichar ko partinidhi lek ho . India le aaba bujna aaber garyo vane india lai nai gatak hune6 yek patak sabai rastra vakti nepali le paddna ra share garnai parne 6 yo lek . Badhai6 jay nepal.

      ReplyDelete
    2. yahaa ullekhit das watai budaa satpratisat satya chhan. yo sandesh Narendra Modisamma pugos

      ReplyDelete
    3. चीन र तत्कालिन सोभियत संघ बीच राम्रो संम्बन्ध भएको र त्यो बेला कम्यूनिज्मको हावाले बग्लै दुनियांको निमाॅण हुने कल्पनामा डुबेका कम्यूनिष्टहरू एक अकाॅलाई खुबै सहयोग गनेॅ गथेॅ । रूसले चीनलाई चाहेजति सहयोग गरे । पछि चिनीयाहरू रूसीहरूलाई चीनबाट खेद्ने प्रपन्च गनॅ थाले र हँुदा हँुदै दुई बीच लडाई नै शुरू भयो । रूसले भन्यो अब हाम्रो सम्बन्ध राम्रो रहेन हामी आफ्ननो सीमाना बन्द गरि दिन्छौ । चिनीयाहरूले जबाफ फका॔ए _ तिमीहरूले सीमा बन्द गनै॔ पदै॔ॅन , हामीले सिमामा दिशा गनॅ थाल्यौं भने अकोॅ ग्रेट वाल खडा भईहाल्छ त्यसैले बढी फुईं नदेखा है । अन्तमा रूसले लेजर नै प्रयोग गनॅ बाध्य भएको थियो । .....हा हा हा ....

      ReplyDelete
    4. Khem G, Tapai ko das satya ta satya nai hola... tar yo das satya Bidesi lai sunaunu bhanda pahile hamra desh ka nalayak, desdrohi, swarthi, laaj pacheka aguwa netaharu lai abgat garayeko vaye upyukta hune thiyo hola ni....aru lai dosh launu vanda ta pahile afno kami kamjori khotalnu paryo ni .....ki kaso?

      ReplyDelete
    5. Well said in the most appropriate time.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र